
नेकपा एमालेका नेता भीम रावललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिताउन आह्वान गरिएकाे भिडियाे अहिले टिकटकमा सेयर भएकाे छ । “lokendrasaud4” नामक टिकटक प्रयाेगकर्ताले उक्त भिडियाे सेयर गर्दै लेखेका छन्, “प्रतिनिधिसभाको चुनाव २०७९/मङ्सिर ४ गते हुन गैरहेको अछाम क्षेत्र नं. १ का उम्मेदवार जननेता राष्ट्रवादी लोकप्रिय नेता डा. भीम रावललाई सूर्य चिह्नमा छाप लगाई अत्यधिक अत्यधिक मतले विजयी गराऊँ ।”
गत भदाै १९ गते टिकटकमा राखिएकाे २७ सेकेन्डकाे उक्त भिडियाेमा सात हजारभन्दा बढी लाइक तथा ५७ कमेन्ट गरिएकाे छ भने ४९ पटक सेयर गरिएकाे छ ।
तथ्य जाँच
अछाम क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्दै आइरहेका भीम रावललाई यसपालिकाे निर्वाचनमा भने नेकपा एमालेले टिकट दिएकाे छैन । अछाम १ मा एमालेका तर्फबाट झपट बाेहरा उम्मेदवार छन् ।
स्थानीय स्तरबाट रावललाई उम्मेदवारका लागि सिफारिस गरिएकाे भए पनि नेकपा एमालेले उनलाई टिकट दिएकाे थिएन । निर्वाचनमा आफूलाई पार्टीले उम्मेदवार नबनाएपछि रावलले आफूलाई “षड्यन्त्रपूर्वक टिकट नदिइएकाे” भन्दै सार्वजनिक रूपमा पार्टी नेतृत्वकाे आलाेचना गर्दै आइरहेका छन् ।
भीम रावललाई टिकट नदिएर झपट बाेहरालाई टिकट दिने निर्णय असाेज २१ मा सार्वजनिक भएकाे थियाे । भिडियाे भदाै १९ मा टिकटकमा हालिएकाे भए पनि अहिले पनि सेयर भएकाे हुँदा यसले मतदातामा भ्रम सिर्जना हुने देखिन्छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
एमाले नेता भीम रावललाई अछाम क्षेत्र नं. १ बाट जिताउन आह्वान | टिकटक प्रयोगकर्ता | भ्रामक |