
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वकाे सरकारले तीन वर्षमा देशभरिका सबै तुइन विस्थापित गरेकाे दाबी गरेका छन् । गत कात्तिक ४ गते आदिवासी जनजाति महासंघले काठमाडाैंमा आयाेजना गरेकाे कार्यक्रममा उनले भनेका थिए:
उहिले पुल थिएनन्, बाटा थिएनन् । अहिले पाे एमाले सरकार आयाे जहाँ पनि झाेलुङ्गे पुल, जहाँ पनि बाटाे, जहाँ पनि पक्की पुल बनाउँदै गयाे । पहिले त साह्रै गाह्राे थियाे नि त । त्रिशूलीमा जाँदाखेरी मान्छे झुन्डिँदै तरिराखेकाे देख्नुपर्थ्यो तुइनमा । अहिले हेर्नुस् त त्रिशूली । बकाइदा झाेलुङ्गे पुल छन् । अथवा सडक पुल बनेका छन् । तीन वर्षमा सबै तुइन विस्थापित भए । देशभरिकै तुइन विस्थापित भए ।
केपी शर्मा ओली
ओलीकाे उक्त दाबीलाई केही सञ्चारमाध्यमहरूले समाचार पनि बनाएका छन् । [लिङ्क १, लिङ्क २] ।
के एमाले सरकारले तीन वर्षमा देशभरिका सबै तुइन विस्थापित गरेकाे थियाे त ? नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।
तथ्य जाँच
एमाले अध्यक्ष ओली २०७२ असाेज २५ गते एकीकृत माओवादीकाे समर्थनमा पहिलाेपल्ट प्रधानमन्त्री भएपछि उनी नेतृत्वकाे सरकारले साेही दिनकाे क्याबिनेट बैठकबाट दुई वर्षभित्र अर्थात् २०७४ असाेज मसान्तभित्र देशभरिका तुइन विस्थापित गर्ने निर्णय गरेकाे थियाे । त्यसपछि नेपालभर प्रयाेगमा रहेका तुइनकाे तथ्यांक खाेज्ने जिम्मा सरकारले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको सस्पेन्सन ब्रिज डिभिजनलाई दियाे । सस्पेन्सन ब्रिज डिभिजनकाे तथ्यांक अनुसार १९८ तुइन सञ्चालनमा थिए । जसमध्ये १४३ स्थानमा मात्र पुल निर्माण गर्ने याेजना बनेकाे थियाे । अन्य ठाउँमा नेपाल-भारत सीमा, भाैगाेलिक जटिलता तथा कतिपय तुइन भएकाे स्थानमा झाेलुङ्गे पुलकाे सम्भाव्यता नभएकाले झाेलुङ्गे पुल बनाउने याेजना अघि बढेन ।
२०७३ साउन ९ गते ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । तुइन विस्थापित गरी झाेलुङ्गे पुल निर्माण गर्ने भनिएकाे दुई वर्षमा अर्थात् २०७४ असाेज सम्ममा जम्मा ४९ स्थानमा मात्र झाेलुङ्गे पुल निर्माण भएपछि दुई वर्षभित्र तुइन विस्थापित गर्ने सरकारकाे याेजना विफल भएकाे थियाे ।
२०७४ साल फागुन ३ गते नेकपा (माओवादी केन्द्र) कै समर्थनमा दाेस्राे पटक प्रधानमन्त्री बनेका ओली २०७७ साल असार २८ गतेसम्म अर्थात् करिब तीन वर्षभन्दा बढी प्रधानमन्त्री रहे । ओलीले दाबी गरेकाे जस्ताे त्याे एमालेकाे एकल सरकार थिएन । २०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उनी नेकपाका प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री पदबाट बहिर्गमन हुने समयसम्म दार्चुलाकाे महाकाली नदीमा आधा दर्जन तुइन सञ्चालनमा थिए । २०७८ साउन १५ गते तुइनबाट महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा जयसिँह धामी बेपत्ता भएका थिए । साे घटनामा सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेकाे भनी नेकपा एमालेले सरकारकाे आलाेचनासमेत गरेकाे थियाे ।
त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा समेत तुइन विस्थापनका लागि पाँच अर्ब पाँच कराेड बजेट विनियाेजन गरिएकाे थियाे । अर्थ मन्त्रालयले २०७८ जेठमा सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण अनुसार २०७७ फागुन महिनासम्म (केपी ओलीकाे सरकार बनेकाे तीन वर्षभन्दा बढी समय) मा पहिचान भएका १४३ तुइनमध्ये १४ वटा तुइन बन्न बाँकी नै रहेकाे २०७८ जेठ १५ गते कान्तिपुरमा प्रकाशित समाचारमा भनिएकाे छ ।
२०७८ साउन २९ मा कान्तिपुर टीभीमा प्रसारित समाचार अनुसार साे समयसम्म महाकाली नदीमा ११ वटा तुइन रहेकाे उल्लेख गर्दै केपी ओलीले तुइन विस्थापन गर्ने घाेषणा गरे पनि दुई पटक प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापन नभएकाे बताइएकाे छ।
हालकाे अवस्था के छ ?
तुइन विस्थापनका सम्बन्धमा जानकारी लिन हामीले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङलाई सम्पर्क गर्यौं । प्रवक्ता तामाङले २०७९ असार मसान्तसम्मकाे प्रतिवेदन अनुसार पहिचान भएका १४३ मध्ये अझै एक ठाउँमा तुइन विस्थापन हुन बाँकी रहेकाे बताए ।
त्यसैगरी २०७९ भदाै ५ गते गाेरखापत्रमा प्रकाशित समाचारमा पनि १४३ मध्ये १४२ तुइन विस्थापित भई झाेलुङ्गे पुल निर्माण भएकाे बताइएकाे छ । स्थानीय पूर्वाधार विभागलाई साभार गरिएकाे उक्त समाचार अनुसार बैतडीकाे पञ्चेश्वरघाटमा तुइनलाई विस्थापित गरी झाेलुङ्गे पुल निर्माण भएकाे छैन ।
नेकपा एमालकाे सरकारले तीन वर्षमा देशभरिका तुइन विस्थापित गरी झाेलुङ्गे पुल निर्माण गरेकाे भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेकाे दाबी गलत हाे । २०७२ असाेजमा पहिलाे पटक प्रधानमन्त्री बन्दा दुई वर्षभित्र देशभरिका तुइन विस्थापित गर्ने घाेषणा गरेका ओलीकाे दाेस्राे प्रधानमन्त्रीकालमा १४३ तुइनमध्ये १४ तुइन विस्थापित हुन बाँकी नै थिए ।
तुइन विस्थापित गर्ने घाेषणा भएकाे सात वर्ष बितिसक्दा पनि नेपाल तुइनमुक्त हुन सकेकाे छैन । २०७९ असार मसान्तसम्म १४२ तुइन विस्थापित भएकाे भन्ने सरकारी तथ्यांक छ । तर देशभरि सञ्चालनमा रहेका १९८ तुइनमध्ये १४३ तुइन मात्र विस्थापित गर्ने सरकारकाे याेजना छ । बाँकी ५५ स्थानका तुइन विस्थापनकाे विषय भने अगाडि बढ्न सकेकाे छैन ।
तसर्थ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे दाबी गलत छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
नेकपा एमालेकाे सरकारले तीन वर्षमा देशभरिका सबै तुइन विस्थापित गरी झाेलुङ्गे पुल निर्माण गरेकाे । | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली | गलत |