
अहिले सामाजिक सञ्जाल टिकटकमा नेकपा एमालेका उपमहासचिव तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप ज्ञवालीले निर्वाचनका बेला जनताहरूलाई देखाएका सपना “भन्नका लागि मात्र हाे” भनेकाे भन्दै एउटा भिडियाे भाइरल भएकाे छ ।
१३ सेकेन्डकाे भिडियाेमा ज्ञवालीले भनेका छन्, “रामकृष्ण ढकालकाे गीत छ नि । तिम्रा लागि ज्यानै दिन्छु । तिम्रा लागि के गर्छु के गर्छु । लास्टमा भन्छ- यी सब त भन्ने कुरा न हुन् । चुनावका बेलामा त्यति नभन्ने हाे भने त केकाे प्रतिस्पर्धा भाे र ? जनतालाई केही त भन्नुपर्यो नि ।”
भिडियाेकाे अन्तिममा पत्रकार ऋषि धमला देखिन्छन् र भिडियाे सकिन्छ ।
‘@oshipdigital’ नामक टिकटक प्रयाेगकर्ताले २०७९ साल कात्तिक १७ गते उक्त भिडियाे सेयर गर्दै लेखेका थिए, “यी सब भन्ने कुरा त हाे ।” १३ सेकेन्डकाे उक्त भिडियाे दुई लाख साठी हजारभन्दा बढी पटक हेरिएकाे छ भने १४ हजारभन्दा बढी लाइक गरिएकाे छ ।
त्यही भाइरल भिडियाे ट्विटरमा पनि सेयर गरिएकाे छ । १८ हजारभन्दा बढी फलाेअर्स भएका ‘@chghimire’ नामक ट्विटर प्रयाेगकर्ताले कात्तिक २० गते साेही भिडियाे सेयर गर्दै लेखेका छन्, “शालीन दाजु भन्नुहुन्छ, चुनावमा केही त भन्नैपर्छ, भ्रम त छर्नैपर्छ !!!” उनकाे साे ट्विटलाई ५१ पटक रिट्विट गरिएकाे छ भने आठ हजारभन्दा बढी पटक हेरिएकाे छ ।
के प्रदीप ज्ञवालीले चुनाव जित्नका लागि जनतालाई भ्रम छर्नैपर्छ भनेर भनेका हुन् त ? नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।
तथ्य जाँच
तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले भाइरल भिडियाेकाे मूल संस्करण खाेज्याैं । त्यसका लागि भाइरल भिडियाेकाे अन्तिममा पत्रकार ऋषि धमला देखिएकाले हामीले युट्युबमा “प्रदीप ज्ञवाली ऋषि धमला” किवर्ड राखेर सर्च गर्यौं । त्यसले हामीलाई भाइरल भएकाे भिडियाेकाे मूल भिडियाेमा पुर्यायाे । उक्त भिडियाे क्लिप ज्ञवालीले गत कात्तिक १७ गते प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई दिएकाे अन्तर्वार्ताकाे हाे । साे अन्तर्वार्ता ४० मिनेट लामाे छ ।
अन्तर्वार्ताका क्रममा ज्ञवालीले आफ्नाे जिल्ला गुल्मीमा आफ्नाे पहलमा स्वास्थ्य, खानेपानी, सडक, पर्यटन लगायतका क्षेत्रमा विकास भएकाे दाबी गर्दै गुल्मीकाे विकासकाे नेतृत्व गर्ने माैका पाएकामा आफू गाैरवान्वित भएकाे बताएका छन् । त्यसपछि धमलाले ज्ञवालीका प्रतिस्पर्धी चन्द्र भण्डारी (ज्ञवाली र भण्डारी लामाे समयदेखि एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आइरहेका छन्) काे भनाइ भन्दै प्रतिप्रश्न गर्छन्, “तर, तपाईका प्रतिस्पर्धी चन्द्र भण्डारीकाे भनाइ के छ भन्दाखेरि – गुल्मी १ मा मैले जति काम कसैले गरेन । मैले धेरै विकास गरेँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सिँचाइ । उहाँले फेहरिस्त बताउनुभएकाे छ । तपाईंले के भन्नुहुन्छ ?”
याे प्रश्नकाे जवाफ दिने क्रममा ज्ञवालीले भण्डारी सांसद हुँदा एक मिटर बाटाे पनि पिच नभएकाे र एउटा पनि लिफ्ट खानेपानी याेजना गुल्मीमा नबनेकाे दाबी गरेका छन् । उनकाे दाबीप्रति धमलाले भण्डारीकाे भनाइ भन्दै प्रतिप्रश्न गर्छन्, “उहाँकाे भनाइ छ- खानेपानी त मेराे कारणले आएकाे हाे । सुशील काेइराला प्रधानमन्त्री भएकाे बेलामा आएकाे हाे ।”
त्यही प्रश्नकाे जवाफ दिने क्रममा ज्ञवालीले भनेका छन् :
यी सबै कुराहरू भन्ने कुराहरू हुन् । रामकृष्ण ढकालकाे गीत छ नि, तिम्रा लागि ज्यानै दिन्छु, तिम्रा लागि के गर्छु के गर्छु । लास्टमा भन्छ- यी सब त भन्ने कुरा न हुन् । चुनावका बेलामा त्यति नभन्ने हाे भने त के काे प्रतिस्पर्धा भाे र ? जनतालाई केही त भन्नुपर्यो नि । तर तथ्यहरू बाेल्छन् हाेला नि त । बजेट कसले निकासा गर्याे ? टेन्डर कसले गर्याे ? त्यहाँ पहल कसले गर्याे ?
प्रदीप ज्ञवाली
भाइरल भिडियाेमा दाबी गरिएजस्ताे ज्ञवालीले निर्वाचनका बेला जनतालाई भ्रम छर्नुपर्छ भनेका छैनन् । ज्ञवालीले आफ्ना प्रतिस्पर्धी उम्मेदवारले गरेकाे दाबीकाे खण्डन गर्ने क्रममा प्रतिस्पर्धीतर्फ लक्षित गरी आलंकारिक रूपमा बाेलेकाे विषयकाे प्रसंग हटाएर सानाे अंश काटी सामाजिक सञ्जालमा सेयर गरिएकाे छ । अन्तर्वार्ताकाे सन्दर्भ लुकाएर निर्वाचनका बेला भ्रम सिर्जना गर्न खाेजिएकाे नेपाल चेककाे निष्कर्ष छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
नेकपा एमालेका उपमहासचिव तथा गुल्मी जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधधिसभा सदस्य उम्मेदवार प्रदीप ज्ञवालीले निर्वाचनका बेला जनतालाई झूटाे आश्वासन दिनुपर्छ भनेकाे । | सामाजिक सञ्जाल प्रयोगकर्ता | भ्रामक |