गत साउन १५ गते बिहान ८ः१३ बजे नेपालमा भूकम्पको झट्का महसुस भयो। त्यस दिन खोटाङको साकेला गाउँपालिका–५, मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट मानवीय क्षति नभए पनि त्यसले केही घरहरूलाई भने क्षति पुर्याएको थियो।
भूकम्प गएलगत्तै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले विभिन्न भिडियो सेयर गरेका थिए। त्यस्ता भिडियोमा भएका दृश्य उक्त भूकम्पपछिको क्षति र त्रासको भएकाे दाबी गरिएकाे थियाे।
आफूलाई फेसबुकमा पत्रकार भनी चिनाउने १० हजार फलाेअर भएका दिलीप राईले ३ मिनेट ११ सेकेन्डकाे भिडियाेसहित यस्ताे स्टाटस पाेस्ट गरेका थिए, “आज खाेटाङलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलकाे भूकम्प गएछ । भूकम्पले घरहरू भत्काएर क्षतिग्रस्त बनाएकाे छ ।” उनले सेयर गरेकाे भिडियाेमा मानिसहरू आत्तिँदै भागेकाे देखिन्छ भने “यता यता” भनेर चिच्याएकाे सुनिन्छ ।
उक्त पाेस्टमा झन्डै १ लाख प्रतिक्रिया (लाइक र कमेन्ट आदि) आएका छन् । त्यस्तै करिब ३४ हजारले पछ्याएकाे Routine of Nuwakot Banda ले पनि फेसबुकमा उक्त भिडियाे खाेटाङमा केन्द्रविन्दु भएकाे भूकम्पकाे भनी सेयर गरेकाे छ (स्क्रिनसट) । भिडियोमा भूकम्पले पहिरो गएको, घर भत्किएको र मान्छेहरू त्रसित भई भागेको देख्न/सुन्न सकिन्छ।
यो भिडियो साउन १५ गते खोटाङकाे मात्तिमबिर्तामा केन्द्रविन्दु रहेकाे भूकम्पकाे हो कि हैन भनेर हामीले सत्यापन गरेका छाैँ।

सत्यापनका क्रममा हामीले यो भिडियोलाई इनभिड नामक इन्टरनेट टुल प्रयाेग गरी विश्लेषण गर्याैं । इनभिडले उक्त भिडियाेलाई विभिन्न फ्रेममा बदलिदियाे । ती फाेटाेलाई हामीले रिभर्स इमेज सर्च गर्यौं। त्यसाे गर्दा २०७२ सालको भूकम्पको बेलाका केही भिडियोहरू फेला परे। डेलिमोसन नामक भिडियो सेयर गर्न मिल्ने वेबसाइटमा एक डिजास्ट्रस अर्थक्वेक्स नामक प्रोफाइलमा त्यही भिडियो प्रकाशित छ । डेलिमाेसनकाे वेबसाइटमा त्याे सन् २०१५ काे मे १२ तारिख अर्थात् २०७२ साल वैशाख २९ गते गएकाे भूकम्पको भएकाे बताइएकाे छ ।
२०७२ साल वैशाख १२ गते ७.८ रेक्टर स्केलकाे भूकम्पले नेपालमा जनधनकाे ठूलाे क्षति गरेकाे थियाे । त्यसकाे दुई सातापछि त्यसैकाे परकम्प दाेलखा र सिन्धुपाल्चाेक केन्द्रविन्दु भएकाे ७.३ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।
खाेटाङमा हालै गएकाे भूकम्पकाे भनी फैलाइएकाे भिडियाेकाे दृश्य २०७२ साल वैशाख २९ गतेकाे भूकम्पले रसुवा जिल्लामा पुर्याएकाे क्षतिकाे पाइएको छ। उक्त भिडियो ७ वर्षअघि डेलिमोसन वेबसाइटमा प्रकाशित भएकाे थियाे।
सो भिडियो खाेटाङमा हालै गएकाे भूकम्पकाे नभई सात वर्ष पुरानो भएकाे पुष्टि भएकाले याे गलत छ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
खोटाङमा गएको भूकम्पको भिडियो | फेसबुक प्रयोगकर्ता | गलत |