निर्वाचन २०७९ : नवाेदित तीन दल सम्बन्धी जान्नैपर्ने तथ्यहरू

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमार्फत नेपालको राजनीतिमा नयाँ शक्ति उदाएका छन् । चुनाव हुनुभन्दा झन्डै पाँच महिनाअघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी संसद्‌मा चौथो ठूलो राजनीतिक शक्तिको रूपमा स्थापित हुँदै छ । त्यस्तै गरी पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ । कैलालीमा मात्रै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत तीन सिट जितेको उक्त पार्टीले बर्दिया २ बाट विजयी स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको थियो । पूर्वी मधेसको सप्तरी जिल्लामा जनमत पार्टीले पनि एक सिट जितेको छ । सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभातर्फ उम्मेदवारी दिएन । तर जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा निर्वाचनमा पनि राम्रो उपस्थिति देखिएको छ । 

आखिर के छन् त यी तीन नयाँ दलका सबल पक्षहरू, नीति, मुख्य आधारक्षेत्र र तिनका नेतृत्वमा रहेका व्यक्तिहरू जसले गर्दा यी पार्टीहरू स्थापनाको छाेटाे समयमै राष्ट्रिय राजनीतिमा उदाए ? यस सम्बन्धी नेपाल चेकले यो जानकारीमूलक सामग्री तयार पारेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी

घण्टी चुनाव चिन्हमार्फत चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाकाे पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत ७ सिटमा विजय हासिल गरेको छ भने मतगणना जारी रहँदा समानुपातिकतर्फ चौथो ठूलो दलको रूपमा आफूलाई स्थापित गर्ने देखिन्छ । पार्टी सभापति रवि लामिछानेले आफ्नो पार्टीको उद्देश्य व्यवस्था नभई अवस्था मात्रै परिवर्तन गर्नुभएको बताएका छन् । हालैकाे चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको आधार क्षेत्र काठमाडौं उपत्यका, चितवन, गोरखा, रूपन्देही, सुनसरी लगायत अधिकांश सहरी क्षेत्र देखिएको छ । नयाँ पुस्ताका युवा मतदाता तथा मूलधारका पार्टीदेखि असन्तुष्ट मानिसहरूको यो पार्टीप्रति आकर्षण देखिएको छ । पार्टीगत राजनीतिमा अनुभव नभएका व्यक्तिलाई चुनावमा उठाउँदा पनि यो पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा बलियो उपस्थिति देखाउन सफल भएको छ । 

उद्देश्य तथा नीति कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उद्देश्य तथा नीति कार्यक्रम २५ बुँदामा सार्वजनिक गरेको छ । यस अन्तर्गत भ्रष्टाचारशून्य देश, सुशासन र झन्झटरहित सार्वजनिक सेवा, सही ठाउँमा सही मान्छे, योग्यता र क्षमतालाई आधार, कर्मशीलतामा जोड, जनगुनासो र सुनुवाइको सुनिश्चितता गर्ने, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको प्रवर्द्धन गर्ने र विश्वभरिका नेपालीका लागि मताधिकारको व्यवस्था गर्ने उद्देश्य राखेको छ । त्यस्तै लोककल्याणकारी राज्य, सीमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षा, आत्मनिर्भर नेपाल र निर्यातमूलक अर्थतन्त्रको विकास गर्ने उद्देश्य पार्टीकाे छ । स्वदेशमै रोजगारीको सिर्जना, उद्यमशीलता प्रवर्द्धन र वैदेशिक राजगारीको व्यवस्थापन, शिक्षालाई प्रमुख प्राथमिकता, जनताको स्वास्थ्य, राष्ट्रको धन नारा अनुरूपका कार्यक्रमहरू प्रवर्द्धन र निर्यातमुखी कृषिको विकास गर्ने कार्य पनि आफ्नो लक्ष्यको रूपमा यो पार्टीले अगाडि ल्याएको छ ।  रोजगारीको आधारको रूपमा पर्यटनको विकास, वैकल्पिक ऊर्जाको प्रवर्द्धन, भौतिक पूर्वाधारको तीव्रतर विकास, सूचना प्रविधि,  सामाजिक सुरक्षा र न्याय र सनातन वैदिक संस्कृति र आध्यात्मिकताको प्रवर्द्धनलाई पनि यो पार्टीले आफ्नो उद्देश्य तथा नीति कार्यक्रममा समेटेको छ । 

त्यस्तैगरी असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने,  नेपाललाई विश्व शान्ति क्षेत्र घोषणा गर्न अन्तर्राष्ट्रिय समुदायमा प्रस्ताव राख्ने तथा संसारभर रहेका नेपालीहरूको विज्ञता नेपालको विकास र समृद्धिमा प्रयोग गर्न पहल गर्ने लगायत याेजना पार्टीले आफ्नो नीति कार्यक्रममार्फत घोषणा गरेको छ । रास्वपाले प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनावमार्फत चुनिनुपर्ने माग राखेको छ । आफ्नो पार्टीले भ्रातृ संगठन नबनाउने तथा पार्टीमा कोही पनि कार्यकर्ता नहुने जनाएको छ । पार्टीमा सबै सदस्य मात्र हुने र सदस्यले मत हाल्नेबाहेक पार्टीका लागि अन्य कुनै काम गर्नु नपर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ । यो पार्टीले आफ्ना हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नेसमेत घोषणा गरेको छ ।  

यो पार्टीमा को-काे छन् ?

लामो समय विद्युतीय माध्यममा पत्रकारिता गरेका रवि लामिछानेकाे नेतृत्वमा २०७९ साल असार ७ गते गठन राष्ट्रिय स्वतन्त्र पार्टीकाे स्थापना भएकाे हाे । उनको ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रम आम मानिसबीच अत्यन्त लोकप्रिय थियो । सन् २००७ देखि २०१७ सम्म अमेरिकामा बसी त्यहीँको नागरिकतासमेत लिएका लामिछानेले आफूले अमेरिकी नागरिकता त्याग गरी नेपाली नागरिकता लिएको दाबी गरेका छन् । तर उनले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेकाे र पुरानै नागरिकता प्रयाेग गरी उम्मेदवारी दिएकाे भन्दै उजुरी परेको छ । नेपालको कानुन अनुसार दोहोरो नागरिकता लिनु गैरकानुनी मानिन्छ । म‌ंसिर १६ गते यस विषयमा प्रहरीले छानबिन थालेकाे समाचारमा जनाइएकाे छ । 

नयाँ दल घोषणा गर्न राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल भइरहेका सबै पार्टीका नेतृत्वसँग कुरा गर्दा पनि कहीँकतै जोडिने सम्भावना नरहेकाले नयाँ दल खोलेको बताएका थिए । सुरुमा उनले काठमाडौंको एक क्षेत्रबाट चुनाव लड्ने बताए पनि पछि उनले चितवनमा आफ्नाे पार्टीकाे तर्फबाट उम्मेदवारी दिएका थिए । उनले त्यस्ताे निर्णय लिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाबाट चुनाव लड्ने घोषणा गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति २४ सदस्यीय रहेको छ । यो कार्यसमितिमा विभिन्न पेसा र व्यवसायमा लागेका व्यक्तिहरू छन् । उक्त कार्यसमितिमा लामिछाने सभापति छन् भने डोलप्रसाद अर्याल उपसभापति छन् । त्यस्तै गरी डा. मुकुल ढकाल महामन्त्री, कबिन्द्र बुर्लाकोटी सहमहामन्त्री र बसुमाया तामाङ कोषाध्यक्ष छन् । अर्याल पर्यटन व्यवसायी हुन् भने डा. ढकाल पेसाले चिकित्सक हुन् । उनीसँग अस्पताल व्यवस्थापन सम्बन्धी विज्ञता पनि छ । यस्तै युथ इनिसिएटिभ र आयोनजस्ता युवाका लागि काम गर्ने संस्थामा नेतृत्वदायी भूमिकामा रहिसकेका बुर्लाकोटी युवा अभियानकर्मी हुन् । एकल महिला तामाङ एक सफल महिला उद्यमी हुन् । उनले विभिन्न प्रकारका अचार लगायत खाद्य सामग्री उत्पादन गरी विदेशमा आपूर्ति गर्दै आएकी छन् । आफ्नो कार्यक्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरू समेटिएको पार्टीको केन्द्रीय समितिमा हाल १९ जना केन्द्रीय सदस्यहरू रहेका छन् । यो पार्टीको केन्द्रीय समितिमा रहेका व्यक्तिहरू कोही पनि राजनीतिक पृष्ठभूमिबाट आएका छैनन् । 

जनमत पार्टी

लाउड स्पिकर चुनाव चिन्हमार्फत चुनाव लडेको जनमत पार्टीले पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत प्रतिनिधिसभाको १ सिटमा विजय हासिल गरेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरीको निर्वाचन क्षेत्र २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनको नेतृत्वको पार्टीले समानुपातिकतर्फ पनि ३ लाख ९४ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।  याे पार्टीले पनि राष्ट्रिय दलको मान्यता पाएको छ । यो पार्टीको आधार क्षेत्र खास गरी पूर्वी तराईका जिल्ला हुन् । यद्यपि यो पार्टीको उपस्थिति भने मधेसका अधिकांश जिल्लामा देखिएको छ । 

उद्देश्य तथा नीति कार्यक्रम

जनमत पार्टीले जन सम्प्रभुता, लोकतन्त्र, सामाजिक न्याय र समाजवादलाई आफ्नो पार्टीको मुख्य उद्देश्य मानेकाे छ । यो पार्टीले देशलाई सामुदायिक स्वराजमा लैजाने घोषणा गरेको छ । यसरी सबै जनतालाई यो सरकार मेरो आफ्नै सरकार हो, मेरो आफ्नै शासन हो र यो कुनै अन्य समुदाय, नेता, पार्टी वा कर्मचारीको होइन भन्ने महसुस हुनेछ भन्ने मान्यता पार्टीले राखेको छ । जनमत पार्टीले जनताको शासन सुनिश्चित गर्ने, राइट टु रिकल संविधानमा राख्न पहल गर्ने, सामुदायिक आत्मनिर्णयको अधिकार स्थापित गर्ने, स्थानीय तहमा प्रत्यक्ष लोकतन्त्रको कार्यान्वयन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मधेसमा १० लाख रोजगारी सिर्जना गर्ने र सबै नागरिकलाई अनिवार्य रूपमा एकवर्षे व्यावसायिक तालिम प्रदान गर्ने आफ्ना कार्यक्रमहरूमा समेटेको छ । सामाजिक न्यायको स्थापना, वातावरण संरक्षण, दमन, शोषणको अन्त्यका साथै नेपाली राष्ट्रिय सेनामा ३० हजार मधेसीको सामूहिक प्रवेशका लागि समेत पहल गर्नेसमेत यो पार्टीले आफ्नो दस्तावेजमा उल्लेख गरेकोे छ । छुट्टै मधेस देशको मागसहित आन्दोलन चलाएको यो पार्टीले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने प्रतिबद्धतासहित रूपमा निर्वाचन आयोगमा दर्ता भएको हो । 

यो पार्टीमा को-काे छन् ?

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी जिल्लाको महादेवा गाउँमा जन्मेका हुन् । स्थानीय विद्यालयबाट माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका उनले आफ्नो उच्चशिक्षा त्रिभुवन विश्वविद्यालय (नेपाल), टोक्यो विश्वविद्यालय (जापान), क्याम्ब्रिज विश्वविद्यालय (बेलायत) बाट पूरा गरेका हुन् । क्याम्ब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गरेका उनी पेसाले इलेक्ट्रोनिक इन्जिनियर हुन् । उनीसँग रेथिअन (Raytheon) नामक अमेरिकी रक्षा मन्त्रालयको ठेकेदार कम्पनीमा काम गरेको समेत अनुभव रहेको छ । 

२०७९ साल जेठ ८ गते काठमाडौंमा आयोजित एक प्रेस कन्फरेन्समार्फत उनले स्वतन्त्र मधेस गठबन्धनको घोषणा गरेका थिए । उक्त गठबन्धनले आफ्नो उद्देश्य शान्तिपूर्ण र हिंसारहित आन्दोलनमार्फत स्वतन्त्र मधेसको स्थापना गर्नु रहेको घोषणापत्रमा उल्लेख गरेको थियो । देश विखण्डनको एजेन्डा अगाडि सारी स्वराज आन्दोलनका नाममा अभियान चलाएको आरोपमा सरकारले उनलाई २०७१ भदौ  २८ गते पक्राउ गरेको थियो । उनलाई सरकारले देशद्रोहको आरोप लगाएको थियो । पक्राउपछि आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै राउतले जेलमै भोक हडताल गरेका थिए । २०७१ साल असोज १५ गते तत्कालीन सरकारको अनुरोधमा उनले आफ्नो भोक हडताल भंग गरेका थिए । एमनेस्टी इन्टरनेसनल लगायत अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले उनको रिहाइको माग गरेका थिए । देश विखण्डनको पक्षमा भाषण गरेको आरोपमा राउतलाई पुनः २०७१ साल पुस १९ गते प्रहरीले पुनः पक्राउ गरेको थियो । केही समयपछि रिहा भई प्रहरी निगरानीमा रहेका राउतले २०७५ साल चैत ४ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गरी विखण्डनकारी आन्दोलन छोडेर जनमत पार्टी गठन गरेका थिए । उनले मधेस स्वराज, मधेसका इतिहास, वीर मधेसी, वैरागदेखि बचावसम्म (आत्मकथा) लगायत पुस्तकहरू पनि लेखेका छन् । 

पछिल्लो समय किसानलाई मल, बीउको व्यवस्था गरिनुपर्ने, उनीहरूलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने, किसानमाथि लगाइएका झूटा मुद्दा खारेज हुनुपर्ने र पक्राउ परेका किसानको रिहाइ गर्नुपर्ने लगायत माग राखी गरिएको  किसान आन्दोलनको नेतृत्वसमेत गरेकाे साे पार्टीमा केन्द्रीय समिति, जिल्ला समन्वय समिति र स्थानीय समितिका संरचना रहेका छन् । उक्त पार्टीको ५५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा मो. अब्दुल खान, वसन्तकुमार कुशवाहा, दीपककुमार साह, नरेन्द्र प्रसाव चौधरी र श्रीमती बबिता इसर रहेका छन् । त्यस्तै गरी महासचिव चन्दनकुमार सिंह, उपमहासचिव इन्द्रजित यादव र कोषाध्यक्ष. सुरेन्द्रनारायण यादव छन् । पार्टीमा ६ जना सचिव छन् : अनिताकुमारी मण्डल, अनितादेवी साह, भोपेन्द्रप्रसाद यादव, राधाकुमारी यादव, सञ्जयकुमार यादव र हेमलता रजक । डा. राउत आफैं पनि इन्जिनियर भएर हुन सक्छ, केन्द्रीय समितिमा इन्जिनियरहरूकाे बाहुल्य छ । जनमत पार्टीको काठमाडौं उपत्यका लगायत १८ वटा जिल्लामा आफ्नो जिल्ला कार्यसमिति रहेको छ । हाल आफ्नो पार्टी स्थानीय समिति विस्तारमा काम गर्दै गरेको पार्टीले बताएको छ । 

नागरिक उन्मुक्ति पार्टी

पश्चिम तराईका कैलाली, बाँके र बर्दियाका थारू बाहुल्य क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको नागरिक उन्मुक्ति पार्टी जनवरी २०२२ मा दर्ता भएको हो । पीँध भएको ढकिया चिन्हमा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भाग लिएको यो पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत ३ सिटमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ करिब २५०,००० मत प्राप्त गरेको छ । पार्टीका संस्थापक रेशमलाल चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेकी छन् भने चौधरीका बुबा लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टीको सहयोगमा स्वतन्त्र उम्मेदवारको रूपमा बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका छन् । यो पार्टीका अन्य दुई उम्मेदवारहरू अरुणकुमार चौधरी कैलाली २ बाट र गंगाराम चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

उद्देश्य तथा नीति कार्यक्रम

नागरिक उन्मुक्ति पार्टीले आफ्नोे मुख्य उद्देश्य स्वेच्छाचारी राजनीतिक सोच तथा वातावरणले धमिलिएको नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरातल स्थापना गर्नु हो भन्ने उल्लेख गरेको छ । आफ्नो पार्टीले दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरू बन्धक रहँदै आउनुपर्ने अवस्थाको अन्त्य गरी नयाँ पुस्तालाई राजनीतिक क्रान्तिभन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना गरेको बताएको छ । असल राजनीतिका लागि राजनीतिक पृष्ठभूमिभन्दा पनि इमानदारिता, प्रतिबद्धता, दूरदृष्टि तथा व्यवस्थापकीय र संगठन निर्माणको क्षमता महत्त्वपूर्ण हुने बताउँदै नागरिक उन्मुक्ति पार्टी हाल स्थापित पार्टीको राम्रो विकल्प बन्न सक्ने दाबी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो विधानमा संघीयता, समाजवाद, देशभक्ति र लोकतन्त्रलाई आफ्नो मूल सिद्धान्तको रूपमा अंगीकार गरेको छ । आफ्नो पार्टीको उद्देश्य संघीयता कार्यान्वयनमा जोड दिनु, हरेक नेपालीलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउनु, आरक्षित र संरक्षित अधिकार प्रदान गर्नु, बालबालिकालाई प्रारम्भदेखि नै  उद्देश्यसहितको शिक्षा नीति लागू गर्नु र हरेक पालिकास्तरमा स्वास्थ्य सेवासहितको ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्नु पनि रहेको विधानमा उल्लेख गरेको छ । 

यो पार्टीमा को-काे छन् ?

यो पार्टीका स्थापनाकर्ता २०७२ सालमा कैलालीको टीकापुरमा भएको हत्याकाण्डका मुख्य योजनाकार भनी अदालतले ठहर गरेका रेशमलाल चौधरी रहेका छन् । टीकापुर हत्याकाण्डमा एक जना एसएसपीसहित आठ जना प्रहरीलाई निर्ममतापूर्वक भाला रोपेर जिउँदै जलाइएको थियो भने एक जना दुई वर्षका बालकको गोली हानी हत्या गरिएको थियो । उक्त घटनाका मुख्य योजनाकार मानिएका चौधरी हाल आजीवन काराबास सजाय भोगिरहेका छन् । कैलाली जिल्ला अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको थियो । दिपायल उच्च अदालतले पनि उक्त फैसला सदर गरेपछि चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । 

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् भने उपाध्यक्षमा सुनिता चौधरी छन् । त्यस्तै गरी वरिष्ठ नेतामा योगेन्द्र घिसिङ, महासचिवमा रतन थापा,  प्रवक्तामा दामोदर पण्डित, संगठन विभाग प्रमुखमा लक्ष्मणकिशोर चौधरी रहेका छन् । कोमल ज्ञवाली कोषाध्यक्ष छन् भने प्रचारप्रसार समिति संयोजक प्रदीप चौधरी छन् । यो पार्टीमा २०१ जना केन्द्रीय सदस्यहरू छन् ।  

नागरिक उन्मुक्ति पार्टी चौधरी आफ्नै अध्यक्षतामा दर्ता गर्न चाहन्थे तर कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगले स्वीकृति नदिएपछि उनले उक्त पार्टी आफ्नी श्रीमती रञ्जिताको नाममा दर्ता गरेका थिए ।  चौधरी नागरिक उन्मुक्ति पार्टी गठन गर्नुअघि महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग आबद्ध थिए । कारागारमै रहेका चौधरीले २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन कैलालीबाट जितेका थिए । उनले २०७५ साल माघ ५ गते जेलमै तत्कालीन सभामुख कृष्णबहादुर महरामार्फत संघीय संसद् सदस्यको शपथ खाएका थिए । त्यतिबेला उनको मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन थियो । काराबासमा रहेका चौधरी यस पटक भने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेनन् ।