के आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बनेकी हुन् ?

नेपाली का‌ङ्ग्रेसकी नेता आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बनेकाे भनी सामाजिक सञ्जालमा सेयर गरिएकाे पाेस्टकाे काेलाज*

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बनेकाे भन्दै अहिले विभिन्न पाेस्टहरू सामाजिक सञ्जालमा भाइरल छन् । ‘aashajoshi16’ नामक टिकटक प्रयाेगकर्ताले म‌‌ङ्सिर २५ गते आरजु राणा देउवाकाे फाेटाेसहितकाे एउटा स्क्रिनसट राखेर बनाइएकाे भिडियाे अपलाेड गरेका छन् । भिडियाेसँगैकाे सामग्रीमा भनिएकाे छ, “उहाँ जति पिछडिएकाे अरू काेही हुनुहुन्छ ? लाजनीति । उहाँ पिछडिएकाे काेटामा समानुपातिक सांसदमा परी बक्सनुभएकाे अरे ।” उक्त भिडियाे १६ हजारभन्दा बढी पटक हेरिएकाे छ । त्यसैगरी ‘realarjun1’ नामक ट्विटर ह्याण्डलबाट पनि आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बनेकाे दाबीसहित पुस ३ गते शेरबहादुर देउवा र आरजुकाे फाेटाे पाेस्ट गरिएकाे छ । साे सामग्री १६ हजारभन्दा बढी पटक हेरिएकाे छ  भने  ४१ पटक रिट्विट गरिएकाे छ । त्यसैगरी ‘notagainnepal’ नामक ट्विटर ह्याण्डलबाट पनि साे दाबी तस्बिरसहित ट्विट गरिएकाे छ । अन्य ट्विटर प्रयाेगकर्ताले पनि साे दाबी सेयर गरेका छन् । 

के साँच्चै आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बनेकी हुन्? नेपाल चेकले तथ्य जाँच गरेकाे छ । 

तथ्य जाँच 

समानुपातिक निर्वाचनमा आफ्ना उम्मेदवार निर्वाचित गराउन दलहरूले निर्वाचन अगावै बन्द सूची पेस गर्नुपर्ने हुन्छ । बन्द सूची पेस गर्दा खस-आर्य, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम र मधेसी गरी छवटा समावेशी समूह अन्तर्गत कम्तीमा पचास प्रतिशत महिला हुनेगरी कुन समूहबाट कसकाे नाम राखिएकाे हाे भन्ने खुलाउनु पर्छ । यसका साथै कुनै उम्मेदवारकाे नाम पिछडिएकाे क्षेत्र, अपाङ्गता भएकाे वा अल्पसंख्यक समुदायबाट सिफारिस भएकाे हाे भने त्यसलाई “थप पहिचान” अन्तर्गत खुलाउनुपर्छ । 

समानुपातिक सांसदका लागि निर्वाचन अघि नै बन्द सूची बुझाइने र त्यसमा कुन समावेशी क्लस्टरबाट, कसकाे नाम राखिएकाे भन्ने विवरण सार्वजनिक गरिन्छ । त्यसैले हामीले सबैभन्दा पहिला दलहरूले निर्वाचन आयाेगमा बुझाएकाे बन्द सूची हेर्‍यौं । कांग्रेसले बुझाएकाे बन्द सूचीमा आरजु राणा देउवाकाे नाम खस-आर्य समावेशी समूहकाे महिलातर्फ तेस्राे प्राथमिकतामा थियाे । त्यसपछि हामीले निर्वाचन आयाेगले जारी गरेकाे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसहरूकाे सूची हेर्‍यौं  । आयाेगले जारी गरेकाे विवरणमा पनि कांग्रेसबाट निर्वाचित सांसदहरूकाे सूचीमा उनकाे नाम खस-आर्य महिला अन्तर्गत छ । 

कांग्रेसले खस-आर्य समावेशी समूहकाे महिलातर्फ पिछडिएकाे क्षेत्रबाट कान्तिका सेजुवाल (जुम्ला, खस-आर्य महिलातर्फ पिछडिएकाे क्षेत्र अन्तर्गतकाे प्राथमिकता क्रम १), मैना रावल कार्की (जाजरकाेट, खस-आर्य महिलातर्फ पिछडिएकाे क्षेत्र अन्तर्गतकाे प्रथमिकता क्रम २), र भावनाकुमारी शाही (कालीकाेट, खस-आर्य महिलातर्फ पिछडिएकाे क्षेत्र अन्तर्गतकाे प्राथमिकता क्रम ३) गरी जम्मा तीन जनाकाे नाम बन्द सूचीमा राखेकाे थियाे । उनीहरूमध्ये सेजुवाल र कार्की कांग्रेसबाट निर्वाचित भएका थिए । 

हामीले यस सम्बन्धमा बुझ्न निर्वाचन आयाेगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेसँग पनि सम्पर्क गर्‍यौं । वाग्लेका अनुसार पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बन्नका लागि पिछडिएकाे क्षेत्र भनेर खुलाउनुपर्ने हुन्छ । त्यसरी मात्रै यथार्थमा पिछडिएकाे क्षेत्रबाट प्रतिनिधित्व हुन्छ । “पिछडिएकाे क्षेत्रबाट निर्वाचित भन्नका लागि बन्द सूचीमा थप पहिचान पिछडिएकाे क्षेत्र भनेर खुलेकाे हुनुपर्‍यो । यदि त्याे खुलेकाे छैन भने पिछडिएकाे क्षेत्रबाट सांसद बनेकाे भन्न मिल्दैन,” वाग्लेले भने, “अर्काे कुरा डडेल्धुरा पिछडिएकाे क्षेत्रमा पर्दैन ।” 

दलका नेताहरूले कतिपय अवस्थामा नातेदार वा स्वार्थ जाेडिएकालाई समानुपातिक सा‌ंसद बनाउँदा जसकाे प्रतिनिधित्व हुनुपर्ने हाे, उसकाे प्रतिनिधित्व हुन नसकेकाे भनी राजनीतिक दलकाे आलाेचना भएकाे छ । आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट सांसद बनेकाे भन्ने दाबी गलत रहेकाे नेपाल चेककाे ठहर छ । समानुपातिक प्रतिनिधित्वकाे हिसाबले उनले खस-आर्य महिलाकाे मात्र प्रतिनिधित्व गरेकी छन् । 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बनेकाे।सामाजिक सञ्जाल प्रयोगकर्तागलत
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पिछडिएकाे क्षेत्रबाट समानुपातिक सांसद बनेकाे भन्ने सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष । 

*यस अघि प्रकाशित काेलाजमा भुलवश अर्कै तस्बिर प्रकाशित भएकाेमा सच्याइएकाे छ ।