नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले विवाह गरेकै दिन नागरिकता पाउँछिन् भन्ने दाबी भ्रामक

नागरिकता विधेयकमा भएकाे प्रावधान अनुसार नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई सिन्दूरसँगै नागरिकता पाउन सक्ने भनी एमाले नेता सूर्य थापाले फेसबुकमा दाबी गरेका थिए ।

संघीय संसद्ले २०७९ साल साउन ६ गते नेपाल नागरिकता (पहिलाे संशाेधन) ऐन, २०७९ (नागरिकता संशाेधन विधेयक) पारित गरेपछि खास गरी प्रतिपक्षी दल नेकपा एमालेले त्यसलाई चुनावी मुद्दा बनाएकाे छ ।

विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेकाे भाेलिपल्टै नागरिकता पाउने र पर्सिपल्ट जननिर्वाचित प्रतिनिधि हुने अवस्था आएकाे भनी एमाले नेता ईश्वर पाेखरेलले गत भदाै २४ गते एक कार्यक्रममा बताएका थिए । 

एमालेका पाेलिटब्युराे सदस्य सूर्य थापाले नागरिकता विधेयकमा भएकाे प्रावधान अनुसार नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई सिन्दूरसँगै नागरिकता पाउन सक्ने र एकै दिन मन्त्री नियुक्त हुन सक्ने भनी दाबी गर्दै २०७९ साउन ९ गते ट्विट गरे । 

“सरल नेपाली नागरिकता कानुन । १० घन्टामै बुहारीदेखि स‌ंघीय मन्त्रीकाे पद बहाली,” नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले नागरिकता विधेयक अन्तर्गत विवाहकाे जग्गेमा नै नागरिकता पाउने दाबी गर्दै थापाले त्यसकाे समयरेखा उल्लिखित तीन सामग्री ट्विटरमा सेयर गरेका छन् । 

ती सामग्रीमा भनिएकाे छ :

“मूलतः भारत माइतीका बुहारीलाई स्वर्णिम अवसर । नेपाली युवासँग विवाह, सिन्दूरसँगै नागरिकताको प्रमाणपत्र- बिहान १०ः०० बजे। 

संघीय सांसद मनोनयन अपराह्‍न १२ः०० बजे । शपथग्रहण दिउँसो २०० बजे। मन्त्री नियुक्त- दिउँसो ४:०० बजे । 

शपथग्रहण- साँझ ६:०० बजे। पदबहाली- बेलुका ७:०० बजे । 

१० घण्टामा मन्त्रीको पदबहाली। 

महान् जनयुद्धदेखि पाँचदलीय गठबन्धनको बहुमतले प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक ! पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गरेको सौदाबाजी र नग्न दलालीको परिणाम ! घृणित आत्मसमर्पण नाच मदारी नाच, डम्फुको तालमा नाच।”

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले पारित गरेकाे नागरिकता विधेयक पुनर्विचार गर्न भनी संसद्‍मा फिर्ता पठाएकाे पत्रसहित साे सामग्री थापाले साउन ३० गते पुन: ट्विट गरेका छन् । समग्रमा उनकाे ट्विटमा ३९ रिट्विट  र ३०८ लाइकसहित ३६० प्रतिक्रिया आएका छन् । थापाकाे ट्विटर ह्यान्डललाई ५६ हजारभन्दा बढीले फलाे गरेका छन् । झन्डै त्यति नै संख्यामा उनकाे फेसबुक पेजमा फलाेअर छन् । फेसबुकमा उनले साउन ३० गते साेही सामग्री सेयर गरेका छन् । उनकाे साे पाेस्टमा ६८७ लाइक, ४५ कमेन्ट गरिएकाे छ भने १६ पटक सेयर गरिएकाे छ । 

के एमाले नेता थापाले दाबी गरेजस्ताे नेपाली पुरुषसँग विवाह गरेकी विदेशी मूलत: भारतीय महिलाले विवाह गरेकै दिन नागरिकता बनाउन सम्भव छ त?

आम निर्वाचन नजिकिँदै जाँदा चुनावी मुद्दा बनेकाे नागरिकता विधेयक र विदेशी महिलालाई प्रदान गरिने अंगीकृत नागरिकता सम्बन्धी थापाकाे दाबीकाे नेपाल चेकले सत्यापन गरेकाे छ । 

विधेयकले वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा प्रचलित कानुनी व्यवस्थामा कुनै हेरफेर गरेकाे छैन । विधेयकमा वैवाहिक अंगीकृत सम्बन्धी कुनै व्यवस्था उल्लेख गरिएकाे छैन । यसकाे अर्थ सरकारले ल्याएकाे विधेयकले नेपाल नागरिकता ऐन, २०६३ ले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई दिने अंगीकृत नागरिकता सम्बन्धमा गरेकाे व्यवस्थालाई निरन्तरता दिएकाे हाे । 

तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी कानुनी व्यवस्था के छ भनी अध्ययन गर्‍याैँ । त्यसका लागि हामीले नेपालकाे संविधान, नेपाल नागरिकता ऐन, २०६३ र नेपाल नागरिकता नियमावली, २०६३ मा वैवाहिक अङ्गीकृत नागरिकताकाे प्रावधान र वितरणकाे प्रक्रिया  अध्ययन गर्‍यौं । 

नेपालकाे वर्तमान संविधानले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमाेजिम नेपालकाे अंगीकृत नागरिकता पाउने व्यवस्था गरेकाे छ । 

के छ नागरिकता ऐनमा व्यवस्था ?

२०६३ साल कात्तिक २२ गते भएकाे राजनीतिक सहमतिका आधारमा नेपाल नागरिकता ऐन, २०६३ बनेकाे यसै ऐनकाे प्रस्तावनामा छ ।  साेही ऐनकाे दफा ५ काे उपदफा १ मा वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था गरिएकाे छ । ऐनमा गरिएकाे व्यवस्था अनुसार नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले नागरिकता हासिल गर्न वैवाहिक सम्बन्धकाे प्रमाणपत्र, विदेशी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेकाे प्रमाणसहित सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था छ । 

वैवाहिक अंगीकृत नागरिकता लिनका लागि विदेशी महिलाले नेपालकाे संविधान र कानुनप्रती वफादार रही नेपाली नागरिककाे भूमिका निर्वाह गर्दछु भनेर शपथ खानुपर्नेसमेत नागरिकता ऐनमा उल्लेख छ। 

नियमावलीमा के छ ?

ऐन कार्यान्वयन गर्न ऐनलाई सरलीकृत गरी नियमावली बनाइएकाे हुन्छ । नागरिकता ऐन, २०६३ लाई कार्यान्वयन गर्न नेपाल नागरिकता नियमावली, २०६३ काे व्यवस्था गरिएकाे छ । 

याे नियमावलीमा नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले नागरिकताका लागि दिनुपर्ने निवेदनकाे ढाँचा खुलाइएकाे छ ।  उक्त ढाँचामा नागरिकताका लागि निवेदन दिने विदेशी महिलाले आफ्नाे जन्मस्थानसहितकाे व्यक्तिगत विवरण (नाम थर, जन्म, जन्ममिति, बाबु, आमा र पति कुन देशकाे नागरिक हुन् भन्ने खुलेकाे) पेस गर्नुपर्ने हुन्छ । साथै विवाह भएकाे मिति र विदेशी नागरिकता त्याग्ने कारबाही चलाएकाे प्रमाणसहित नेपालमा आएपछि “अटुट रूपमा” बसाेबास गरेकाे प्रमाण पेस गर्नुपर्छ । यससँगै जीवन निर्वाहकाे स्राेत र साधनको विवरण पनि खुलाउनुपर्छ । नागरिकता लिन चाहने विदेशी महिलालाई सम्बन्धित पालिकाले “राम्राेसँग चिनेकाे” भनेर प्रमाणित गर्नुपर्छ । विदेशी नागरिकता नलिएकाे, त्यागेकाे वा त्याग्ने कारबाही चलाएकाे प्रमाणसहित आफ्नाे व्यक्तिगत विवरण र पालिकाकाे सिफारिससहितकाे निवेदनमाथि जिल्ला प्रशासन कार्यालयले जाँचबुझ गर्छ । त्यसपछि मात्र नागरिकता पाउनयाेग्य भए नागरिकता दिने व्यवस्था नियमावलीमा छ । 

त्यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ले विवाह गरेकाे ३५ दिनभित्र विवाह दर्ता गर्नुपर्ने व्यवस्था गरेकाे छ । साे ऐन अनुसार विवाह गरेकाे ३५ दिनपछि पनि विलम्ब शुल्क तिरेर विवाह दर्ता गर्न भने पाइन्छ । 

यी त भए कानुनी व्यवस्था । नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले नेपाली नागरिकता पाउन के-के प्रमाण पेस गर्नुपर्छ र तिनलाई जुटाउन कति समय लाग्छ ?  एमाले नेता सूर्य थापाले नेपाली नागरिकसँग विवाह गरेकी भारतीय महिलाकाे विषयमा दाबी गरेकाले त्यस्ताे महिलालाई नागरिकता दिने व्यावहारिक पाटाे बुझ्न हामीले केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्‍यौं। 

हामीले हाल सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) चिरञ्जीवी गिरीसँग सम्पर्क गर्‍याैं ।  

सहायक प्रजिअ गिरीका अनुसार विदेशी नागरिकता वा साे सरहकाे परिचयपत्र त्याग्ने कारबाही चलाएकाे प्रमाणका लागि नागरिकता लिन चाहने भारतीय महिलाको हकमा भारतकाे सम्बन्धित डिस्ट्रिक्ट म्याजिस्ट्रेट (नेपालको सीडीओसरह) लाई चिठी लेख्नुपर्छ । “भारतीय महिलाकाे हकमा नेपाली पुरुषसँग विवाह गरेकाे र नेपालकै नागरिकता लिन चाहेकाले भारतीय नागरिकता त्याग्न चाहेकाे भनी चिठी लेखी नेपालकाे सरकारी हुलाकबाट पठाउनुपर्छ,” गिरीले नेपाल चेकलाई बताए, “त्यसरी लेखेकाे चिठीकाे एक प्रति र सरकारी हुलाकबाट चिठी पठाएकाे प्रमाणसहित अन्य कागजात पेस गर्नुपर्छ ।”   

सहायक प्रजिअ गिरीले विवाह गरेकै दिन नागरिकता पाउन सम्भव नहुने बताए । उनका अनुसार विवाह दर्ता, वडाकाे सिफारिस र विदेशी नागरिकता त्यागेकाे कारबाही चलाएकाे प्रमाणसहित विदेशी महिलाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्छिन् । नेपाली पुरुषसँग विवाह गरेकै दिन विदेशी महिलाले नागरिकता पाउन व्यावहारिक रूपमा सम्भव छ ? भन्ने प्रश्नमा उनले भने, “ इलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि निवेदनसँगै  पेस गरिएका सबै डकुमेन्ट (कागजपत्र) मिलेका छन् भने त्यसपछि नागरिकता दिने हाे । सबै प्रक्रिया र कागजात पूरा गर्नुपर्ने हुँदा विवाह गरेकै दिन नागरिकता पाउन सम्भव छैन ।”  

त्यसैगरी हामीले जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) रमेश पाण्डेयसँग पनि सम्पर्क गर्‍याैँ । सहायक प्रजिअ पाण्डेयले नेपाली पुरुषसँग विवाह गरेकाे प्रमाण र अंगीकृत नागरिकता दिनयाेग्य रहेकाे भनी नेपाल प्रहरीले स्थानीय पाँच जनाकाे राेहवरमा सर्जमिन (घटनाका सम्बन्धमा स्थानीय जानकारहरूसँग साेधपुछ गरी सहीछाप गर्ने) गरेर जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने बताए । “नेपाली नागरिकसँग विवाह गरेकाे प्रमाण, वडाकाे सिफारिस, महिलाकाे आमाबाबुकाे परिचय खुल्ने राज्यले दिएकाे सक्कल प्रमाणपत्र, नेपालकाे सरकारी हुलाकबाट विदेशी नागरिकता त्याग्ने भनी पठाएकाे पत्र वा सम्बन्धित देशकाे सम्बन्धित अधिकारीसँग त्यहाँकाे नागरिकता त्याग्ने कारबाही चलाएकाे प्रमाण र प्रहरीले गरेकाे सर्जमिन आवश्यक पर्छ,” पाण्डेयले नेपाल चेकलाई बताए, “त्यसपछि शंका लागेमा गाेप्य रूपमा बुझ्न पनि सकिन्छ । याे सबै कागजात र प्रक्रिया पुर्‍याउन एकै दिनमा सम्भव छैन ।”

सहायक प्रजिअद्वय गिरी र पाण्डेय दुवैले विवाह गरेकै दिन विदेशी महिलाले अंगीकृत नागरिकता प्राप्त गरेकाे भन्ने आफूहरूलाई जानकारी नभएकाे बताए । 

त्यसैगरी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पाेखरेलसँग पनि हामीले सम्पर्क गर्‍याैँ । पाेखरेलले कानूनले समय नताेकेकाे हुँदा विवाह गरेकै दिन नागरिकता पाउँछन् भनिए पनि कानुन कार्यान्वयनका हिसाबले त्याे सम्भव नहुने बताए । उनले भने, “कानुनले समय त ताेकेकाे छैन । कसैले सबै कागजात मिलाएर विवाह गरेकै दिन आयाे भने त नागरिकता पाउला तर त्यसरी नागरिकता पाउने भन्ने त भनाइ मात्र हाे ।”

नेपाली नागरिकसँग विवाह गरेकी भारतीय महिलाले विवाह गरेकै दिन नेपाली नागरिकता पाउने गरी वर्तमान सरकारले नागरिकता विधेयक ल्याएकाे भन्ने नेकपा एमालेका पाेलिटब्युराे सदस्य सूर्य थापाकाे दाबी गलत हाे । वर्तमान सरकारले ल्याएकाे नागरिकता विधेयकले  वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी कुनै हेरफेर गरेकाे छैन । यसकाे मतलब नागरिकता ऐन, २०६३ ले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्थाकै निरन्तरता हाे । साे ऐनमा नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले नागरिकता प्राप्त गर्नका लागि निश्चित समयावधि नताेकिए पनि ऐन कार्यान्वयनकाे व्यावहारिक पाटाेलाई लुकाएर थापाले गरेकाे दाबी भ्रामक भएकाे नेपाल चेककाे निष्कर्ष छ । 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
नेपाली पुरुषसँग विवाह गरेकी  विदेशी महिलाले विवाह गरेकै दिन नागरिकता पाउँछिन् ।एमाले नेता सूर्य थापाभ्रामक
नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले विवाह गरेकै दिन नागरिकता पाउँछिन् भन्ने नेकपा एमालेका पाेलिटब्युराे सदस्य सूर्य थापाकाे दाबीमाथि तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।