
आम निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरु मत तान्ने होडबाजीमा छन्। यसैक्रमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक भाषणका क्रममा एकजना उम्मेदवारका विषयमा गलत सूचना दिएका छन्।
गत कात्तिक २४ गते झापाको सुरुङ्गामा भएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले झण्डै एक घण्टा बढी भाषण गरेका थिए। स्थानीय उम्मेदवारका लागि भोट माग्ने क्रममा ओलीले विभिन्न दाबीहरु गरेका थिए। भाषणका क्रममा ओलीले भनेका थिए:
मलाई कांग्रेसका भाउजुहरु देखेर माया लाग्छ । जिन्दगिभरी कांग्रेस भएर कुद्नु भो । समानुपातिकको लिस्टमा हेर्नुस् त, तपाईहरुकाे नाम छ? छैन। बाबुरामका छोरीको नाम छ, प्रचण्डका बुहारी त प्रसिद्ध नै हुनुहुन्छ, उहाँको प्रत्यक्षमै छ।
केपी शर्मा ओली
पूर्व प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई चुनावमा लडेकाे दाबी गरेका छन् । भिडियाे क्लिप हेर्नुहाेस् ।
नेपाल चेकले यो दाबीको तथ्यजाँच गरेको छ।
निर्वाचन आयाेगका अनुसार मानुषी यमी भट्टराई (अस्मिता सिंह) काठमाडौं क्षेत्र नं ७ मा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रत्यक्ष उम्मेदवार छिन्। साथै समाचारहरुमा आएका विवरणले समेत याे कुराकाे पुष्टि गरेका छन् ।

माओवादीले नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेकाले त्यस क्षेत्रमा नेपाली कांग्रेसकाे उम्मेदवार छैन।
तसर्थ ओलीले यमी भट्टराई नेपाली कांग्रेसको समानुपातिकमा सिफारिस भएको उम्मेदवार हुन् भनी गरेकाे दाबी गलत हाे।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
मानुषी यमी भट्टराई नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार रहेको। | पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली | गलत |