मेयर शाहले अवैध माेटरसाइकलमाथि डाेजर चलाएकाे भन्ने टिकटक भिडियाे भ्रामक 

‘Luv Chan 62’ नामक टिकटक प्रयाेगकर्ताले भदाै १४ गते टिकटकमा सेयर गरेकाे भिडियाेकाे स्क्रिनसट

विगत एक महिनादेखि काठमाडाैं महानगरपालिकाले सडक वरिपरि र भवनका बेसमेन्टमा बनाइएका अवैध संरचना भत्काउने अभियान चलाएकाे छ । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका काठमाडाैँ महानरपालिकाका मेयर बालेन्द्र शाहले त्यसकाे नेतृत्व गरेका छन् । उनकाे अभियानकाे समर्थन र विराेध दुवै भएकाे छ ।

यसै सन्दर्भमा काठमाडाैँ महानगरपालिकाका प्रमुख शाहकाे निर्देशनमा अवैध रूपमा पार्किङ गरिएका माेटरसाइकललाई डाेजरले किचेकाे भनी दाबी गरिएकाे भिडियाे अहिले टिकटकमा सेयर भएकाे छ । ‘Luv Chan 62’ नामक टिकटक प्रयाेगकर्ताले भदाै १४ गते टिकटकमा सेयर गरेकाे भिडियाेमा लेखिएकाे छ, “अवैध पार्किङ बाइक ध्वस्त । गुड जब बालेन ।” उक्त ११ सेकेन्डकाे भिडियाेमा डाेजरले खुला स्थानमा लस्करै राखिएका बाइकहरूलाई किचेकाे देखिन्छ । उक्त भिडियाेमा असाेज ७ गतेसम्ममा ४४९६ लाइक, २२९ कमेन्ट गरिएकाे छ भने १७१ पटक सेयर गरिएकाे छ । 

हामीले स्वतन्त्र उम्मेदवारी दिएर महानगरकाे मेयरमा निर्वाचित भएका बालेन्द्र शहकाे निर्देशनमा भएकाे भन्दै डाेजरले माेटरसाइकल किचेकाे भिडियाेकाे तथ्य जाँच गरेका छाैँ । 

तथ्य जाँच

तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले गुगलमा “Dozer crushes motorbikes” भन्ने किवर्ड राखेर सर्च गर्‍यौं । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार अमेरिकाकाे न्युयाेर्क सहरकाे प्रहरी विभागले झन्डै १०० वटा अवैध र खतरनाक माेटरसाइकल लगायतका सवारीसाधन डाेजरले किचेर नष्ट गरिएकाे थियाे। हामीले न्युयाेर्क सिटी मेयरकाे कार्यालयले आफ्नाे आधिकारिक फेसबुक पेजमा २०७९ साल असार ८ गते राखेकाे २४ सेकेन्डकाे भिडियाे भेट्याैँ । भाइरल भएकाे भिडियाे र न्युयाेर्कका मेयरको कार्यालयले राखेकाे भिडियाे हुबहु मिलेकाे छ । 

न्युयाेर्क सिटी मेयरकाे कार्यालयले आफ्नाे आधिकारिक फेसबुक पेजमा पाेस्ट गरेकाे भिडियाेकाे स्क्रिनसट

टिकटकमा सेयर गरिएकाे भिडियाे न्युयाेर्क सहरमा अवैध माेटरसाइकललाई डाेजरले किचेकाे दृश्य भएकाे नेपाल चेकले पत्ता लगाएकाे छ । काठमाडाैं महानगरले अवैध पार्किङ गरिएका माेटरसाइकललाई किचेर ध्वस्त गराएकाे भन्ने टिकटक प्रयाेगकर्ताकाे दाबी गलत हाे । 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे निर्देशनमा अवैध रूपमा पार्किङ गरिएका माेटरसाइकलमाथि डाेजर चलाइएकाे ।टिकटक प्रयोगकर्तागलत
काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे निर्देशनमा अवैध रूपमा पार्किङ गरिएका माेटरसाइकललाई डाेजरले किचेर ध्वस्त पारेकाे भन्ने दाबीसहित सेयर गरिएकाे भिडियाेकाे सत्यापन गरेपछि नेपाल चेककाे निष्कर्ष ।