काेभिडका कारण विद्यालय बन्द हुने भन्दै टिकटकमा फैलिएकाे भिडियाे भ्रामक

टिकटकमा भाइरल पाेस्टकाे स्क्रिनसट

छिमेकी मुलुकहरूमा काेभिडकाे नयाँ भेरियन्ट देखा परेपछि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत पुस ७ गते एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

यसै सन्दर्भमा @tis_me_prashant25 नामक टिकटक प्रयाेगकर्ताले गत पुस १२ गते एउटा भिडियो क्लिप पोस्ट गर्दै यस्तो सामग्री सेयर गरे : “नयाँ खबर: कोभिड-१९ फेरि आयाे। फेरि आयाे विद्यार्थीहरूका लागि खुशीकाे खबर।” उक्त क्लिप सँगै सेयर गरिएकाे श्रव्य सामग्रीमा देशभरका विद्यालयहरू बन्द हुने जनाइएकाे छ । उक्त क्लिपमा २३ हजारभन्दा बढी प्रतिक्रिया आएको छ र ६ लाख बढी पटक हेरिएको छ।

अर्का टिकटक प्रयोगकर्ता @razzusah11 ले पुस ११ गते सेयर गरेकाे क्लिपमा केही युवा आफ्नो सामान बाेकेर हिँड्दै गरेको देखिन्छ। क्लिप सँगैकाे अडियोमा भनिएकाे छ: “देशभरका विद्यालयहरू बन्द हुने भएका छन्। कोभिड  १९ काे संक्रमणकाे जाेखिम ह्वात्तै बढेपछि विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो।” उक्त सामग्रीमा करीब २० हजार प्रतिक्रियाहरू आएका छन् भने पुस १६ गतेसम्ममा  पाँच लाख बढी पटक हेरिएको छ [स्क्रिनसट] ।

तथ्य जाँच

दुवै टिकटक प्रयाेगकर्ताहरूले अर्थ सरोकार नामक आर्थिक अनलाइनमा प्रकाशित रिपोर्टकाे श्रव्य सामग्री प्रयोग गरेकाे हाम्राे तथ्य जाँचमा फेला परेकाे छ । “देशभरका विद्यालयहरू बन्द हुने भएका छन्। कोभिड  १९ काे संक्रमणकाे जाेखिम ह्वात्तै बढेपछि विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो। अब अनलाइनका माध्यमबाट मात्र कक्षा सञ्चालन हुनेछन्,” २०७७ साल चैत २७ गते अर्थ सराेकारले टिकटकमा पाेस्ट गरेकाे भिडियाेमा भनिएकाे छ । त्यतिखेर काेभिडकाे दाेस्राे लहर फैलिएकाेले स‌ङ्क्रमणकाे बढी जाेखिम हुने विद्यालय, कलेज आदि बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेकाे थियाे । 

दुई वर्ष अघि अर्थ सराेकारले टिकटकमा पाेस्ट गरेकाे भिडियाेकाे स्क्रिनसट

धेरै टिकटक प्रयोगकर्ताहरूले अर्थ सरोकारकाे समाचार क्लिप सेयर गरेकाे पाइएकाे छ । केहीले त्यसकाे सत्यतामा प्रश्न उठाएका छन्। टिकटक प्रयाेगकर्ताले साे प्लेटफर्मका केही फिचरहरु (जस्ताे अन्य स्रोतहरूबाट श्रव्य दृश्य सामग्री लिई सेयर गर्न मिल्ने) काे प्रयाेग गरी यस्ता सामग्री बनाउँछन् । प्रयोगकर्ताहरूले यी सुविधाकाे दुरुपयाेग गरी मिथ्या र भ्रामक सूचना फैलाउने गरेको पाइएकाे छ।

टिकटक प्रयोगकर्ता @tis_me_prashant25 ले कैलाली जिल्लाकाे धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयकाे भिडियो क्लिप प्रयोग गरी उक्त भ्रामक सामग्री फैलाएका छन्। हामीले इन्टरनेटमा साे भिडियोकाे स्राेत पत्ता लगाउन सकेनाैँ तर साे विद्यालयमा ७ महिना पहिले भएकाे एउटा कार्यक्रमकाे भिडियो चाहिँ फेला पार्यौं।

तसर्थ झण्डै दुई वर्ष पुरानाे भिडियाेलाई टिकटकमा अहिले सेयर गरेर भ्रम फैलाइएकाे नेपाल चेककाे ठहर छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष

काेभिड १९ काे जाेखिमका कारण देशभरका विद्यालय बन्द हुने ।
टिकटक प्रयोगकर्ताभ्रामक
काेभिडका कारण देशभरका विद्यालय बन्द हुने भन्दै भाइरल भएकाे टिकटक भिडियाेकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।