नेपालको संसद्ले नागरिकता संशोधन विधेयक पारित गरेको पीटीआईको समाचार गलत

भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले गत असार ३० गते नेपालको संसद्ले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पारित गरेको भनी समाचार प्रकाशित गर्‍यो । सो विधेयक राजनीतिक दलहरूले सहमति जुटाउन नसकेकाले दुई वर्षदेखि सो विधेयक उक्त विधेयक संसद्‍मा विचाराधीन रहेको जनाइएको थियो। ‘नेपालको संसद्‍बाट पहिलो नागरिकता संशोधन विधेयक पारित’ शीर्षक समाचारमा असार ३० गते बुधबार उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएको उल्लेख थियो । द हिन्दु, द इन्डियन एक्सप्रेसअमर उजालालगायतका भारतीय समाचारपत्रहरूले आफ्ना वेबसाइटहरूमा उक्त समाचार प्रकाशित गरेका थिए। नेपालका अनलाइन बडिमालिका खबरमाई रिपब्लिका (उसले सो रिपोर्ट साइटबाट हटाएको छ) ले पनि पीटीआईको समाचार प्रकाशित गरेका थिए।

नेपाल चेकले पीटीआईका दुई दाबीको तथ्य जाँच गरेको छ ।

पहिलो, पीटीआईको समाचारमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याइएको पुरानो विधेयकलाई अहिले प्रस्तुत विधेयकका रूपमा व्याख्या गरेको छ । यो भ्रामक छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याइएको विधेयक झन्डै चार वर्षदेखि संसद्‍मा थियो । तर संसद्‍मा गृहमन्त्री बालकृष्ण खाँणले सोही नामको नयाँ विधेयक पेस गर्नुभन्दा केही दिन अघि संसद्‍बाट फिर्ता लिइएको थियो।

दोस्रो, पीटीआईको समाचारमा प्रतिनिधिसभामा नागरिकता संशोधन विधेयकलाई विचार गरियोस् भनी राखिएको प्रस्ताव पारित भएको घटनालाई नै विधेयक पारित भएको भनी बुझेको देखिन्छ। नेपालको संसद्‍मा विधेयक पारित हुने लामो प्रक्रियालाई नबुझेका कारणले पीटीआई संवाददाताले उक्त गल्ती गरेको देखिन्छ। कुनै विधेयक संसद्को चालु सदनमा पेस भएपछि त्यसलाई सदनको पूर्ण बैठक (यस अवस्थामा प्रतिनिधिसभा) को बहुमतले स्वीकृत वा अस्वीकृत गर्नुअघि विभिन्न चरणबाट गुज्रिन्छ।

पुरानो र नयाँ नागरिकता संशोधन विधेयकहरू संसद्‍मा पेस भएको समयरेखा हेरौं ।

२०६५ साल साउन २२ गते संसद्‍मा दर्ता भएको नागरिकता संशोधन विधेयकलाई गत असार २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसद्‍बाट फिर्ता लिने निर्णय गर्यो । सोही बैठकमा पुरानो अध्यादेशमा भएको एउटा विवादास्पद प्रावधान हटाएर नयाँ अध्यादेश दर्ता गर्ने निर्णय गरेको द काठमाण्डु पोस्टले जनाएको छ।

गत असार २४ गते गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार नागरिकता संशोधन विधेयक फिर्ता लिन संसद्‍मा प्रस्ताव पेस गरे। सोही दिन  प्रतिनिधिसभाले उक्त प्रस्ताव बहुमतले पारित गरेको थियो । सोही बैठकमा गृहमन्त्रीले सो दिनपछि बस्ने मन्त्रिपरिषद् बैठकले संसद्‍मा नयाँ नागरिकता संशोधन विधेयक ल्याउने बताएका थिए ।

असार २९ गते पुरानो नागरिकता संशोधन विधेयक फिर्ता लिने र नयाँ नागरिकता संशोधन विधेयक ल्याउने सरकारको निर्णयको विरुद्ध केही सांसदहरूले प्रतिनिधिसभामा प्रस्तुत गरेको विरोधको सूचनालाई सदनको बहुमतले अस्वीकृत गरेको थियो ।

असार २९ गते सो विरोध सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाणले प्रतिनिधिसभाको बैठकमा नागरिकता संशोधन विधेयकको नयाँ संस्करण प्रस्तुत गरेको समाचार द राइजिङ नेपालले प्रकाशित गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले सदनमा पेस गरेको विधेयकलाई विचार गरियोस् भनी राखेको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकमा उपस्थित सदस्यको बहुमतले पारित गरेको हिमालयन टाइम्सको वेबसाइटमा प्रकाशित समाचारमा जनाइएको छ ।

माथिका प्रमाण र विवरणका आधारमा नेपालको संसद्ले नागरिकता संशोधन विधेयक २०७९ पारित गरेको भन्ने पीटीआईको गलत भएको फेला परेको छ। उक्त समाचार एजेन्सीले उल्लेख गरेको घटना प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेको नभई त्यसमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव पारित गरेको पाइएको छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
नेपालको संसद्‍ले नागरिकता संशोधन विधेयक पारित गरेको छनेपाली र भारतीय समाचार मिडियागलत
नेपालको संसद्ले नागरिकता संशोधन विधेयक पारित गरेको पीटीआईको गलत समाचार सत्यापन गरेपछि नेपाल चेकको निष्कर्ष ।

अध्यावधिक : प्रतिनिधिसभाले नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ साउन ६ २०७९ मा पारित गर्‍यो