नेकपा एमालेका उप-महासचिव विष्णु रिमालले साउन १५ गते शेरबहादुर देउवाको नेतृत्वको वर्तमान गठबन्धन सरकारका पालामा नेपाली मुद्राको अवमूल्यन गरिएको दाबी गर्दै आफ्नो ट्विटर खातामा एउटा आकर्षक ग्राफिक पोस्ट गरे (स्क्रिन सट, लिङ्क) ।
“कसले गर्यो नेपाली पैसाको अवमूल्यन ?” ग्राफिकमा सोधिएको छ। त्यसमा ओली सरकारमा छँदा एक अमेरिकी डलरकाे विनिमय दर ११८ रुपैयाँ रहेकाे तर गठबन्धन सरकारअन्तर्गत त्याे १२७ मा पुगेको ग्राफ पनि छ ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकार रहेका नेता रिमालले एक लाख ३० हजार ट्विटर फलोअर रहेको खातामा उक्त ग्राफसँगै यस्ताे लेखेका छन्: “आर्थिक रूपमा मुलुकलाई खोक्रो पार्न केही गर्नै पर्दैन, भएको बिगार्दै गए पुग्छ। गठबन्धन अहिले त्यही गरिरहेछ । तथ्य हेरौं ।”
वैदेशिक मुद्राकाे सञ्चिति, महँगी, व्यापार घाटालगायतका आर्थिक विषयमा रिमालले ग्राफिकका सामग्री आफ्ना सामाजिक सञ्जाल खातामा शृङ्खलाबद्ध प्रकाशन गरेका थिए। ती सामग्री उनले ६० हजार फलोअर रहेको आफ्नो फेसबुक पेजमा पनि राखेका थिए । उनका पोस्ट सञ्जाल प्रयोगकर्ताहरूले व्यापक सेयर गरेका छन् ।
मङ्सिर ४ गते हुने संसदीय चुनावकाे पूर्वसन्ध्यामा रिमालले आफ्नाे दलकाे सरकार र अहिलेको सरकारकाे पालामा भएका आर्थिक तथ्याङ्क र सूचकहरूबीच तुलना गरेका छन् जसमा उनले आफ्नो पालामा अवस्था राम्रो रहेको र अहिले बिग्रेको देखाउन खोजेका छन् ।
अमेरिकी डलरसँग नेपाली रुपैयाँको मूल्य घट्नुमा देउवा नेतृत्वकाे गठबन्धन सरकार जिम्मेवार रहेको भनी नेता रिमालले गरेको दाबीको नेपाल चेकले सत्यापन गरेको छ ।
सबैभन्दा पहिला दुई सरकारको कार्यकाल र डलरको मूल्यसम्बन्धी समयरेखा हेरौं ।

समयरेखा
२०७४ साल फागुन ३ गते केपी ओली दोस्रोपटक प्रधानमन्त्री भए ।
नेपाल राष्ट्र बैंकका अनुसार उक्त दिन एक अमेरिकी डलरको मूल्य रु. १०२.२५ (खरिद) र १०२.८५ (बिक्री) थियाे ।
२०७८ असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने आदेश जारी गर्यो ।
त्यसकाे भाेलिपल्ट असार २९ गते देउवा पाँचाैँपटक प्रधानमन्त्री नियुक्त भए । त्यस दिन एक अमेरिकी डलरको मूल्य ११९.०२ (खरिद) र ११९.६२ (बिक्री) रहेको राष्ट्र बैंकको रेकर्डमा छ ।
रिमालले ट्विट गरेको दिन साउन १५ गते एक अमेरिकी डलरको मूल्य रु. १२७.३२ (खरिद) र १२७.९२ (बिक्री) थियो ।
हाम्राे सत्यापनमा रिमालले विनिमय दरका सम्बन्धमा गरेको दाबी अर्धसत्य, अधुरो र भ्रामक रहेकाे पाइयो । उनले सन्दर्भ उल्लेख नगरी आफूलाई अनुकूल हुने संख्या उद्धृत गरेका छन् । उनले दुई अमिल्दा कुराबीच तुलना गरेका छन् । अझ उनले ओली सरकारकाे कार्यकाल सुरु हुँदाको अमेरिकी डलरसँगको नेपाली रुपैयाँको विनिमय दरसम्बन्धी महत्त्वपूर्ण जानकारी लुकाएका छन् ।
ओलीले प्रधानमन्त्रीकाे पदभार ग्रहण गरेको दिनदेखि उनी पदमुक्त भएकाे समयसम्ममा अमेरिकी डलरसँग नेपाली मुद्रा करिब १७ प्रतिशतले अवमूल्यन भएको थियो। त्याे करिब १०२ रुपैयाँबाट झन्डै ११९ रुपैयाँ पुगेकाे थियाे । देउवा सरकार गठन भएदेखि रिमालले दाबी गरेको साउन १५ सम्ममा नेपाली रुपैयाँ डलरसँग झन्डै ७ प्रतिशतले अवमूल्यन भएको थियो ।
त्यसैले वर्तमान गठबन्धन सरकारको पालामा मात्रै नभई तत्कालीन ओली सरकारको पालामा पनि अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन भएको थियाे । वास्तवमा ओलीका पालामा नेपाली रुपैयाँ झन् धेरै प्रतिशतले अवमूल्यन भएको थियो। यो तथ्य रिमालले आफ्नाे पाेस्टमा उल्लेख गरेका छैनन् ।
रिमालले अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन हुनु “आर्थिक रूपमा मुलुकलाई खोक्रो पारिनु” भन्न खोजेका छन् । त्योसँगै उनले नेपाल सरकारले अमेरिकी डलरसँगको नेपाली मुद्राकाे विनिमय दर घटबढ गर्न सक्ने सङ्केत पनि गरेका छन् जो गलत हाे ।

त्यो किन गलत हो भन्ने बुझ्न विदेशी मुद्रासँग नेपाली मुद्राको विनिमय दर के कुराले निर्धारण गर्छ भन्ने थाहा पाउनुपर्छ ।
राष्ट्र बैंकका अनुसार नेपालले भारतीय रुपैयाँसँग स्थिर विनिमय दर प्रणाली (नेपाली मुद्राको अधिमूल्यन वा अवमूल्यनमार्फत आवधिक विनिमय दर सुधारसहित) अपनाएको छ । एक सय भारु बराबर एक सय ६० नेरुकाे विनिमय दर सन् १९६० मा निर्धारण गरिएकाे थियाे । ‘इम्प्याक्ट अफ एकस्चेन्ज रेट अन ट्रेड डेफिसिट एन्ड फाेरेन एक्स्चेन्ज रिजर्भ इन नेपाल : एन इम्पेरिकल अनालिसिस’ शीर्षकमा प्रकाशित राष्ट्र बैंकको एउटा अध्ययनमा कसरी भारुसँग नेरुकाे विनिमय दर निर्धारण गरिएको थियो भन्ने उल्लेख छ । राष्ट्र बैंकको वेबसाइटमा सन् २०१८ मा प्रकाशित उक्त रिपोर्टका अनुसार सन् १९८० को दशककाे मध्यदेखि अवलम्बन गरिएको आर्थिक उदारीकरण नीति अनुसार नेपालमा सन् १९९३ मा चालु खाता परिवर्तनशीलता लागू गरियो । यसपछि पनि भारुसँग नेरुकाे विनिमय दर सन् १९६० मा तय भएकै कायम गरियाे ।
सन् १९९३ यता अमेरिकी डलरलगायत परिवर्तनीय विदेशी मुद्रासँग नेरुको विनिमय दर प्रणाली ती मुद्राहरूको भारतीय मुद्रासँगकाे विनिमय दरमा आधारित हुँदै आएको छ । खुला सिमाना र आर्थिक काराेबारको आकारलाई ध्यानमा राख्दै भारुसँग निर्धारित विनिमय दर प्रणाली अपनाउँदा स्थायित्व कायम हुनुका साथै नेपाललाई फाइदा भएकाे राष्ट्र बैंकका उपनिर्देशक दीपक अधिकारीले गरेको उक्त शोधमा जनाइएको छ । यस्ताे अवस्थामा अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको मूल्य घटबढ हुँदा नेपाली मुद्राको मूल्य पनि घट्ने वा बढ्ने सोही शोधमा उल्लेख छ । अर्थात्, अमिरिकी डलरसँग नेपाली रुपैयाँको सोझो सम्बन्ध छैन, त्यो सम्बन्ध भारतीय रुपैयाँमार्फत छ । त्यसैले अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन अमेरिकी डलरसँग भारतीय मुद्राको अवमूल्यनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
किन कमजोर भयाे भारतीय मुद्रा ?
केही वर्षयता अन्तर्राष्ट्रिय बजारमा भारतीय मुद्रा कमजाेर हुँदै आएको छ । अर्थात् अमेरिकी डलरलगायतका मुद्राको तुलनामा भारतीय मुद्राको मूल्य घटेको छ ।
अमेरिकाकाे केन्द्रीय बैंक फेडरल रिजर्भले पछिल्लाे समयमा गरेका केही नीतिगत निर्णयले पनि डलर बलियो बनाएको छ जसले गर्दा डलरसँग भारतीय मुद्रा कमजाेर भएको छ ।
जुन महिनाको दोस्रो साता फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न बैंककाे ब्याजदर ०.७५ प्रतिशतले बढायो। रिजर्भले जुलाईको अन्त्यमा फेरि ब्याजदर बढायाे । उसै त विश्वका अधिकांश ठूला लगानीकर्ताले भारतलगायत विकासोन्मुख देशबाट पैसा झिकी भरपर्दो मानिने र बढी प्रतिफल दिने अमेरिकी बजारमा लगानी गरिरहेका थिए । अमेरिकामा ब्याजदर बढेपछि भारतलगायतका देशबाट पुँजी बाहिर लैजाने काम उनीहरूले तीव्र पारे ।
छ महिनाअघि रूस-युक्रेन युद्ध सुरु भएयता कच्चा तेलको मूल्य बढ्दा अवस्था झन् विकराल बन्यो जसले भारु थप कमजोर पार्यो ।
विश्वका प्रमुख मुद्रासँग अमेरिकी मुद्राको स्थिति देखाउने ‘डलर इन्डेक्स’ यस वर्ष ११% ले बढेर दुई दशककै उच्च विन्दुमा पुग्यो । यसले गर्दा युरोलगायत विश्वका धेरैजसो मुद्राको निरन्तर अवमूल्यन भएको छ । यहाँसम्म कि गत २० वर्षमा पहिलोपटक युराेको मूल्य घटेर डलरसँग बराबरी भयो। यसमा भारतीय मुद्रा अछुतो रहेन । फलस्वरूप जुलाई १४ को दिन भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा ऐतिहासिक न्यून विन्दुमा (एक डलरबराबर ८०) पुग्यो ।
यो सत्यापन अङ्ग्रेजीमा पढ्नुस्
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गत साउन २ गते भारतीय संसदमा सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ दिँदै कच्चा तेलको मूल्यमा भएको वृद्धि, आर्थिक अवस्था र विदेशी लगानीकर्ताले पुँजी विदेशमा लगानीका लागि लगेकाे कारणले भारतीय रुपैयाँ अवमूल्यन भएकाे बताइन् । सन् २०२२ का सात महिनामा विदेशी लगानीकर्ताले भारतबाट ३० अर्ब डलरभन्दा बढीको सेयर बेचिसकेकाे बिजनेस स्टान्डर्डकाे एक रिपाेर्टमा जनाइएकाे छ ।
निष्कर्ष
यसर्थ नेपाली मुद्राको अवमूल्यनमा सत्तारूढ गठबन्धन जिम्मेवार रहेको रिमालको दाबी पूर्ण रूपमा सही होइन । साथै उनले आफ्नो दाबीमा अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दरलाई केले असर गर्छ भन्ने सन्दर्भ खुलाएका छैनन् जसका कारण उनको दाबी अर्धसत्य र भ्रामक भएको छ ।
नेपाली मुद्राकाे भारतीय मुद्रासँग स्थिर विनिमय दर रहँदासम्म अमेरिकी डलरसँग नेपाली मुद्राको मूल्य निर्धारण गर्नमा नेपालका सरकारहरूको भूमिका हुँदैन ।
पुन: एकपटक ओली र देउवा प्रधानमन्त्री हुँदाका विनिमय दर हेरौँ ।
ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकाे दिन एक अमेरिकी डलरको मूल्य रु. १०२.२५ (खरिद) र १०२.८५ (बिक्री) थियाे ।
ओलीले सरकार छाड्दा एक अमेरिकी डलरको मूल्य ११९.९ रुपैयाँ (खरिद) र ११९.७३ रुपैयाँ (बिक्री) थियाे ।
रिमालले दाबी गरेको साउन १५ गते एक अमेरिकी डलरको मूल्य १२७.३२ रुपैयाँ (खरिद) र १२७.९२ रुपैयाँ (बिक्री) पुगेकाे थियाे ।
रिमालले ओलीले पदभार ग्रहण गरेको दिनको विनिमयदर लुकाएर विनिमय दरका सम्बन्धमा अर्धसत्य दाबी गरेका छन् । त्यसैले उनकाे दाबी भ्रामक छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
वर्तमान सरकारले अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन गर्यो । | विपक्षी दलका एकजना उच्च नेता | भ्रामक |
यस विषयमा थप अध्ययनका लागि सामग्री: