निर्वाचन २०७९ : यसरी बाँडिन्छ समानुपातिक सिट

Photo by Volker Meyer on Pexels.com

नेपालमा केही दिनअघि आम निर्वाचन सम्पन्न भयाे । पहिलाे हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फकाे अधिकांश क्षेत्रकाे नतिजा आइसकेकाे छ भने अहिले समानुपातिकतर्फकाे मतगणना भइरहेकाे छ । प्रतिनिधिसभाकाे समानुपातिकतर्फकाे ११० सिट र प्रदेशसभाकाे समानुपातिकतर्फकाे २२० सिट दलहरूले कसरी पाउँछन् भन्ने विषयमा चासाे बढेकाे छ । हामीले यसै विषयलाई यहाँ प्रस्ट पारेका छाैँ । 

के हाे समानुपातिक निर्वाचन ?

यस निर्वाचन प्रणालीमा उम्मेदवारलाई नभई दललाई भाेट दिइन्छ । प्रतिनिधिसभाकाे समानुपातिकतर्फकाे ११० सिटका लागि सिङ्गाे नेपाललाई एउटा निर्वाचन क्षेत्र मानिएकाे छ । त्यसैगरी प्रदेशसभाकाे समानुपातिक निर्वाचनका लागि प्रत्येक प्रदेशलाई छुट्टाछुट्टै गरी सातवटा निर्वाचन क्षेत्र मानिएकाे छ । प्रदेशसभाकाे समानुपातिकतर्फ सबै प्रदेशकाे गरी जम्मा २२० सिट छ । राज्यकाे मूल प्रवाहमा नआएका जात, जाति, वर्ग, लिङ्ग, पिछडिएका समुदाय लगायतकाे प्रतिनिधित्व हाेस् भनेर याे निर्वाचन प्रणाली अपनाइएकाे हाे । 

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका राजनीतिक दलहरूले निर्वाचन हुनुअगावै ११० जनाकाे नाम निर्वाचन आयाेगलाई बुझाएका छन् । त्यस्तै प्रदेशसभाकाे समानुपातिकतर्फ भाग लिएका दलहरूले पनि यस्ताे सूची बुझाएका छन् । जसलाई बन्द सूची भनिन्छ । यसरी बन्द सूची बुझाउँदा सबै जात, जाति, वर्ग तथा समुदायकाे प्रतिनिधित्व हुने गरी समावेशी समानुपातिक सिद्धान्तका आधारमा दलहरूले उम्मेदवारकाे नाम समावेश गर्नुपर्छ । प्रतिनिधिसभाकाे समानुपातिक निर्वाचनमा भाग लिएका दलहरूमध्ये जस-जसले खसेकाे कुल सदर मतकाे कम्तीमा तीन प्रतिशतकाे थ्रेसहाेल्ड कटाउन सक्छन्, ती दलहरूलाई ११० सिट भाग लगाइन्छ । त्यसैगरी प्रदेशसभाकाे समानुपातिकतर्फ प्रदेशअनुसार खसेकाे कुल सदर मतकाे १.५ प्रतिशत थ्रेसहाेल्ड कटाउने दलहरूलाई प्रदेश अनुसारकाे समानुपातिक सिट संख्या भाग लगाइन्छ ।  

कुन प्रदेशमा कति समानुपातिक सिट संख्या छन् भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् । राष्ट्रिय दल हुन पूरा गर्नुपर्ने प्रावधान सम्बन्धी लेख पढ्नुहाेस् ।

कसरी लगाइन्छ भाग ?

सबैभन्दा पहिले कुल खसेकाे सदर मत कति आयाे र कुन दलले कति मत प्राप्त गरे, त्यसकाे निर्क्याेल गरिन्छ । त्यसपछि कुनकुन दलले कुल खसेकाे सदर मतकाे तीन प्रतिशत (प्रदेशसभातर्फ १.५ प्रतिशत) काे थ्रेसहाेल्ड कटाए, त्याे निकालिन्छ । त्यसपछि थ्रेसहाेल्ड नकटाएका दलहरूले प्राप्त गरेकाे मत कुल सदर मतबाट घटाइन्छ र बाँकी रहेकाे मत अनुसार समानुपातिककाे सिट संख्या भाग लगाइन्छ । 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतकाे सिट विभाजन गणितीय सूत्र सेन्ट लग मेथडका आधारमा विभाजन गरिएकाे थियाे । सामान्य रूपमा बुझ्दा याे सूत्र अनुसार जम्मा मतलाई जम्मा सिटले भाग गर्दा आएकाे भागफलले प्रत्येक दलले प्राप्त गरेकाे मतलाई भाग गरिन्छ । यसरी भाग गर्दा नतिजा दशमलवमा आयाे भने त्यसलाई शून्यान्तर गरेर सग्लाे अंक निकालिन्छ । 

मानाैँ, अहिले प्रतिनिधिसभाकाे समानुपातिकतर्फ ४८ दलले भाग लिएका छन् । तीमध्ये पाँच दलले तीन प्रतिशतकाे थ्रेसहाेल्ड कटाए भने बाँकी ४३ दलले प्राप्त गरेकाे मत कुल सदर मतबाट घटाइन्छ र बाँकी रहेकाे मतका आधारमा ११० सिट पाँच दलका लागि विभाजन गरिन्छ । 

यसलाई अझै प्रस्ट पार्न २०७४ सालमा प्रतिनिधिसभाकाे ११० सिट कसरी विभाजन गरिएकाे थियाे हेराैँ ।

निर्वाचन आयाेगले प्रकाशित गरेकाे निर्वाचन परिणाम पुस्तकका अनुसार २०७४ सालकाे आम निर्वाचनमा प्रतिनिधिसभातर्फकाे समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कुल ४९ राजनीतिक दलले भाग लिएका थिए । देशभर कुल खसेकाे सदर मत ९५ लाख ४४ हजार ७७९ थियाे । त्यतिबेला जम्मा पाँचवटा दलले मात्र तीन प्रतिशतकाे थ्रेसहाेल्ड अर्थात् दुई लाख ८६ हजार ३४३ मत कटाएका थिए । अन्य ४४ दलले प्राप्त गरेकाे जम्मा नाै लाख ९६ हजार ७२० मत घटाएर बाँकी रहेकाे ८५ लाख ४८ हजार ५९ मतकाे आधारमा पाँच दललाई ११० सिट विभाजन गरिएकाे थियाे ।  सबैभन्दा धेरै नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेकाे थियाे भने दाेस्राेमा नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेकाे थियाे । त्यसपछि क्रमश: नेकपा (माओवादी केन्द्र) ले १३ लाख तीन हजार ७२१, राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४ र संघीय समाजवादी फाेरमले चार लाख ७० हजार २०१ मत प्राप्त गरेका थिए । ती दलहरूले क्रमश: ४१, ४०, १७, ६ र ६ सिट प्राप्त गरेका थिए । 

  • जम्मा सदर मत : ९५ लाख ४४ हजार ७७९ 
  • तीन प्रतिशत थ्रेसहाेल्ड बराबर हुन आउने मत : दुई लाख ८६ हजार ३४३
  • थ्रेसहाेल्ड नकटाएका दलहरूले प्राप्त गरेकाे जम्मा मत : नाै लाख ९६ हजार ७२०
  • थ्रेसहाेल्ड नकटाएका दलहरूले प्राप्त गरेकाे मत घटाउँदा आएकाे जम्मा मत : ८५ लाख ४८ हजार ५९

२०७४ मा सिट कसरी विभाजन गरियाे ?

थ्रेसहाेल्ड कटाएका दलहरूले प्राप्त गरेकाे जम्मा ८५ लाख ४८ हजार ५९ लाई ११० ले भाग गर्दा त्यसकाे भागफल ७७ हजार ७०९. ६३ हुन आउँछ । अब याे भागफलले राजनीतिक दलले प्राप्त गरेका मतलाई छुट्टाछुट्टै भाग गरिन्छ । जस्तै नेकपा एमालेले ल्याएकाे ३१ लाख ७३ हजार ४९४ मतलाई ७७ हजार ७०९.६३ ले भाग गर्दा ४०.८३ हुन आउँछ । जसलाई शून्यान्तर गर्दा ४१ हुन्छ । त्यसैगरी, नेपाली कांग्रेसले ल्याएकाे ३१ लाख २८ हजार ३८९ मतलाई ७७ हजार ७०९.६३ ले भाग गर्दा ४०.२६ हुन आउँछ जसलाई शून्यान्तर गर्दा ४० हुन्छ । यसैगरी अन्य दलकाे सिट अर्थात् माओवादी केन्द्रकाे १७ र राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फाेरमकाे ६/६ सिट निर्धारण गरिएकाे थियाे । 

यसपालि के छ अवस्था ?

यसपालिकाे निर्वाचनमा कुल मतदाता १७९८८५७० रहेकामा ६१ प्रतिशत मतदान भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । याे भनेकाे एक कराेड नाै लाख ७३ हजार हाे । यसपालि सरदर तीन प्रतिशत मत बदर हुने अनुमान गरिएकाे छ । त्यसाे हुँदा कुल खसेकाे सदर मत करिब एक कराेड छ लाख ४४ हजार हुन आउँछ र तीन प्रतिशतकाे थ्रेसहाेल्ड करिब तीन लाख २० हजार हुन आउँछ । हालसम्म करिब ८५ लाख मतगणना हुँदासम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन प्रतिशतकाे अनुमानित थ्रेसहाेल्ड कटाइसकेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी थ्रेस हाेल्डकाे नजिक छ भने नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अनुमानित थ्रेसहाेल्ड कटाउनका लागि संघर्षरत छन् । यसपालि घटीमा पाँच दल र बढीमा सात दल मात्र राष्ट्रिय दल हुने देखिएकाे छ । समानुपातिकतर्फकाे ११० सिट थ्रेसहाेल्ड कटाउने दलहरूका लागि मात्र विभाजन गरिन्छ ।

२०७९ सालकाे आम निर्वाचनमा समानुपातिकतर्फकाे करिब ८० प्रतिशत मतगणना सम्पन्न भइसकेकाे छ । २०७४ सालकाे तुलनामा यसपालि प्रतिनिधिसभाकाे समानुपातिकतर्फकाे सिट प्राप्त गर्न करिब ४५ हजार बढी मत आवश्यक पर्ने देखिएकाे छ । ०७४ काे तुलनामा यसपालि ठूला भनिएका दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) काे समानुपातिक सिट संख्या करिब आठदेखि दस प्रतिशतले घट्ने देखिएकाे छ । 

०७४ सालमा ६/६ सिट प्राप्त गरेका संघीय समाजवादी फाेरम र राष्ट्रिय जनता पार्टीबाट विभिन्न चरणमा एकता र विभाजन हुँदै बनेका जनता समाजवादी पार्टी र लाेकतान्त्रीक समाजवादी पार्टीकाे स्थान राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले लिने देखिएकाे छ ।