पाेखरामा दुर्घटनाग्रस्त विमानकाे भिडियाे भन्दै सेयर गरिएकाे भिडियाे झण्डै १० वर्ष पुरानाे

काठमाडौँबाट पोखरा गइरहेको यति एयरलाइन्सको एटिआर विमान माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा ६८ जना यात्रु र चार चालक दलका सदस्य थिए । विमान दुर्घटना लगत्तै सामाजिक सञ्जाल प्रयेगकर्ताले विमान दुर्घटनास्थलमा खिचिएका फोटो र भिडियो पोस्ट गरेका थिए ।

यसै सन्दर्भमा उक्त विमानकाे तस्बिर भन्दै एउटा झण्डै १० वर्ष पुरानाे भिडियाेलाई पाेखरामा भएकाे विमान दुर्घटनाकाे भन्दै ट्वीटरमा सेयर गरिएकाे छ ।

@abushahma02 नामक ट्वीटर प्रयाेगकर्ताले माघ १ गते  #pokharaplanecrash #pokharaairport जस्ता ह्यासट्याग प्रयाेग गर्दै १८ सेकेन्डकाे भिडियाे पाेस्ट गरे । भिडियाेमा गुडिरहेकाे बस भन्दा केही पर विमान ढलपलिँदै आउँछ र छिनमै भुइँमा बजारिन्छ । त्यसपछि आगाेकाे ज्वाला र धुँवाकाे मुस्लाे देखिन्छ । ती प्रयाेगकर्ताले अ‌ंग्रेजीमा “क्लियर फुटेज अफ प्यासेन्जर प्लेन क्रयासेज इन नेपाल वीथ सेभेन्टी टु पिपल अन बाेर्ड”  भन्दै उक्त भिडियाे पाेस्ट गरेका छन् । उनले ट्वीटरमा आफूलाई पत्रकार भनी चिनाएका छन् । 

त्यसैगरी @chandan48430579 नामक ट्वीटर प्रयाेगकर्ताले पनि पाेखरामा भएकाे विमान दुर्घटनाकाे भन्दै साेही भिडियाे माघ १ गते पाेस्ट गरे ।  

हाम्राे तथ्य जाँचमा उक्त भिडियाे झण्डै १० वर्ष पुरानाे भएकाे फेला परेकाे छ । 

हामीले भिडियाेलाई इनभिड नामक उपकरणकाे सहायताले कि फ्रेममा बदल्याैँ । ती कि फ्रेम अर्थात फाेटाेलाई गुगल रिभर्स इमेज सर्चमा खाेजी गर्दा बेलायतकाे गार्डियनमा प्रकाशित समाचार फेला पर्याे । उक्त समाचारमा प्रकाशित भिडियाेकाे विवरणमा साे भिडियाे अफगानिस्तानकाे बग्रामस्थित विमानस्थलमा सन् २०१३ मा दुर्घटनामा परेकाे विमानकाे रहेकाे पाइयाे । मुल भिडियाे ५३ सेकेण्डकाे छ ।

द गार्डियनमा साे समाचार २०७२ साल असार ३० गते प्रकाशित भएकाले हामीले द गार्जियनमै दुर्घटना लगत्तै प्रकाशित समाचार खाेज्याैँ । त्यसक्रमा उक्त भिडियाे २०७० साल बैसाख १८ गते द गार्डियनले प्रकाशित भएकाे फेला पर्याे । मुल भिडियाेकाे  शुरुमा एउटा बस गुडिरहेकाे देखिन्छ । लगत्तै उडिरहेकाे विमान देखिन्छ । विमान दुर्घटना हुन्छ । त्यसपछि आगाेकाे ज्वाला र धुँवाकाे मुस्लाे देखिन्छ । बस त्यहीँ राेकिन्छ भने विपरित दिशाबाट ट्रक आइरहेकाे देखिन्छ ।

द गार्डियनकाे समाचारमा उक्त बाेइङ ७४७ कार्गाे विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सबै ७ जना अमेरिकीकाे निधन भएकाे जनाइएकाे छ । 

बेलायतकाे द गार्जियनमा प्रकाशित भिडियाेकाे स्क्रिनसट

ट्वीटरमा पाेस्ट गरिएकाे विमान दुर्घटनाकाे भिडियाे पाेखरामा माघ १ गते भएकाे विमान दुर्घटनाकाे नभई २०७० साल *बैसाख १६ गते अफगानिस्तानमा भएकाे विमान दुर्घटनाकाे हाे । 

तसर्थ नेपाल चेकले ट्वीटरमा गरिएका दाबीलाई गलत ठहर गरेकाे छ ।  

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
पाेखरामा माघ १ गते भएकाे विमान दुर्घटनाकाे भिडियाे ।ट्वीटर प्रयाेगकर्तागलत
पाेखरामा माघ १ गते भएकाे विमान दुर्घटनाकाे भिडियाे भन्दै ट्वीटरमा गरिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष । 

*यसअघि बैसाख ८ गते भएकाेमा सच्याइएकाे छ ।