
गत भदौ २१ गते @drramabahadurbohar नामक टिकटक प्रयोगकर्ताले यस्तो सन्देश सहितको पोस्ट सेयर गरेका थिए : “थोरै नरिवलको तेलमा भिटामिन ई एक क्याप्सुल मिलाएर फेसमा दल्नाले कालो पोतो, चाउरीपना आदि निर्मूल हुन सक्ने कुरा आयुर्वेद ग्रन्थमा लेखिएको छ। सुन्दर हुन चाहनेले यसको प्रयोग गरेर हेर्न सक्नुहुन्छ।”
टिकटकले उक्त खाता [स्क्रिनसट] बन्द गरेपछि रामबहादुर बोहरा नामक ती प्रयोगकर्ताले @drrambahadurbo151 नाम दिई टिकटकमै अर्को खाता खोलेका थिए ।
टिकटकले खाता बन्द गर्नुअघि सो सामग्री ४१ हजारभन्दा बढी पटक हेरिएको थियो।
नरिवलको तेल र भिटामिन इ क्याप्सुल छालामा देखिने कालो पोतो हटाउन प्रभावकारी हुने भनी गरिएको दाबीको नेपाल चेकले तथ्य जाँच गरेको छ।
टिकटक प्रयोगकर्ताले छालामा देखिने उक्त समस्याबाट छुटकारा पाउन नरिवलको तेल र भिटामिन ई क्याप्सुल प्रयोग गर्ने सल्लाह दिएका थिए। उनले प्राचीन चिकित्सा प्रणाली आयुर्वेदका ग्रन्थमा त्यस्तो उपचार विधि उल्लेख गरिएको दाबी समेत गरेका छन्।
उक्त दाबी गलत रहेको भारतको केरला राज्यमा आयुर्वेद चिकित्सा अध्ययनरत लोचन आचार्यले नेपाल चेकलाई बताए । “भिटामिनहरू १९ औँ शताब्दीमा मात्रै पत्ता लागेका हुन् भने चरक संहिता लगायत आयुर्वेदका प्रमुख ग्रन्थ इसापूर्व चौथो शताब्दीमा लेखिएका थिए,” उनले भने, “आयुर्वेद सम्बन्धी ग्रन्थमा भिटामिन र तिनको प्रयोग सम्बन्धी स्पष्ट विवरण विरलै भेटिन्छ।”
नरिवलको तेलमा प्रायः एन्टिअक्सिडेन्ट (हाम्रो शरीरका कोशिकालाई क्षति पुर्याउनबाट बचाउने तत्त्व ) पाइने काठमाडौंस्थित छाला रोग विशेषज्ञ सविना भट्टराईले बताइन् । “नरिवलको तेलले मोस्चराइजर (छालालाई चिल्लाे बनाउने) को काम गर्छ । यसले हाम्रो छालालाई नरम बनाउने र एलर्जी भए त्यसलाई कम गर्न मद्दत गर्छ,” उनले नेपाल चेकलाई बताइन्। उनले छालामा भिटामिन ई क्याप्सुल कुनै पनि हालतमा छिराउन नसकिने बताइन् । “भिटामिन ईको प्रयोगले छालाको यो रोग निको हुँदैन। कालो पोतो वंशानुगत हुन सक्छ । त्यस्तै घामको असर अनि गर्भनिरोधक चक्कीहरूको प्रयोगले पनि हुन्छ,” उनले भनिन्।
नरिवलको तेलमा सुजन कम गराउने र जीवाणुरोधक गुणहरू हुने भएकाले यसले छाला चिलाउन कम गरे तापनि छाला रोग विशेषज्ञहरूले कालो पोतो निर्मूल गर्न यसको प्रयोग गर्न सिफारिस गर्दैनन्।
यो सत्यापन अङ्ग्रेजीमा पढ्नुस्
कालो पोतो बढीजसो महिलामा देखा परे तापनि यो शारीरिक रूपमा हानिकारक नहुने विज्ञहरू बताउँछन्। डा. भट्टराईका अनुसार छालामा तीन तह हुन्छन् । “हाम्रा छालामा विभिन्न कोशिका हुन्छन् । तिनले गाढा रङ भण्डारण र उत्पादन गर्छन्,” उनले भनिन्। “घामको किरण वा औषधिको असरले गर्दा छाला कालो हुन सक्छ। यसरी छालामा कालो पोतो देखिन्छ ।”
आचार्यका अनुसार नरिवलको तेललाई आयुर्वेदमा विभिन्न उपचार विधि अन्तर्गत आधारको रूपमा प्रयोग गरिन्छ। “नरिवल प्रशस्त मात्रामा पाइने र आयुर्वेदको व्यापक अभ्यास हुने गरेको केरलामा त्यस्ता आयुर्वेदिक औषधीय तेल व्यापक रूपमा उत्पादन गरिन्छ,” उनले भने। “यस्ता तेलजन्य औषधि विभिन्न छाला रोगहरू जस्तै एक्जिमा (चिलाउने रोग) को उपचारमा प्रयोग गरिन्छ।”
नरिवलको तेलमा आधारित आयुर्वेदिक उपचारले छालालाई स्वस्थ राख्न मद्दत गर्ने केही अध्ययनहरूले देखाएको आचार्यले बताए।
सन् २००९ मा गरिएको एक अध्ययनमा शुद्ध नरिवलको तेलमा भिटामिन ई, स्टेरोल र पोलिफेनोल जस्ता औषधीय गुण भएका तत्त्व पाइने पत्ता लागेकाे थियाे । प्रशोधित नरिवल तेलमा भने केही तत्त्वहरू मासिन्छन्।
नेपाल चेकको निष्कर्ष के छ भने नरिवलको तेल र भिटामिन ई क्याप्सुल छालामा दल्नाले कालो पोतो हटाउन सकिँदैन। त्यसैले टिकटक प्रयोगकर्ताले गरेको दाबी गलत हो।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
नरिवलको तेल र भिटामिन ई क्याप्सुल छालामा दल्नाले कालो पोतो हटाउन सकिन्छ । | टिकटक प्रयोगकर्ता | गलत |