गगन थापाकाे पाँच वर्ष पुरानाे फाेटाे ताेडमाेड गरी सेयर गरियाे 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे चुनाव नजिकिँदै जाँदा दल र उम्मेदवारले प्रचारप्रसार तीव्र पारेका छन् । यसैबेला कैयाैँ भ्रामक र मिथ्या सूचना फैलाइएको छ। सामाजिक सञ्जालमा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं-४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापाले माओवादीकाे प्रचार सामग्री भएकाे पाेसाक लगाएकाे भन्दै एउटा फाेटाे व्यापक रूपमा सेयर गरिएको छ। 

फोटोमा थापासहित काठमाडाैँ क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना र अन्य दुई युवा देखिन्छन् । उनीहरूले लगाएकाे सेतो टी-सर्ट र कुर्थामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सो दलकाे चुनाव चिह्‍न हँसिया हथाैडाकाे तस्बिर देख्न सकिन्छ। गत कात्तिक ३ गते @BhimOli नामक ट्विटर प्रयाेगकर्ताले “जय नेपाल लाल चलाम” भन्दै साे फाेटाे सेयर गरेका थिए । त्यस्तै कात्तिक ५ गते नारायण खत्री नामक फेसबुक प्रयाेगकर्ताले “यिनलाई पनि देउवाले हली बनाए” भन्दै उक्त तस्बिर सेयर गरेका थिए । स्थानीय निर्वाचनमा समेत यही फोटो फैलिएको हामीले फेला पारेका छाैँ [स्क्रिनसट]।  

नेपाल चेकले उक्त फोटोको तथ्य जाँच गरेकाे छ।

हामीले फोटोमा देखिएको तथ्यका आधारमा दर्शना र थापा एकै कार्यक्रममा कहिले र कहाँ भाग लिएका थिए भनी खाेज्याैँ । सम्बन्धित शब्द राखी गुगलमा खोज्ने क्रममा ५ वर्षअघि थापाले आफैं फेसबुकमा सेयर गरेकाे फोटो फेला पर्‍यो। थापाले फोटोसँगै “विश्व यौन स्वास्थ्य दिवसको अवसरमा स्त्रीय फाउन्डेसनले आयोजना गरेको साइकल र्‍याली” भनी स्टाटससहित पाेस्ट गरेका रहेछन्। उक्त फाेटोमा छेउमा उभिएका २ जनाको टी-सर्टमा स्त्रीय फाउन्डेसनको लोगोसमेत देख्न सकिन्छ। 

दर्शना र थापा सो कार्यक्रममा उपस्थित भएको पुष्टि फाउन्डेसनको फेसबुक पेजमा रहेको फोटोले समेत गर्दछ। 

निर्वाचनका सन्दर्भमा फैलिएको फोटोमा नेपाली कांग्रेसका उम्मेदवार थापाले लगाएकाे कुर्थामा नेकपा मा‌ओवादीकाे प्रचार सामग्रीलाई कम्प्युटरमार्फत ताेडमाेड गरी सेयर गरिएकाे पाइएकाे छ । ५ वर्ष पुरानो फोटोलाई केही परिवर्तन गरी सामाजिक सञ्जालमा फैलाइएकले यसलाई नेपाल चेकले भ्रामक ठहर गरेकाे छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
गगन थापा र रञ्जु दर्शनाले माओवादी पार्टीको प्रचार सामग्री भएकाे पाेसाकमा चुनाव प्रचार गरेको
सामाजिक सञ्जाल प्रयोगकर्ता
भ्रामक
गगन थापा माओवादीकाे प्रचार सामग्री भएकाे पाेसाक लगाई चुनाव प्रचार गरेकाे भनी सामाजिक सञ्जाल प्रयाेगकर्ताले गरेकाे दाबीमाथि तथ्यजाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।