भारतकाे हिमाचलमा गएकाे पहिराेलाई नेपालकाे भन्दै टिकटकमा सेयर गरियाे

नेपालमा मनसुनका कारण परेकाे भारी वर्षाले देशका विभिन्न ठाउँमा बाढी र पहिरो गएकाे छ । भारी वर्षाले ल्याएकाे बाढी र पहिराेका फाेटाे र भिडियाे सामाजिक सञ्जालमा व्यापक सेयर गरिएको छ। 

यसै सन्दर्भमा केही दिनअघिदेखि सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो भाइरल भएको छ। भिडियोमा पहिराे गई सडकको एक भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिन्छ (स्क्रिनसट)। 

गत जेठ २६ गते टिकटकमा @majhikale नामक प्रयाेगकर्ताले उक्त भिडियो पाेस्ट गरेका थिए । उनले भिडियाेमा साे पहिराे नेपालको नारायणगढ-काठमाडाैँ सडक खण्डको भएको दाबी गरेका छन् । उक्त भिडियोमा ३ लाख ४० हजारभन्दा बढीले लाइक गरेका छन् भने १५ हजारभन्दा बढीले सेयर गरेका छन् । ३ हजारभन्दा बढी प्रतिक्रिया जनाउनेमध्ये केहीले त्याे नारायणगढ-काठमाडाैँ सडककाे पहिराे नभएकाे बताएका छन् । हाल ती प्रयाेगकर्ताले उक्त भिडियाे हटाएका छन् ।

२७ सेकेन्डकाे भिडियाेमा एक पुरुष चिच्याउँछन्, “बेस्सरी समात्, ठूलाे आयाे, राम राम राम राम !” एकछिनमा पहिराेकाे आवाजसँगै आत्तिँदै “माथि जा माथि” भनेकाे सुनिन्छ । भिडियाे क्लिपकाे अन्त्यमा “पख् है पख्” भनेकाे सुनिन्छ ।

@suresh_singh_1987 नामक टिकटक प्रयाेगकर्ताले साेही भिडियाेमा “भन्दाभन्दै सुमन दाइ पनि गायब बाटो पनि” भन्दै कसैलाई पहिराेले बगाएकाे बयान गरेका छन् । उनले आफ्नाे पाेस्टमा लेखेका छन्, “अटेरीकाे पनि हद हुन्छ नि यार !” अर्का प्रयाेगकर्ता @rajusapkota41 ले साेही भिडियाेमा आफ्नाे आवाज थप्दै टिकटकमा त्याे मुग्लिङ-नारायणगढ सडककाे नभएकाे बताएका छन् ।  

नेपालकाे नारायणगढ-काठमाडाैँ (कुनैमा नारायणगढ-मुग्लिङ भनिएकाे) सडक खण्डको पहिराेकाे भनी टिकटकमा फैलाइएकाे भिडियाेकाे  हामीले तथ्य जाँच गरेका छौं ।

हामीले नेपालको भनिएको उक्त भिडियोलाई सूक्ष्म रूपमा हेर्‍यौं । गुगलमा नेपालमा गएको पहिरो किवर्ड प्रयोग गरी खाेज्दा त्यससम्बन्धी समाचार वा फोटो भेटिएन । भिडियोमा भएको पहिरोको विवरणसहित गुगलमा खाेज्दा त्यस्तै पहिरोको फोटो हामीले फेला पार्‍यौं । भारतीय मिडिया इन्डिया टुडेमा जुलाई २०२१ मा प्रकाशित फोटो र भिडियोमा देखिएको पहिरो, सडक र पहिरो नजिक रहेका मानिस तथा गाडीको विवरण टिकटकमा सेयर गरिएकाे भिडियाेसँग मिलेको छ । उक्त दृश्य भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा एक वर्षअघि गएकाे पहिराेकाे भएको फेला परेकाे छ । 

साेही भिडियाे द हिन्दुस्तान टाइम्सकाे युट्युब च्यानलमा साउन १६, २०७८ मा प्रकाशित छ ।

सोही पहिरोको भिडियोलाई गोआको आनमोड घाटको भनी फैलाइएको दाबीको तथ्य जाँच भारतीय अनलाइन द क्वीन्टले पनि गरेको छ । 

भिडियो भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा एक वर्षअघि गएकाे पहिराेकाे हो । त्यसैले टिकटक प्रयाेगकर्ताहरूकाे दाबी गलत छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
नेपालको नारायणगढ-काठमाडाैँ सडक खण्डमा गएको पहिरोकाे दृश्य ।टिकटक प्रयोगकर्ताहरू।गलत
नारायणगढ-काठमाडाैँ सडक खण्डमा गएकाे पहिराेकाे भिडियाे भनी भ्रामक दाबी सत्यापन गरेपछि नेपाल चेकको निष्कर्ष ।