प्रदेशसभामा महिला सांसद : दुई चुनावकाे तुलनात्मक अध्ययन

नेपालमा संघीयता कार्यान्वयनसँगै दुई वटा प्रादेशिक निर्वाचन सम्पन्न भइसकेकाे छ । पहिलाे हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली गरी मिश्रित निर्वाचन प्रणाली आपनाइए पनि संसदमा महिला सहभागिता अपेक्षाकृत रुपमा हुन सकेकाे छैन । यसै सन्दर्भमा संविधान जारी भएपछि भएकाे पहिलाे प्रदेश संसदमा महिलाकाे उपस्थिति कस्ताे थियाे र दाेस्राे प्रादेशिक निर्वाचनपछि सातै प्रदेशसभामा महिलाकाे प्रतिनिधित्व कस्ताे रह्याे भनी हामीले तुलनात्मक अध्ययन गरेका छाैँ । यसका लागि हामीले निर्वाचन आयाेगले प्रकाशित गरेकाे प्रदेशसभा सदस्य निर्वाचन,२०७४, निर्वाचन परिणाम पुस्तक र यसअघि हामीले प्रदेशसभा निर्वाचन २०७९ बाट सातै प्रदेशमा महिलाकाे उपस्थिति सम्बन्धमा तयार पारेकाे सामग्रीलाई आधार बनाएका छाैँ । 

प्रदेश १ 

प्रदेश १ मा ५६ प्रत्यक्ष निर्वाचित र ३७ समानुपातिक गरी ९३ सदस्यीय प्रदेशसभा छ । २०७४ सालकाे निर्वाचनमा याे प्रदेशसभामा २ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३० जना महिला समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए । याे संख्या जम्मा प्रदेशसभा सदस्य संख्याकाे ३४.४१ प्रतिशत हाे । यसपालिकाे निर्वाचनमा भने प्रदेश १ प्रदेशसभामा २ जना प्रत्यक्ष निर्वाचित तथा ३१ जना समानुपातिकबाट गरी जम्मा ३३ जना अर्थात् ३५.४८ प्रतिशत महिलाकाे प्रतिनिधित्व भएकाे छ ।

मधेस प्रदेश

६४ जना प्रत्यक्ष निर्वाचित र ४३ जना समानुपातिकबाट गरी जम्मा १०७ सदस्यीय मधेस प्रदेशसभामा २०७४ सालमा जम्मा पाँच जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३२ जना महिलाले समानुपातिक प्रतिनिधित्व गरेका थिए । त्यतिबेला ३४.५८ प्रतिशत महिला प्रतिनिधित्व भएकाे यस प्रदेशमा यसपटक भने ३९ जना अर्थात् ३६.४५ प्रतिशत महिला प्रतिनिधित्व भएकाे छ । यस प्रदेशमा यसपालि प्रत्यक्षमा ४ महिला निर्वाचित भए भने समानुपातिकबाट ३५ जना निर्वाचित भएका छन् ।  

बाग्मती प्रदेश 

वाग्मती प्रदेशमा प्रत्यक्ष निर्वाचित ६६ र समानुपातिकबाट निर्वाचित ४४ गरी जम्मा ११० सदस्यीय प्रदेशसभा रहेकाे छ । २०७४ सालमा यहाँ पाँच महिला प्रत्यक्ष निर्वाचित भएका थिए भने ३२ जना समानुपातिकबाट निर्वाचित भएका थिए । यसपालिकाे निर्वाचनमा बाग्मती प्रदेशमा पाँच महिला प्रत्यक्ष निर्वाचित भए भने ३५ महिलाले समानुपातिक प्रणालीबाट प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् । २०७४ सालमा जम्मा ३३.६४ प्रतिशत महिला प्रतिनिधित्व भएकाे यस प्रदेश सभामा यसपालि भने ३६.३६ प्रतिशत प्रतिनिधित्व भएकाे छ । 

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ३६ जना प्रत्यक्ष निर्वाचित तथा २४ जना समानुपातिक गरी जम्मा ६० सदस्यीय प्रदेशसभा रहेकाे छ । यहाँ अघिल्लाे निर्वाचनमा पहिलाे हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचित निर्वाचन प्रणालीबाट २ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १८ जना गरी जम्मा २० जना महिला निर्वाचित भएका थिए । यसपालि पनि यस प्रदेशमा २ जना महिला प्रत्यक्ष निर्वाचित भए भने १९ जना समानुपातिक प्रणालीबाट निर्वाचित भए । प्रतिशतका हिसाबले २०७४ सालमा महिला प्रतिनिधित्व ३३.३३ प्रतिशत थियाे भने यसपाली ३५ प्रतिशत पुगेकाे छ । 

लुम्बिनी प्रदेश 

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिककाे ३५ गरी जम्मा ८७ सदस्य रहने व्यवस्था छ । २०७४ सालमा ३२ जना अर्थात् ३६.७८ प्रतिशत महिला प्रतिनिधित्व रहेकाे यस प्रदेशसभामा यसपालि भने ३३ जना अर्थात् ३७.९३ प्रतिशत महिला प्रतिनिधित्व भएकाे छ । अघिल्लाे निर्वाचनमा दुई जना प्रत्यक्ष निर्वाचित भएका यस प्रदेशमा यसपालि भने एक जना मात्र महिला निर्वाचित भइन् । 

क्रमस‌ंख्याप्रदेशजम्मा प्रदेशसभा सदस्य संख्या(प्रत्यक्ष + समानुपातिक)जम्मा निर्वाचित महिला संख्या(प्रत्यक्ष + समानुपातिक)महिला प्रतिनिधित्व प्रतिशत 
१.प्रदेश १९३ (५६ + ३७)३२ (२ + ३०)३४.४१
२.मधेस१०७ (६४ + ४३)३७ (५ + ३२)३४.५८
३.वाग्मती ११० (६६ + ४४)३७ (५ + ३२)३३.६४
४.गण्डकी६० (३६ + २४)२० (२ + १८)३३.३३
५.लुम्बिनी८७ (५२ + ३५)३२ (२ + ३०)३६.७८
६.कर्णाली४० (२४ + १६)१३ (० + १३)३२.५
७.सुदूरपश्चिम५३ (३२ + २१)१८ (१ + १७)३३.९६
८.जम्मा ५५० (३३० + २२०)१८९ (१७ + १७२)३४.३६
२०७४ सालकाे निर्वाचन अनुसार प्रदेशसभामा महिला प्रतिनिधित्व ।
क्रमस‌ंख्याप्रदेशजम्मा प्रदेशसभा सदस्य संख्या(प्रत्यक्ष + समानुपातिक)जम्मा निर्वाचित महिला संख्या(प्रत्यक्ष + समानुपातिक)महिला प्रतिनिधित्व प्रतिशत 
१.प्रदेश १९३ (५६ + ३७)३३ (२ + ३१)३५.४८
२.मधेस१०७ (६४ + ४३)३९ (४ + ३५)३६.४५
३.वाग्मती ११० (६६ + ४४)४० (५ + ३५)३६.३६
४.गण्डकी६० (३६ + २४)२१ (२ + १९)३५
५.लुम्बिनी८७ (५२ + ३५)३३ (१ + ३२)३७.९३
६.कर्णाली४० (२४ + १६)१५ (० + १५)३७.५
७.सुदूरपश्चिम५३ (३२ + २१)१८ (० + १८)३३.९६
८.जम्मा ५५० (३३० + २२०)१९९ (१४ + १८५)३६.१८
हाल प्रदेशसभामा महिला प्रतिनिधित्व । 

कर्णाली प्रदेश 

प्रदेशसभा सदस्यका हिसाबले याे प्रदेश सबैभन्दा सानाे प्रदेश हाे । यहाँ  २४ प्रत्यक्ष र १६ समानुपातिक गरी जम्मा ४० सदस्यीय प्रदेशसभा रहेकाे छ । २०७४ सालमा कुनै पनि महिला उम्मेदवारलाई विजयी गराउन नसकेकाे यस प्रदेशले यसपालि पनि महिलालाई प्रत्यक्ष निर्वाचित गर्न सकेन । २०७४ सालमा १३ जना अर्थात् ३२.५ प्रतिशत महिला प्रतिनिधित्व भएकाे यस प्रदेशमा यसपाली भने १५ जना अर्थात ३७.५ प्रतिशत महिला प्रतिनिधित्व भएकाे छ । संविधान जारी भएपछिका दुवै प्रादेशिक निर्वाचनमा याे प्रदेशमा एक जना पनि महिला प्रत्यक्ष निर्वाचित भएका छैनन् ।  याे प्रदेशमा यसपाली भने सभामुखमा महिला निर्वाचित भएकी छन् । 

सुदूरपश्चिम प्रदेश

याे प्रदेश सभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिकबाट गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा छ । २०७४ सालमा एकजना महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गरेकाे यस प्रदेशसभाले यसपालि भने कुनै पनि महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गर्न सकेन । यस प्रदेशसभामा दुवै निर्वाचनमा १८ जना अर्थात् ३३.३६ प्रतिशत महिला प्रतिनिधित्व भएकाे छ । अन्य ६ वटै प्रदेशमा अघिल्लाे निर्वाचनकाे तुलनामा महिला प्रतिनिधित्व प्रतिशत वृद्धि हुँदा यस प्रदेशमा भने बढेन । 

समग्रमा, अघिल्लाे निर्वाचनकाे तुलनामा प्रदेश सभामा यसपालिकाे निर्वाचनमा प्रत्यक्ष निर्वाचित महिलाकाे संख्या घटेकाे छ । २०७४ सालमा सबै प्रदेशमा गरेर जम्मा १७ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए । तर यसपालिकाे निर्वाचनमा जम्मा १४ जना महिला मात्रै प्रत्यक्ष निर्वाचित भए । समानुपातिक प्रतिनिधित्वका हिसाबले भने अघिल्लाे निर्वाचनका तुलनामा सबै प्रदेशमा यसपटक महिलाकाे प्रतिनिधित्व बढेकाे छ । प्रतिशतका हिसाबले पनि अघिल्लाे निर्वाचनकाे तुलनामा सुदूरपश्चिम बाहेक सबै प्रदेशमा यसपटक महिला प्रतिनिधित्व बढेकाे छ । २०७४ सालमा प्रदेशसभाकाे ५५० सिटमध्ये १८९ अर्थात् ३४.३६ प्रतिशत प्रतिनिधित्व भएकाे थियाे भने यसपालि १९९ अर्थात् ३६.१८ प्रतिशत प्रतिनिधित्व भएकाे छ ।