अपिल गुरुङ नाम गरेका ट्वीटर प्रयाेगकर्ताले आफ्नाे ह्याण्डल @apligrg बाट गत भदाै ३ गते एउटा भिडियाे क्लिप सेयर गरे । भिडियोसँगै ट्वीटमा उनले भनेका थिए, “याे भिडियाे बनाउनेलाई सुप्रबल गाेरखा दक्षिण बाहु दिइनुपर्छ ।” गाेरखा दक्षिण बाहु नेपाल सरकारले दिने गरेकाे एउटा पदक हाे* ।
उनले सेयर गरेकाे भिडियाेमा प्रतिनिधिसभाकाे बैठकमा नेकपा एमालेसम्बद्ध केही सदस्यले नारा लगाउँदै विराेध गरेकाे देखिन्छ । सभामुख अग्नि सापकाेटा आफ्नाे आसनमा देखिन्छन् । भिडियाेमा यस्ता नारा लगाएकाे सुनिन्छ, “नारायणहिटी खाली गर्, हाम्रो राजा आउँदै छन्”; “राजतन्त्र जिन्दावाद, जिन्दावाद जिन्दावाद”; “हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ” । भदाै आठ गतेसम्म साे पाेस्टलाई ११५ पटक रिट्वीट गरिएकाे छ भने त्यसमा ६९४ लाइक आएकाे छ । त्यसलाई १० पटक काेट ट्वीट गरिएकाे छ । साे पाेस्टमा कैयाैँ प्रतिक्रिया आएका छन् । अपिल गुरुङले उक्त पाेस्ट आफ्नाे फेसबुक खातामा पनि सेयर गरेका छन् ।
साेही पाेस्ट ८ हजार फलाेअर भएकाे Devu Parajuli Page नामक फेसबुक पेजबाट पनि सेयर भएकाे छ ।

नेपाल चेकले उक्त भिडियाे क्लिपकाे सत्यापन गरेकाे छ ।
सबैभन्दा पहिला हामीले उक्त भिडियाेलाई इनभिड नामक इन्टरनेट टुलमा डाउनलाेड गरी हेर्यौं । तर इनभिडबाट त्याे भिडियाे पहिल्यै प्रकाशित भइसकेकाे हाे हाेइन भन्ने विवरण आएन । त्यसपछि हामीले प्रतिनिधिसभामा सभामुख अग्नि सापकाेटाकाे चयन भएपछि एमालेका सांसदले प्रतिनिधिसभा अवरुद्ध गरेका समाचारहरू गुगलमा खाेज्याैँ ।
त्यस क्रममा हामीले एभरेस्ट दैनिक अनलाइनमा एमाले सांसदले सदन अवरुद्ध गरेकाे समाचार फेला पार्यौं ।
हामीले प्रतिनिधिसभाकाे वेबसाइटमा राखिएकाे भिडियाे संग्रहमा गई २०७८ भदाै २३ काे भिडियाे हेर्यौं । त्यसमा नेकपा एमालेका सांसदले नारा लगाउँदै सदनकाे बैठक अवरुद्ध गरेकाे दृश्य छ । उनीहरूले “संसदीय मर्यादा कायम गर्”, “विधिकाे शासन कायम गर्”, “संविधानविराेधी काम गर्न पाइँदैन” भनी नारा लगाएकाे सुनिन्छ ।
कान्तिपुरमा २०७८ साल भदाै २८ गते प्रकाशित समाचार अनुसार एमालेका सांसदहरूले तत्कालीन केपी ओली नेतृत्वकाे सरकारलाई विश्वासकाे मत दिने क्रममा ह्वीप उल्लंघन गर्नेमध्येका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै संसद्काे बैठक अवरुद्ध गरेका थिए। एमालेले कारबाही गरेका ती १४ सांसद पदमुक्त भएकाे सूचना सभामुखले संसद्मा टाँस्न लगाउनुपर्ने वा संसद्मा वाचन गर्नुपर्ने माग राख्दै एमाले सांसदहरूले प्रतिनिधिसभाकाे बैठक अवरुद्ध गरेका थिए ।
२०७८ भदाै २३ मा संसद्मा एमाले सांसदहरूले गरेको विरोधको दृश्य समेटिएको भिडियोमा भएको सांसदहरूको वास्तविक आवाज (र उनीहरूले लगाएको नारा) लाई हटाएर त्यसको सट्टा राजतन्त्रवादी नाराहरूको आवाज राखेर यो नयाँ भिडियो बनाइएको छ ।
यो सत्यापन अङ्ग्रेजीमा पढ्नुस्
अत: एमाले सांसदहरूले संसद्मा राजतन्त्रको पक्षमा नारा लगाएको भान पार्ने गरी चुनावको मुखमा उनीहरूको पार्टीलाई बदनाम गर्ने उद्देश्यले ट्वीटर र फेसबुकमा सेयर गरिएकाे उक्त भिडियाे भ्रामक छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
राजतन्त्रकाे पक्षमा संसद्मा नारा लाग्याे । | सामाजिक सञ्जाल प्रयाेगकर्ता | भ्रामक |
*२०६४ सालदेखि गाेरखा दक्षिण बाहु प्रदान गर्न बन्द गरिएकाे जानकारीमा आएकाेले यसलाई सच्याइएकाे छ ।