नेपाली कांग्रेसकाे एक्लाे अडानका कारण नेपालकाे संविधान जारी भएकाे शर्माकाे दाबी भ्रामक

टिकटकमा शेयर गरिएकाे भिडियाेकाे स्क्रिनसट ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झन्डै तीन वर्षपहिले गरेकाे भाषणकाे भिडियाे अहिले टिकटकमा भाइरल भएकाे छ ।  एक मिनेट चार सेकेन्ड लामाे भिडियाेमा शर्माले नेपाली कांग्रेस, विशेषगरी सुशील काेइराला (तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति) काे अडानका कारण नेपालले संविधान जारी गरेकाे दाबी गरेका छन् । काेइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका प्रतिनिधिलाई “संविधान असाेज ३ मा नै जारी हुन्छ, हामीले कसैलाई सुन्दैनाैँ” भनेकाे बताउँदै शर्माले कांग्रेसकाे “राष्ट्रवादी” अडानकै कारण २०७२ सालमा संविधान जारी भएकाे र परिणामस्वरूप भारतले नाकाबन्दी लगाएकाे दाबी गरेका छन् । 

उक्त भिडियाेमा उनले भनेका छन् : 

चिया पिउँदै हुनुहुन्छ भने एकछिन यता ध्यान दिनुस् । हिजाे तपाईंले भाेट दिँदै गर्दा कमरेड केपी ओलीलाई राष्ट्रवादकाे मुद्दामा दिएकाे हाेइन ? नाकाबन्दी लगाउँदै गर्दा जाेर स्वरले बाेल्नुभाे भनेर । हामी कांग्रेसले कमजाेरी गर्‍यौं हाेला, गल्ती गर्‍यौं हाेला । नाकाबन्दीकाे बेलामा कडा स्वरले बाेलेनाैँ हाेला दिदीबहिनी तथा दाजुभाइ । तर नाकाबन्दी लागेकाे भनेकाे कम्युनिस्ट पार्टीकाे कारण हाेइन, कांग्रेसकाे कारण लागेकाे हाे । सुशील काेइरालाका कारण लागेकाे थियाे। भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले पठाएका प्रतिनिधिलाई असाेज ३ मा संविधान जारी नगर भन्दै गर्दा ठीक है, जारी नहीं करुंगा भनेकाे भए नाकाबन्दी लाग्दैनथ्याे हाेला । तर सुशील काेइरालाले जवाफ दिनुभयाे : ‘नेपाल के आन्तरिक मामिलामा जाे करना है हम लाेग करेंगे. हम किसी की नहीं सुनेंगे. संविधान जारी असाेज ३ मे ही हाेगी. यही बात कहदिजिए माेदीजीकाे’ भनेर सुशील काेइरालाले जवाफ दिनुभयाे, याे देशले संविधान पायाे । अनि नाकाबन्दी भयाे । हामीले लिएकाे राष्ट्रवादकाे अडानले देशले संविधान पायाे । राष्ट्रवादकाे अडान परिणाममुखी हुनुपर्छ, आवेगमुखी हाेइन । त्याे परिणाममुखी भयाे, देशले संविधान पायाे । केपी ओलीले लिएकाे अडानले कम्युनिस्ट पार्टीले भाेट पायाे, देशले के पायाे ?

विश्वप्रकाश शर्मा

२०७९ साल असाेज ९ गते “sijan521” नामक टिकटक प्रयाेगकर्ताले साे भिडियाे सेयर गर्दै “चिया पिउँदै हुनुहुन्छ भने एकछिन यता ध्यान दिनुस्” भनी लेखेका छन् । भिडियाेमा २६ हजार ७०० लाइक तथा एक हजार बढी कमेन्ट गरिएकाे छ भने २५९ पटक सेयर गरिएकाे छ । उक्त भिडियाेमा नेपाली कांग्रेसकाे एक्लाे अडानका कारण संविधान जारी भएकाे दाबी शर्माले गरेका छन् ।

हाल झापाकाे १ नं क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार शर्माकाे दाबीमाथि नेपाल चेकले तथ्य जाँच गरेकाे छ । शर्माले करिब तीन वर्षअघि निर्वाचनकै बेला गरेकाे भाषणकाे अंश अहिले टिकटकमा भाइरल भएसँगै आसन्न  निर्वाचनका कारण याे सान्दर्भिक भएकाे छ ।  

शर्माकाे उक्त दाबीको तथ्य जाँच गर्न हामीले सबैभन्दा पहिले उनले कुन प्रसंगमा, कहाँ, कहिले उक्त दाबी गरेका थिए भनेर खाेज्याैँ । उक्त भिडियाे २०७६ साल मंसिर ७ गते दाङमा गरेकाे भाषणकाे रहेछ । सन्दर्भचाहिँ २०७६ साल मंसिर १४ काे उपनिर्वाचन थियाे । उक्त भिडियाे रेकर्ड गरेकै दिन युट्युबमा राखिएकाे थियाे ।  

दाङकाे निर्वाचन क्षेत्र नं ३(ख) का नेकपा एमाले प्रदेशसभा सदस्य उत्तरकुमार खत्रीकाे निधनपछि रिक्त पदका लागि भएकाे उपनिर्वाचनकाे प्रचारप्रसारका क्रममा शर्माले भाषण गरेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्य नेकपाकी उम्मेदवार विमला खत्री (वली) सँग पराजित भएका थिए । 

त्यतिबेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता रहेका शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर २०७६ कात्तिक १६ गते नयाँ नक्सा जारी गरेपछिकाे सन्दर्भ निकाल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे आलाेचना गरेका थिए । भारतले नयाँ नक्सा जारी गरेकाे चार दिनपछि परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालकाे भूभाग हाे भन्नेमा नेपाल सरकार स्पष्ट रहेकाे भन्दै विज्ञप्ति निकालेकाे थियाे । 

तथ्य जाँच

नेपालकाे संविधान २०७२ साल असाेज ३ गते जारी भएकाे थियाे । त्याेभन्दा पहिले भदाै ३० गते संविधानसभालेे संविधान विधेयक दुईतिहाइ बहुमतले पारित गरेकाे थियाे । संविधानसभाका ६०१ सदस्यमध्ये संविधान पारित गर्दा तत्काल कायम रहेका सभासद्काे संख्या ५९८ थियाे । जसमध्ये ५३२ जनाले मतदानमा भाग लिएका थिए । मतदानमा भाग लिएका ५०७ जनाले संविधानकाे पक्षमा मत जाहेर गरेका थिए भने २५ सभासद्ले संविधानकाे विपक्षमा मत जाहेर गरेका थिए । त्यसैगरी ८ सभासद् मतदानमा सहभागी भएका थिएनन् । मधेसकेन्द्रित ७ दलका ५७ सभासद्सहित नेकपा माओवादीका प्रभु साहले मतदान बहिष्कार गरेका थिए । संविधानसभाबाट संविधान जारी भएपछि संविधानसभाकाे अन्तिम बैठकमा सम्बोधन गरेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका अनुसार संविधानभाले पारित गरेकाे मूल प्रतिमा ५३७ जना सभासद्काे हस्ताक्षर थियाे । 

नेपालले संविधान जारी गरेपछि असन्तुष्ट भएकाे छिमेकी भारतले ‍‍‍‍‍‍‍२०७२ साल असाेज ६ गतेदेखि अघाेषित नाकाबन्दी लगाएकाे थियाे । भारतीय सरकारले यसलाई नाकाबन्दी नभने पनि तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले भारतकाे संसद्‍मा उठेका प्रश्नकाे जवाफ दिँदै भारतले नेपाललाई लगाएकाे नाकाबन्दी पहिलाे नभएकाे बताएकी थिइन् । 

संविधानसभाबाट पारित भइसकेपछि पनि असाेज ३ गते राष्ट्रपति ताेकिएकाे समयभन्दा केही ढिला गरी संसद् भवनमा पुग्दा संविधान जारी नहुने हाे कि भन्ने आशंका रहेकाे तत्कालीन संविधानसभा अध्यक्ष नेम्बाङले आफ्नाे स्मरणमा बताएका छन् । संविधान जारी भएकाे दिन सभाध्यक्ष नेम्बाङले संविधान निर्माणमा दलहरू एक ठाउँमा देखिएकाे भन्दै त्यस्ताे एकता संविधानकाे कार्यान्वयनमा पनि देखियाेस् भन्ने आग्रह गरेका थिए ।

संविधानमा आफ्नाे अधिकार सुनिश्चित नभएकाे भन्दै केही राजनीतिक दलहरू संविधान जारी गर्ने समयमा आन्दाेलनमा थिए । विशेषगरी मधेसी दलहरूले संयुक्त माेर्चा बनाएर प्रदेशकाे सीमांकन लगायतका विषयमा असन्तुष्टि जनाउँदै निरन्तर आन्दाेलन गरिरहेका थिए । आन्दाेलनरत पक्षलाई वार्ता र संवादमा आउन आग्रह गर्दै संविधान पारित हुनुअघि २३ भदाैमा प्रधानमन्त्री सुशील काेइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्य जारी गरेका थिए । तर संविधान पारित हुने दिनसम्म पनि सहमति हुन सकेन । 

संविधानसभाबाट भदाै ३० गते संविधान पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका प्रतिनिधिका रूपमा तत्कालीन विदेश सचिव एस जयशंकर २०७२ साल असाेज १ गते दुईदिने भ्रमणमा नेपाल आए । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेकाे पुस्तकलाई साभार गरिएकाे बीबीसीकाे समाचार अनुसार संविधानसभाले संविधान पारित गरे पनि मधेसकाे असन्तुष्टि समेटेर केही समयपछि जारी गर्ने माहाेल बनाउन जयशंकर नेपाल आएका थिए । भ्रमणका क्रममा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री काेइराला, एमाले अध्यक्ष ओली, तत्कालीन एनेकपा माओवादी अध्यक्ष प्रचण्ड र असन्तुष्ट संयुक्त मधेसी माेर्चाका नेताहरूसँग भेट गरेका थिए । 

काेइराला, ओली र प्रचण्डसँगकाे भेटमा जयशंकरले तीनै नेतालाई मधेसकाे असन्तुष्टि सम्बाेधन गरेर मात्र संविधान जारी गर्न दबाब दिएका थिए । तर नेपालका “नेताहरू” [जयशंकरलाई] सुन्न तयार नभएकाे रेलाई उद्धृत गर्दै बीबीसीकाे समाचारमा भनिएकाे छ । साेही समाचारका अनुसार एमाले अध्यक्ष ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेकाे दस्तावेजकाे मस्याैदामा जयशंकरले संविधान जारी भए “परिणाम राम्राे नहुने धम्की दिएकाे” उल्लेख गरेका थिए । (तर ओलीले उक्त विधान महाधिवेशनमा प्रस्तुत गरेकाे दस्तावेजमा उल्लिखित वाक्यांश हटाएर बाह्य शक्तिहरूले चलखेल गर्न खाेज्दाखाेज्दै एमालेकाे नेतृत्वमा संविधान जारी भएकाे दाबी गरिएकाे साे समाचारमा भनिएकाे छ ।)

बीबीसीकाे त्यही समाचार अनुसार प्रचण्ड-जयशंकर भेटमा पनि  जयशंकरले संविधानलाई भारतले समर्थन नगर्ने बताएका थिए । उनीहरूकाे भेटमा संविधान पारित भइसकेकाे अवस्थामा जारी नगर्ने माहाेल बनाउन आएका जयशंकरकाे भ्रमणकाे समय नमिलेकाे प्रचण्डले बताएकाे साे समाचारमा भनिएकाे छ । प्रचण्डले १५ दिनअघि या १५ दिनपछि नेपाल भ्रमणमा आएर त्यसाे भन्नुपर्ने भनेर जयशंकरलाई जवाफ दिएकाे प्रचण्डलाई उद्धृत गर्दै बीबीसीकाे समाचारमा भनिएकाे छ । 

अनलाइन खबरमा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री काेइराला, एमाले अध्यक्ष ओली र प्रचण्ड तीनै जनाले जयशंकरकाे “चेतावनीयुक्त प्रश्न” मा आन्दाेलनरत पक्षकाे जायज मागलाई संविधान संशाेधन गरेर सम्बाेधन गर्ने एउटै जवाफ दिएका थिए ।  

संविधान जारी भएपछि उत्सव मनाउन प्रमुख तीन दलले असाेज २ गते संयुक्त आह्वानसमेत गरेका थिए । संविधानसभाबाट संविधान पारित गर्नेदेखि संविधान जारी गर्ने बेलासम्म प्रमुख तीन दल एक ठाउँमा उभिएका थिए । 

२०७२ सालकाे संविधान घाेषणालाई नेपालका प्रमुख राजनीतिक दलहरूले उपलब्धिका रुपमा चित्रण गर्दै स्वामित्व लिन खाेजे पनि संविधान जारी गर्दा तिनमा धेरैजसाे विषयमा मतैक्य थियाे । नेपाली कांग्रेसका सभापति सुशील काेइरालाले प्रधानमन्त्रीकाे हैसियतमा नेतृत्वदायी भूमिका खेले पनि कांग्रेसकाे एक्लाे अडानका कारण संविधान जारी भएकाे भन्ने शर्माकाे दाबी भ्रामक हाे । शर्माले संविधान जारी गर्ने बेला प्रमुख राजनीतिक दलहरूले गरेकाे एकता र सहकार्यलाई लुकाएर उक्त दाबी गरेका छन् । 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
नेपाली कांग्रेसकाे एक्लाे अडानका कारण नेपालले संविधान जारी गर्न सफल भएकाे थियाे । 
नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता तथा हालका महामन्त्री विश्वप्रकाश शर्मा
भ्रामक
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे नेपाली कांग्रेस, विशेषगरी सुशील काेइरालाकाे एक्लाे अडानका कारण संविधान जारी भएकाे भन्ने दाबीकाे तथ्यजाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।