उर्दुमा जिल्ला र प्रदेशकाे नाम भएकाे नेपालकाे नक्सासम्बन्धी भ्रम यसरी फैलाइयाे 

नेपालकाे नक्सामा नेपाल इस्लामिक देश भएको दाबी गरिएकाे अपिल गुरुङकाे ट्वीटकाे स्क्रिनसट

अपिल गुरुङ नाम गरेका ट्वीटर प्रयाेगकर्ताले आफ्नाे ह्यान्डल @apligrg गत भदाै १८ गते नेपालकाे नक्सा सेयर गरे । नक्साकाे क्याप्सनमा यस्ताे लेखिएकाे थियाे, “इस्लामी-जुमुहिरिये-नेपाल। तपाईंहरूको घरदैलोमा आउन अब मात्र केही वर्ष बाँकी।” पहिलाे तीन शब्दलाई उर्दु भाषाबाट नेपालीमा उल्था गर्दा “नेपाल गणतन्त्र इस्लाम” भन्ने अर्थ लाग्छ । पाेस्टमा रहेकाे दाेस्राे वाक्यमार्फत मुस्लिम समुदायप्रति नकारात्मक धारणा फैलाउन खाेजेकाे देखिन्छ ।

फेसबुकमा ३ सय ३५ जना फलाेअर रहेका गुरुङले उक्त पाेस्ट फेसबुकमा पनि सेयर गरेका छन् । यसैगरी १ हजार ६ सय सदस्य रहेकाे हिन्दुत्व नेपाल नामक फेसबुक पेजमा पनि गुरुङकाे पाेस्ट सेयर गरिएकाे छ । फेसबुक र ट्वीटरमा कैयाैँ प्रयाेगकर्ताले उक्त सामग्री सेयर गरेका छन् ।

संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे नक्सामा प्रदेश र जिल्लाकाे नाम उर्दु भाषामा लेखिएकाे सामग्रीलाई इस्लाम धर्मसँग जाेडी भ्रम फैलाइएकाले नेपाल चेकले यसकाे तथ्य जाँच गरेकाे छ । 

तथ्य जाँचका लागि हामीले उक्त नक्सामा उर्दु भाषामा लेखिएका शब्द थाहा पाउनुपर्ने भयाे । यसका लागि हामीले पाकिस्तानी पत्रकार लुब्ना जेरारकाे सहयाेग लियाैँ । उनले प्रदेशकाे नामलाई अंग्रेजीमा अनुवाद गरिदिइन् । नक्सामा रहेका हरेक जिल्लाकाे नाम अक्षर सानाे भएकाले नबुझिएकाे उनले बताइन् । नक्साबाहिर रहेका अन्य शब्दकाे चाहिँ उनले अनुवाद गरिदिइन् ।

translation-from-pakistani-journalist-lubna-jerar
पाकिस्तानकी उर्दुभाषी पत्रकार लुब्ना जेरारले नेपाल चेककाे अनुराेधमा नक्सामा उल्लेखित प्रदेशका नामलाई अंग्रेजीमा अनुवाद गरिदिएकी छन् ।

यस तथ्य जाँचका लागि हामीले मुस्लिम अधिकारकर्मी शमशाद अहमदकाे सहयाेग लियाैँ । उनले हामीलाई उक्त नक्सामा उर्दु भाषामा जिल्ला र प्रदेशकाे नाम राखी प्रकाशित गरेका महाेत्तरीका ग्राफिक डिजाइनर महमुद जलिल कासमीसँग सम्पर्क गराए । ४० वर्षीय कासमीले उक्त डिजाइन शिक्षाप्रद सामग्रीका रूपमा बनाएकाे बताए । “मुस्लिम समुदायका कतिपय मानिसलाई जिल्लाकाे नाम थाहा नहुन सक्छ । उर्दु भाषामा बनायाे भने सजिलाे हुन्छ भनेर मैले याे बनाएँ,” उनले नेपाल चेकलाई बताए, “तर मलाई यसलाई लिएर भ्रम फैलाइएला भन्ने लागेकाे थिएन ।” आफूले नक्सामा उर्दु भाषामा जिल्ला र प्रदेशकाे नामसहितकाे सामग्री सन् २००२ मा पनि बनाएकाे र नेपालकाे नयाँ नक्सा बनेपछि फेरि त्यसलाई अध्यावधिक गरेकाे बताए । हाल सामाजिक सञ्जालमा फैलिएकाे नक्सा २ वर्षअघि बनाएकाे कासमीले बताए । “याे मेराे साेख हाे । मैले जानकारीका लागि बनाएकाे हाे,” उनले भने । अहिले सामाजिक सञ्जालमा फैलिएकाे नक्सामा प्रदेश नं ५ र प्रदेश नं २ नै उल्लेख छ । प्रदेश नं ५ लाई गत असाेज २०७७ मा लुम्बिनी प्रदेश र प्रदेश नं २ लाई गत माघमा मधेश प्रदेश नामकरण गरिएकाे थियाे ।

अपिल गुरुङ र अन्यले दाबी गरेझैँ नक्सामा नेपाल इस्लामिक देश भएको वा त्यससँग मिल्दोजुल्दो कुनै सामग्री लेखिएको छैन। 

यसर्थ, उर्दु भाषा पढ्ने समुदायलाई जानकारी दिने उद्देश्यले बनाइएकाे नेपालकाे नक्सासम्बन्धी सामग्रीलाई इस्लाम धर्मसँग जाेडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएकाे छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
उर्दु भाषामा “नेपाल गणतन्त्र इस्लाम” उल्लिखित नेपालकाे नक्सा बनाइयाे ।सामाजिक सञ्जाल प्रयोगकर्ताभ्रामक
नेपालकाे नक्सामा नेपाल गणतन्त्र इस्लाम भनी उर्दु भाषामा लेखिएकाे भनी सामाजिक सञ्जालमा सेयर गरिएकाे पाेस्टकाे तथ्य जाँचपछि नेपाल चेककाे निष्कर्ष ।