नेपाली कांग्रेसको गोप्य सर्कुलरको हवाला दिँदै माओवादीका उम्मेदवारलाई भोट नदिनू भन्ने भाइरल स्क्रिनसटकाे वास्तविकता यस्ताे छ

मंसिर ३ गते दिउँसाे सत्तारूढ नेपाली कांग्रेसको गोप्य सर्कुलर भन्दै सामाजिक सञ्जालमा नाम चलेका अनलाइनमा प्रकाशित समाचार भन्दै त्यसका स्क्रिनसटहरू एकाएक भाइरल भए । सेतोपाटी, अनलाइन खबर, उज्यालो खबर र नयाँ पत्रिकामा प्रकाशित भन्दै सेयर गरिएका स्क्रिनसटहरूमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षबाहेक अन्य माओवादी उम्मेदवारहरूलाई भोट नहाल्न निर्देशन दिइएको दाबी गरिएको थियो । मंसिर ४ गते भइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूको निर्वाचनमा नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) लगायत दलहरूसँग गठबन्धन गरेको छ । निर्वाचनको एक दिनअघि तथा मौन समय लागू भइसकेपछि आएका यी ‘समाचार’ सबैको चासोको विषय बनेका थिए । 

नेपाल चेकले यी सामग्री कसरी फैलिए र यसको वास्तविकता के हो भनेर तथ्य जाँच गरेको छ । 

मंसिर ३ गते दिउँसाे आशिष साउद नामक फेसबुक प्रयाेगकर्ताले “सम्पूर्ण नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई नेपाली कांग्रेस केन्द्रीय समिति निर्देशन गर्दछ :  माओवादीका उम्मेदवारहरूलाई भोट नदिनुहोला यो कांग्रेसको गोप्य सर्कुलर हो” भन्दै  एउटा फेसबुक पोस्ट लेखेका छन् । त्यसको लगत्तै उनले “माओवादीलाई  “No Vote नेपाली कांग्रेस केन्द्रीय समिति”, भन्दै नयाँ पत्रिकाको मास्टहेडसहितको कमलराज भट्टले लेखेको दाबी गरिएको समाचारको स्क्रिनसट सेयर गरे ।  

केही समयपछि उनले आफ्नो फेसबुकमा तेस्रो पोस्ट गरे । उनले “नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई देशैभरिका माओवादी केन्द्रका उम्मेदवारहरूलाई भोट नदिन नेपाली कांग्रेस केन्द्रीय समिति निर्देशन गर्दछ, माओवादीलाई No Vote, Vote for Sun” भन्दै सेतोपाटी, उज्यालो खबर र नयाँ पत्रिकामा प्रकाशित भनिएका समाचारका स्क्रिनसट सेयर गरे । उनले आफ्नो फेसबुकमा आफू नेकपा एमालेको राजनीतिकर्मी भएको बताएका छन् । 

करिब एकै समयमा उक्त समाचार सुवास विश्वकर्माले आफ्नो फेसबुकमा, “कठै गठबन्धन, दले हुन्छ चन्दन” भन्दै  सेतोपाटी र अनलाइनखबरमा प्रकाशित समाचार भन्दै स्क्रिनसट सेयर गरे । उनले आफ्ना आठ जना आफ्ना साथीहरूलाई समेत उक्त पोस्ट ट्याग गरेको देखिन्छ । अनलाइन खबरमा प्रकाशित भनिएको समाचारको शीर्षक “देउवालाई प्रचण्डको फोन — माओवादीलाई सहयोग नगर्ने कांग्रेसको सर्कुलरप्रति माओवादी सशंकित” रहेको छ भने सेतोपाटीमा प्रकाशित भनी दाबी गरिएको समाचारको स्क्रिनसटको शीर्षक “प्रचण्डबाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर” रहेको छ । विश्वकर्माले आफ्नो फेसबुकमा सचिव, नेकपा एमाले बेनी नगर कमिटी तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम् इन्चार्ज, अनेरास्ववियु, म्याग्दी उल्लेख गरेका छन् । 

साउद र विश्वकर्माले उक्त समाचारहरूको स्क्रिनसट सेयर गरेको केही समयपछि नेकपा एमालेसँग सम्बद्ध प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफ्नो फेसबुकमा सेतोपाटीमा प्रकाशित समाचार भन्दै स्क्रिनसटसहित यस्ताे स्टाटस सेयर गरे, “प्रचण्डबाहेकका माओवादीका अन्य उम्मेदवारलाई भोट नहाल्न कांग्रेसको निर्देशन भन्ने समाचार सही हो कि के हो ?” यो सामग्री तयार पार्दासम्म उनको उक्त पोस्ट २६ जनाले सेयर गरेका छन् । उनको पोस्टलाई लिएर आलोचना हुँदा पनि उनले आफ्नो पोस्ट हटाएका छैनन् । 

तथ्य जाँच

नेपाल चेकले यी भाइरल समाचारहरू सत्य हुन् कि हैनन् भनी पत्ता लगाउन सबैभन्दा पहिले उक्त समाचारको ‘डेटलाइन’ र लेखक काे हुन् भन्ने अध्ययन गर्‍यो । समाचार लेखिएको स्थान र मितिलाई पत्रकारिताको भाषामा डेटलाइन भनिन्छ र लेखकको नामलाई ‘बाइलाइन’ भनिन्छ । कतिपय समाचारमा लेखकको नामको सट्टा सम्बन्धित मिडियाको संवाददाता वा सहकर्मी भन्ने प्रचलन नेपाली मिडियामा रहेको छ । भाइरल स्क्रिनसटमा ‘समाचार’ मंसिर ३ गते काठमाडौंबाट प्रेषित भएको देखिन्छ ।

नयाँ पत्रिकामा प्रकाशित भएको भनिएको समाचारको शीर्षक “माओवादीका उम्मेदवारलाई भोट नदिन कांग्रेसको सर्कुलर आपत्तिजनक -प्रचण्ड” रहेको छ । उक्त समाचार कमलराज भट्टको बाइलाइनमा प्रकाशित भएको देखिन्छ । समाचारमा वेब लिंक सेयर नगरी स्क्रिसट मात्र सेयर गरिएकाले नयाँ पत्रिकाको वेबसाइट nayapatrikadaily.com मा गएर हेर्दा उक्त समाचार कहीँ पनि मंसिर ३ गते प्रकाशित भएको देखिँदैन । उक्त समाचारका लेखक दाबी गरिएका कमलराज भट्टले फेसबुकमा उक्त समाचार आफूले नलेखेको तथा नयाँ पत्रिकामा त्यस्तो कुनै समाचार प्रकाशित नभएको भन्दै खण्डन गरेका छन् । 

अनलाइन खबरमा प्रकाशित भनी सेयर गरिएको ‘समाचार’ को शीर्षक “देउवालाई प्रचण्डको फोन – माओवादीलाई सहयोग नगर्ने कांग्रेसको सर्कुलरप्रति माओवादी सशंकित” रहेको छ । अनलाइनखबरको आधिकारिक वेबसाइट onlinekhabar.com मा पनि मंसिर ३ गते त्यस्तो समाचार प्रकाशित भएको छैन । अनलाइन खबरमा राजनीतिक संवाददाता लीलु डुम्रेले उक्त समाचार अनलाइन खबरमा प्रकाशित नभएको फेसबुकमा जनाएका छन् । 

त्यस्तैगरी सेतोपाटीमा प्रकाशित भनेर सेयर गरिएको समाचारको स्क्रिनसटमा “प्रचण्डबाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर” भन्ने शीर्षक छ । निर्वाचन विशेष सामग्रीहरू अन्तर्गत प्रकाशित उक्त समाचार सेतोपाटी संवाददाताले लेखेको देखाइएको छ । नेपाल चेकले यो सामग्री तयार पार्दा सेतोपाटी अनलाइनको आधिकारिक वेबसाइट setopati.com मा गई निर्वाचन विशेष अन्तर्गत मंसिर ३ मा प्रकाशित सामग्रीहरू हेर्दा यो समाचार प्रकाशित भएको देखिएन । सेतोपाटीका राजनीतिक संवाददाता संजीव बगालेले गणेश बस्नेतले सेयर गरेको पोस्टमा आपत्ति जनाएकाले यो समाचार सेतोपाटीले प्रकाशित नगरेको पुष्टि हुन्छ । 

शनिबार उज्यालो अनलाइनमा प्रकाशित भनिएको समाचारको स्क्रिनसटसमेत सामाजिक सञ्जालमा भाइरल भएको थियो । “माओवादीले पाएका क्षेत्रमा अन्य अनुकूल उम्मेदवारलाई जिताउनू— कांग्रेस सर्कुलर (अडियोसहित)” शीर्षकको उक्त समाचार उज्यालो सहकर्मीले लेखेको देखाइएको छ । मंसिर ३ गते प्रकाशित भनिएको उक्त समाचार उज्यालो अनलाइनको आधिकारिक वेबसाइट ujyaaloonline.com मा देखिँदैन । यसले के पुष्टि गर्छ भने यो समाचार पनि आधिकारिक हैन । 

नयाँ पत्रिकाले आफ्नाे लगायतका सञ्चारमाध्यमकाे मास्टहेड दुरुपयाेग गरी भ्रम फैलाएकाे भनेर समाचार प्रकाशित गरेकाे छ । अनलाइनखबरउज्यालाे अनलाइनले पनि त्यस सम्बन्धी समाचार प्रकाशित गरेका छन् । 

कसरी बनाइन्छ नक्कली स्क्रिनसट ?

दुई तरिकाले नक्कली स्क्रिनसट बनाइन्छ । पहिलाे तरिका फाेटाे सम्पादन गर्ने एडाेबजस्ता सफ्टवेयर प्रयाेग गरेर । यसमा सम्बन्धित वेबसाइटकाे समाचारकाे स्क्रिनसट लिई त्यसलाई अनलाइन टुल वा सफ्टवेयरकाे मद्दतले ताेडमराेड गरिन्छ ।

दाेस्राे तरिकामा वेबसाइटकाे साेर्स काेड (html र css) प्रयाेग गरेर । तपाई‌ंकाे डेस्कटप वा ल्यापटपमा वेब ब्राउजरमा साइट वा समाचारकाे लिङ्क खाेलेर दायाँतिर क्लिक गर्नुपर्छ । त्यसाे गर्दा इन्स्पेक्ट अप्सन आउँछ । त्यसमा क्लिक गरेपछि एलिमेन्टमा  जानुपर्छ । त्यसमा गई टेक्स्ट, हेडलाइन, फाेटाे आदि बदल्न सकिन्छ । त्यसरी समाचारभित्रका सामग्री आफ्नाे अनुकूल आफ्नाे ब्राउजरमा बनाउन सकिन्छ र त्यसकाे स्क्रिनसट लिन सकिन्छ । तर यसाे गर्दा मुल वेबसाइटमा केही पनि परिवर्तन हुँदैन । आफ्नाे ब्राउजरमा मात्र त्याे सामग्री परिवर्तन भएकाे देखिन्छ ।

निष्कर्ष

मंसिर ४ को निर्वाचनका लागि १ गते मध्यरातिदेखि नै मौन अवधि प्रारम्भ भइसकेपछि यी सामग्री सामाजिक सञ्जालमा सेयर गरिएका थिए । माैन अवधिमा सञ्चारमाध्यमले कुनै पार्टी वा उम्मेदवारलाई फाइदा वा हानि पुग्ने खालका समाचार सम्प्रेषण गर्न पाउँदैनन् ।

त्यस्तै अनलाइनमा प्रकाशित समाचारका लिंकहरू सहज रूपमा उपलब्ध हुन्छन् । पाठकहरूलाई पढ्न पनि उक्त लिंकहरूले सहज बनाउँछन् । समाचारका लिंकहरू सेयर गर्नुको साटो स्क्रिनसट सेयर गर्नुले पनि ती नक्कली हुन् भन्ने अनुमान गर्न सकिन्छ । ती सामग्रीमा नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय सर्कुलरमार्फत पठाइएकाे भनिएको छ । दसैं, तिहार तथा निर्वाचन लगायतका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भदौ ५ गतेयता बसेको छैन ।  

यी तथ्यहरू केलाउँदा यी समाचार सेयर गर्ने व्यक्तिहरूले सम्बन्धित वेबसाइटका समाचारका स्क्रिनसट लिई सम्पादन गरी आफूले चाहेका समाचारहरू राखी भ्रम फैलाउने उद्देश्यका साथ नक्कली स्क्रिनसट सेयर गरेको देखिन्छ । तसर्थ यी सामग्री भ्रामक हुन् । 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
नेपाली कांग्रेसले गोप्य सर्कुलरमार्फत माओवादीका उम्मेदवारलाई भोट नदिन निर्देशन दिएकाे।
सामाजिक सञ्जाल प्रयोगकर्ताभ्रामक
नेपाली कांग्रेसले गोप्य सर्कुलर जारी गरी माओवादीका उम्मेदवारलाई भोट नदिन निर्देशन दिएकाे भन्दै विभिन्न अनलाइनले समाचार प्रकाशित गरेकाे भन्ने दाबीकाे तथ्य जाँचपछि नेपाल चेककाे निष्कर्ष