
गत मंसिर ४ मा भएकाे निर्वाचन निष्पक्ष नभएकाे भन्दै दाेलखाका १० मतदान केन्द्रमा पुन: मतदान गर्ने निर्वाचन आयाेगकाे निर्णय अनुसार मंसिर १५ गते पुन: मतदान भएकाे थियाे । त्यस दिन दाेलखामा भएकाे मतदान शान्तिपूर्ण भएकाे भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । पुन: मतदान भएकाे १० वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे समाचार इकान्तिपुरले प्रकाशित गर्यो । “सुरक्षा चुनौती रहेका प्रदेश १ (१) को बैत्यश्वर गाउँपालिका–६, ३ र २ नं. वडाको ८ वटा मतदान केन्द्र र तामाकोसी गाउँपालिका–२ जफेको हेल्थपोस्ट मतदानस्थलका २ वटा केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको हो,” इकान्तिपुरकाे समाचारमा भनिएकाे छ ।
त्यसैगरी नेपाल समयमा प्रकाशित समाचारमा पनि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयलाई उद्धृत गरी दाेलखाकाे पुन: मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकाे बताइएकाे छ ।
तर दाेलखाका १० मतदान केन्द्रमा भएकाे पुन: मतदानमा झडप भएकाे भनी केही भिडियाेहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । ‘lalkumar moktan’ नामक टिकटक प्रयाेगकर्ताले पुन: मतदानका क्रममा दाेलखाकाे वैत्यश्वर गाउँपालिका वडा नम्बर ३ तनावग्रस्त बनेकाे भन्दै भिडियाे सेयर गरेका छन् । त्यसैगरी लालु माेक्तान नामक फेसबुक प्रयाेगकर्ताले एमाले कार्यकर्ताले कांग्रेसकाे गाडी ताेडफाेड गरेकाे बदलामा गठबन्धनका कार्यकर्ताले एमाले उम्मदेवारकाे गाडी ताेडफाेड गरेकाे भन्दै साेही भिडियाे सेयर गरेका छन् ।
त्यस्तै ‘sunaulo online’ नामक फेसबुक पेजले पनि पुन: मतदानका क्रममा दाेलखाकाे वैत्यश्वर-३ तनावग्रस्त भएकाे भन्दै साेही भिडियाे सेयर गरेकाे छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियाेमा सुरक्षाकर्मी र एउटा समूहबीच झडप भएकाे देखिन्छ । भिडियाेमा “गाेली चलाउनू”, “हवाई फायर गर्नू”, “फायर गर्नु पर्दैन” आदि भनेकाे सुनिन्छ ।
तर माथि उल्लिखित समाचार माध्यमहरूमा पुन: मतदानका क्रममा भएका झडप सम्बन्धमा केही उल्लेख गरिएकाे छैन । सामाजिक सञ्जालमा भाइरल भएका भिडियाे र माथि उल्लिखित सञ्चारमाध्यममा प्रकाशित समाचार बाझिएपछि हामीले यसकाे तथ्य जाँच गरेका छाैँ ।
तथ्य जाँच
तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले गुगलमा “दाेलखा पुन: मतदान”, “दाेलखा पुन: मतदान झडप” लगायत किवर्ड राखेर सर्च गर्यौं । यसरी सर्च गर्दा हामीले भाइरल भिडियाेकै श्रव्यदृश्य रहेकाे भिडियाे देशसञ्चारले प्रकाशित गरेकाे भेट्याैँ । उक्त भिडियाेसँगै देशसञ्चारले लेखेकाे छ, “पुन: मतदानको क्रममा दोलखाको वैत्यश्वरमा बिहीबार झडप भएको छ ।”
त्यसैगरी साेही भिडियाे नेपाल प्रेसले ट्विटरमा सेयर गर्दै लेखेकाे छ, “पुनः मतदानमा पनि दोलखा वैत्यश्वर-३ मा तनाव,एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीमाथि दुर्व्यवहार ।”
त्यसैगरी साेही किवर्डले हामीलाई नयाँ पत्रिकामा प्रकाशित समाचारमा पुर्यायाे । उक्त समाचार अनुसार मतदानका क्रममा वैत्यश्वर-२, पुतलीकाठस्थित जनज्याेति माविमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुनुका साथै गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवारकाे गाडी ताेडफाेड भएकाे थियाे । त्यसैगरी मतदानकै क्रममा वैत्यश्वर-३ स्थित कालीढुंगा माविमा गठबन्धनका कार्यकर्ताले एमाले उम्मेदवारविरुद्ध नाराबाजी गरेकाे साे समाचारमा बताइएकाे छ । भाइरल भएकाे भिडियाेमा पनि एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकाेटी देखिन्छन् र उनीविरुद्ध नाराबाजी भएकाे सुनिन्छ । यसले भाइरल भएकाे भिडियाे वैत्यश्वर-३ कै भएकाे पुष्टि गर्छ ।
हामीले यस विषयमा बुझ्न भिडियाे खिचेका लालकुमार माेक्तानसँग पनि सम्पर्क गर्यौं । उनले त्याे भिडियाे मंसिर १५ गते बेलुका करिब ४: ३० देखि ५ बजेकाे बीचमा वैत्यश्वर गाउँपालिका वडा नम्बर ३, मजुवामा खिचेकाे बताए । त्याे झडप हुँदा मतदान अन्तिम चरणमा रहेकाे उनले बताए । उनका अनुसार एमालेका प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण शिवाकाेटी दिनभरजसाे कालीढुंगा मतदान केन्द्रमा बसेका थिए । मतदान सकिने बेलामा नेपाली कांग्रेसका उम्मदेवार आएपछि उनी मतदान केन्द्रबाट बाहिर निस्किने क्रममा मतदान केन्द्रभन्दा करिब ५० मिटर टाढा उनलाई गठबन्धनका कार्यकर्ताले राेकेर उनीविरुद्ध नाराबाजी गरेका थिए । साेही क्रममा सुरक्षाकर्मी र गठबन्धनका कार्यकर्ताबीच झडपकाे स्थिति सिर्जना भएकाे थियाे ।
उनले भने, “गठबन्धनबाट नेपाली कांग्रेसका प्रदेशसभा कका उम्मेदवार कुन्दन काफ्लेकाे गाडीमा जनज्याेति मतदान केन्द्रकाे २० देखि ५० मिटरकाे आसपासमा करिब दिउँसाे २ बजे ढुंगामुढा भएकाे थियाे । म आफैं त्यसकाे प्रत्यक्षदर्शी हुँ । त्यसकाे प्रतिकार स्वरूप गठबन्धनका कार्यकर्ताले एमाले उम्मेदवार बालकृष्ण शिवाकाेटीविरुद्ध नाराबाजी गरेका थिए । भिडियाेमा गाेली त नहान भनेकाे पनि सुनिन्छ । त्याे आवाज पनि मेरै हाे । एमाले उम्मदेवारलाई गठबन्धनका कार्यकर्ताले अगाडि बढ्न नदिएपछि गठबन्धनका कार्यकर्तालाई सुरक्षाकर्मीले राेक्ने क्रममा झडप भएकाे हाे ।” एमाले उम्मेदवार शिवाकाेटीलाई गठबन्धनका कार्यकर्ताले करिब दुई घण्टा घेरा हालेका थिए । मतदान केन्द्रमा सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति भएकाले घटनाका कारण मतदान भने प्रभावित नभएकाे उनले बताए ।
दाेलखाका १० केन्द्रमा भएकाे पुन: मतदानका क्रममा केही मतदान केन्द्र नजिक झडप भएकाे थियाे । झडपका कारण मतदान प्रभावित नभए पनि केही स्थानमा झडप भएकाले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे भन्न नमिल्ने नेपाल चेककाे ठहर छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
दाेलखाका १० वटा मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे । | सञ्चारमाध्यम | अर्ध सत्य |