नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले गत असार १७ गते फेसबुकमा यस्तो स्टाटस (स्क्रिनसट) पोस्ट गरेका थिए:
यही स्टाटस थप सूचनासहित पत्रकार तीर्थ कोइरालासहित थुप्रै राजनीतिक कार्यकर्ताहरूले पनि फेसबुकमा सेयर गरेका छन् । न्यौपानेकै स्टाटसका आधारमा नेपालखबरलगायत वेबसाइटले समाचारसमेत बनाएका छन् ।
सन्दर्भ के थियो ?
न्यौपानेले उक्त पोस्ट लेखेको दिन नुवाकोटको ककनीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत छोरा प्रकाश दाहालको शालिक अनावरण गरेका थिए । २०७४ मंसिर ३ गते हृदयाघातका कारण निधन भएका दाहालको जन्म जयन्तीको सन्दर्भमा सालिक अनावरण गरिएको थियो । २०६९ जेठमा सगरमाथा आरोहण गरेका दाहालको सालिक नेपाल पर्वतारोहण संघले बनाएको थियो । उनको सालिक बनाइएको विषयमा सामाजिक सञ्जालमा आलोचना भएको थियो । आफ्ना छोराको सालिक अनावरण गर्ने प्रचण्डको कदमलाई माओले आफ्ना छोरा मर्दा देखाएको व्यवहारसँग तुलना गर्ने उद्देश्यले माओवादीकाे विद्यार्थी संगठनका अध्यक्ष रहिसकेका न्यौपानेले उक्त स्टाटस पाेस्ट गरेको देखिन्छ।
न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा गरेका दुई दाबीमाथि हामीले तथ्य जाँच गरेका छौं ।
माओका छाेरा काेरिया लड्न गएकाे सम्बन्धमा
चिनियाँ नेता माओका छोरा माओ आनइङ चिनियाँ स्वयंसेवक रहेको र उनी कोरियाली जनतालाई सघाउन गएको भन्ने न्यौपानेको दाबी अपूर्ण वा भ्रामक छ ।
सन् १९५०-१९५३ को कोरियाली युद्ध दुई राष्ट्रहरू उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको थियो । युद्धको एउटा पक्ष उत्तर कोरियालाई तत्कालीन सोभियत संघ र चीनले सहयोग गरेका थिए भने अर्को पक्ष दक्षिण कोरियालाई राष्ट्रसंघीय सुरक्षा परिषद् निर्णय ८४ अन्तर्गत गठित अमेरिकी नेतृत्वको राष्ट्रसङ्घीय कमान्डले सघाएको थियो। (जनवादी गणतन्त्र चीन त्यो बेला राष्ट्र संघको सुरक्षा परिषद् सदस्य बनिसकेको थिएन। परिषद्को एउटा सदस्य सोभियत संघले निर्णय ८४ गर्ने राष्ट्रसंघीय बैठक बहिष्कार गरेको थियो।)
उत्तर कोरियालाई सघाउन चीनले ‘पिपुल्स भोलन्टियर आर्मी’ पठाएको थियो जसमा माओका छोरा पनि सामेल भएका थिए । न्यौपानेले आफ्नो दाबीमा ‘पिपुल्स’ र ‘आर्मी’ शब्दहरू हटाएर भोलन्टियर वा स्वयंसेवक शब्द मात्रै प्रयोग गरेका छन् जुन भ्रामक छ। साथै, माओ ‘कोरियाली जनतालाई सघाउन गएको’ भन्ने न्यौपानेको दाबी अर्धसत्य छ किनकि कोरियाली भन्नाले त्यतिबेला र अहिले पनि दुवै कोरियाका जनतालाई बुझाउँछ। चिनियाँ स्वयंसेवक सेना उत्तर कोरियालाई सघाउन गएको थियो, न कि सम्पूर्ण कोरियाली जनतालाई। माओ पनि दुवै कोरियाका जनतालाई सघाउन गएका थिएनन् ।
यो सत्यापन अङ्ग्रेजीमा पढ्नुस्
साे युद्धमा मारिएका चिनियाँकाे संख्याकाे विषयमा
न्यौपानेले कोरिया युद्धमा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए भनी गरेको दाबी पुष्टि भएको तथ्यांक हैन। थुप्रै विश्वासिला स्रोतले कोरिया युद्धमा चिनियाँ सैनिककाे मृत्युको १ लाख १४ हजारदेखि १ लाख ५२ हजारसम्म हुन सक्ने जनाएका छन्। ‘द चाइनिज फोर्सेस एन्ड द क्याजुअल्टिज इन द काेरियन वार : फ्याक्ट्स एन्ड स्टाटिस्टिक्स’ शीर्षकमा सन् २०१७ मे २५ मा प्रकाशित प्राज्ञिक लेखका अनुसार काेरियाली युद्धमा मारिने चिनियाँ सेनाकाे संख्या १ लाख १४ हजारदेखि १ लाख ५२ हजारसम्म रहेकाे थियाे । बेइजिङस्थित नेसनल डिफेन्स युनिभर्सिटीका प्राध्यापक सु यानले उक्त लेख चिनियाँ अभिलेखहरुकाे अध्ययनकाे आधारमा तयार गरिएकाे उल्लेख छ । उक्त लेखका अनुसार सन् १९८० काे दशकसम्म पनि काेरियाली युद्धकाे मानवीय क्षतिकाे यकिन संख्या चीनले प्रकाशित गरेकाे थिएन ।
यसर्थ न्याैपानेका माथिका दुई दाबी भ्रामक छन् ।
स्राेतहरू:
द चाइनिज फाेर्सेज एण्ड देअर क्याजुअल्टिज इन् द काेरियन वार : फ्याक्टस् एण्ड स्टाटिस्टिक्स
द टाइम चाइना फट टु अ स्ट्याण्डस्टिल
माओकी बुहारीले माओको कुरामा चित्त बुझाइन् किनकि उनी पनि एक योद्दा थिइन्