अहँ, याे भिडियो सिन्धुलीकाे पहिराेकाे हाेइन

छोटो भिडियो सेयर गर्न मिल्ने सामाजिक सञ्जाल टिकटकमा विदेशका वा पुराना भिडियोलाई नेपालका हालै गएको बाढीपहिरो भन्दै भ्रम फैलाइएको छ । यसै सिलसिलामा टिकटकमा @bibhushanpoudel नामक प्रयोगकर्ताले गत असार २२ गते “सिन्धुली पहिरो” भन्दै ८ सेकेन्डको भिडियो क्लिप सेयर गरेका थिए । 

उक्त भिडियो क्लिपमा  सडकभन्दा माथि पहिरो गई रूख बुट्यानसहित सडक बगाएको देखिन्छ । सडकमा एउटा ट्रक रोकिएको छ भने केही मानिसहरू पहिरोको दृश्य खिचिरहेको देखिन्छ । उक्त भिडियोमा “ओ गाइज लाइभ हेर्नु है ल यहाँ … गयो ल” भनेको सुनिन्छ । उक्त आवाज अर्का टिकटक प्रयोगकर्ता @susansyangtan338 को भएको पाइएको छ । २४ हजारभन्दा बढी फलोअर्स भएका @bibhushanpoudel ले टिकटकमा मनोरञ्जनात्मक सामग्री सेयर गरेका छन् । 

सिन्धुलीको पहिरो भन्दै उक्त भिडियो क्लिपले भ्रम फैलाएकाले नेपाल चेकले तथ्य जाँच गरेको छ ।

हामीले उक्त भिडियोलाई savett.cc नामक टिकटक डाउनलोडर एप प्रयोग गरेर डाउनलोड गर्यौं । त्यसपछि उक्त क्लिपलाई इनभिड नामक अर्को इन्टरनेट टुल प्रयोग गरी अध्ययन गर्यौं । इनभिडले कुनै पनि भिडियोलाई विभिन्न किफ्रेम (अर्थात् फोटो) मा परिणत गरिदिन्छ । उक्त क्लिपबाट तानिएका ती फोटोलाई हामीले गुगलमा रिभर्स इमेज सर्च गर्यौं । गुगलमा ती तस्बिर अपलोड गरेर सर्च गरेमा उसले पहिले प्रकाशित भइसकेका त्यही वा उस्तै तस्बिर खोजेर ल्याइदिन्छ ।

रिभर्स इमेज सर्च गर्दा हामीले उक्त भिडियो इस्टमोजो नामक उत्तरपूर्व भारतसम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइनले आफ्नो युट्युब अकाउन्टमा असार ७, २०७९ मा अपलोड गरिएको पायौँ । आसामी भाषामा प्रकाशित उक्त भिडियोकाे क्याप्सनमा त्याे पहिराे आसामकाे सिल्चरस्थित हाइवेमा भएकाे जनाइएकाे छ । त्यस्तै JK24X7 News नामक मिडियाकाे फेसबुक पेजमा पनि साे भिडियो सिलचर मिजोरम नेसनल हाइवेकाे भएकाे भनी उक्त भिडियो असार ९ गते पाेस्ट गरिएको छ।

यसर्थ एक महिनाअघि भारतकाे आसामस्थित सडकमा भएकाे पहिराेकाे भिडियोलाई नेपालकाे सिन्धुली जिल्लामा गएकाे पहिराे भनी भ्रम फैलाइएकाे छ ।

दाबी : नेपालकाे सिन्धुली जिल्लामा गएकाे पहिराेकाे भिडियाे ।

दाबी गर्ने : टिकटक प्रयोगकर्ता

निष्कर्ष : गलत