महिला राजनीतिकर्मीमाथि बढ्दाे अनलाइन हिंसा

पानाेस साउथ एसियाले प्रकाशित गरेकाे राजनीतिमा सक्रिय महिलामाथि हुने हिंसासम्बन्धी अध्ययन

अस्मिता खड्का

बेलायती राजकुमार ह्यारी दम्पतीको प्रेम जीवनमा आधारित डकु सिरिज ‘ह्यारी एन्ड मेगन’ हालै नेटफ्लिक्समा सार्वजनिक भयो । सो सिरिजको छैटौं एपिसोडमा सो दम्पतीले सामाजिक सञ्जालमा आफूहरूमाथि विशेष गरी मेगन मार्कलमाथि आक्रमण भएकाे बताएका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताले मेगनको वर्ण र लैंगिकतालाई लिएर गरेकाे घृणास्पद अभिव्यक्तिका कारण दुवैले सामाजिक सञ्जालबाटै टाढिनुपरेकाे बताएका छन् । बेलायती टीभी पत्रकार पियर्स माेर्गन, बेलायती राजपरिवारका सदस्य लगायतले  मेगन मार्कलमाथि अनलाइन दुर्व्यवहार गरेका छन् । तर पछिल्लाे अनलाइन आक्रमण र घृणास्पद अभिव्यक्ति यसअघिकाे भन्दा व्यापक भएकाे बताउँदै उनले आफू “संसारमा सबैभन्दा ट्रोल गरिएकाे व्यक्तिमध्ये पर्ने” बताएकी थिइन् ।

नेपालमा पछिल्लो एक दशकमा सञ्चार र सूचना प्रविधिमा आम मानिसको पहुँच बढेको छ । हातहातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले नेपालको कुल जनसंख्याको ठूलो हिस्सा सामाजिक सञ्जालमा जोडिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाे एमआईएस प्रतिवेदन अनुसार २०७८ साल कात्तिक १ गतेसम्म नेपालमा ३ करोड ८३ लाख ८८ हजार ९  इन्टरनेटका ग्राहक छन् । याे संख्यामा एकै व्यक्तिले एकभन्दा बढी सिम प्रयाेग गर्ने तथा फिक्स्ड ब्राेडब्यान्ड (तारवाला र ताररहित) इन्टरनेट सेवा प्रयाेगकर्ता समेत जाेडिएकाे हाे।

विभिन्न मुलुकको तथ्यांक संकलन गर्ने डेटारिपोर्टलका अनुसार सन् २०२२ को सुरुतिर नेपालको  कुल जनसंख्याकाे ४५.७ प्रतिशतले सामाजिक सञ्जाल चलाउँछन् । तीमध्ये सबैभन्दा बढी फेसबुक प्रयोगकर्ता छन् । सन् २०२२ को सुरुमा नेपालमा १ करोड २० लाख ३० हजार फेसबुक प्रयोगकर्ता थिए । तिनमा ४२ प्रतिशत महिला र ५८.० प्रतिशत पुरुष छन् । नेपालमा झन्डै २० लाख ३० हजार इन्स्टाग्राम प्रयोगकर्ता रहेको समेत सो तथ्यांकमा उल्लेख छ ।  

फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटर लगायत सामाजिक सञ्जालले प्रयोगकर्तालाई सूचना आदानप्रदानकाे सुविधा मात्र नदिई यसले बहस गर्ने, विचार आदानप्रदान गर्ने, प्रतिक्रिया जनाउने माैका समेत दिएको छ । तर यसकाे अर्काे पाटाे पनि छ । सामाजिक सञ्जाल लैंगिक रूपमा घृणास्पद अभिव्यक्ति, गालीगलौज गर्ने र आलोचना गर्ने अनि अनलाइन हिंसा फैलाउने माध्यम पनि बनेको छ । यस्ता हिंसा सामना गर्नेमा नेपालका महिला राजनीतिकर्मी अग्रप‌ंक्तिमा रहेकाे विभिन्न अध्ययनले देखाएका छन् ।

चर्चित महिला राजनीतिज्ञविरुद्ध स्त्रीद्वेषी प्रतिक्रिया 

गत साल पानोस साउथ एसियाले नेपाली महिला राजनीतिज्ञको सामाजिक सञ्जाललाई आधार मानेर अध्ययन गरेको थियो । सो अध्ययनले महिला राजनीतिज्ञहरू साइबर सुरक्षाको जोखिम, साइबर दुर्व्यवहार तथा साइबर हिंसाको सिकार भइरहेको फेला पारेकाे थियाे । अनलाइनमा हुने यस्ता आक्रमणले महिलालाई राजनीतिक वृत्तबाटै पाखा लगाउन सक्ने निष्कर्ष उक्त अध्ययनले निकालेको थियो । 

पूर्वसहरी विकासमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीविरुद्ध सामाजिक सञ्जालमा धेरै स्त्रीद्वेषी प्रतिक्रिया आउने गरेका छन् । झाँक्रीले एक अध्ययनलाई आधार मान्दै पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताइकी थिइन् ।

गत कात्तिक ७ मा झाँक्रीको आधिकारिक फेसबुक पेजमा कुकुर तिहारको शुभकामना सन्देशसँगै चुनाव चिह्नसहित झाँक्रीको तस्बिर पोस्ट गरिएको थियो । २२ सय लाइक र ३६२ कमेन्ट पाएको सो पोस्टमा फेसबुक प्रयोगकर्ताले स्त्रीद्वेषी र आपत्तिजनक टिप्पणीहरू गरेका थिए । सो पोस्टमा ‘सेम टु यु, कस्तो मिलेको जोडी, हारको शुभकामना, कुकुर र कुकुर्नीलाई शुभकामना, कुकुरजस्तो वल्लो घर पल्लो घर चहार्दै हिँड्ने तिमीलाई नि शुभकामना, तिमी पनि कुकुरभन्दा कम छैनौ, दुइटैको एउटै थुतुनो, अनुहार मिल्यो काकी’ जस्ता प्रतिक्रिया आएका थिए । त्यस्ता गाली गर्ने फेसबुक प्रयोगकर्ताकाे पहिचान गर्न सजिलाे नभएकाले उनीहरूले सञ्जाल प्रयाेग गरेकाे देखिन्छ भने यसमा नेपाली समाजकाे पित्तृसत्तात्मक साेच पनि झल्किन्छ। यस्तै झाँक्रीले कात्तिक १४ गते चुनाव प्रचारप्रसार गरेको पोस्टमा पनि ‘लाली पुछिएछ, कति च्वाँक, तिम्रा दिन गए, यति राम्रीलाई माकुनेले प्रपोज हान्छ, काली, अवसरवादी, भँडुवा, एमसीसीको दलाल, टेपकुमारी’ जस्ता टिप्पणीहरू गरिएका छन् । 

तर आफूले यस्ता खाले टिप्पणीलाई वास्ता नगर्ने झाँक्रीले नेपाल चेकलाई बताइन् । “सामूहिक रूपमै सामुदायिक र लैंगिक रूपमा मेराविरुद्ध घृणाजनक टिप्पणी गरेको देख्दा मलाई पनि उदेक लाग्छ । त्यस्तालाई जतिसक्दो बेवास्ता गर्नु नै महत्त्वपूर्ण पक्ष हो,” उनी भन्छिन्, “विशेष गरी चुनावी समयमा त्यस्ता खाले टिप्पणी गर्नेहरू मेरा प्रतिस्पर्धी होइनन्, ती सबै असान्दर्भिक व्यक्तिहरू हुन् । त्यसैले कसले गाली बेइज्जती गर्‍यो भन्दै खोजीखोजी हेर्दिनँ । आँखाले देखेजतिकालाई बेवास्ता गरिदिन्छु । इग्नोर गर्नेबाहेक मसँग उपाय नै छैन ।”

यस्तो खाले अनलाइन हिंसामा पर्ने झाँक्री मात्र महिला राजनीतिकर्मी भने होइनन् । डा. आरजु देउवा राणा, पद्माकुमारी अर्याल, सरिता गिरी, पम्फा भुसाल, ओनसरी घर्ती मगर लगायत राजनीतिमा लामाे समय बिताएका महिला नेतृहरूमाथि अनलाइनमा आक्रमण हुने गरेको छ । 

स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी एमाले नेतृ पद्माकुमारी अर्याल पनि पछिल्लो समय अनलाइनमा दुर्व्यवहारकाे सामना गर्नेमा पर्छिन् । पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपन्छी विकासमन्त्री समेत रहेकी अर्यालले चुनावी प्रचारको सिलसिलामा कात्तिक १५ गते भाषण गर्दै गरेको ‘मन्त्री हुँदा इतिहासमा नाम राखेर आएको छु’ शीर्षकको भिडियो सामग्री सुनौलो नेपाल नामक फेसबुक पेजमा सेयर गरिएको थियो । २२ हजार पटक हेरिएको सो भिडियोमा १५ सय लाइक र २६६ पटक कमेन्ट गरिएको थियो । उक्त सामग्रीमा ‘एमसीसीकी मतियार, तारा बरालले चुनौती दिएकी छन्, बढी नखोक, यो भ्रष्टाचारीलाई पाता कसेर जेल कोच्नुपर्छ, बोली सुन्दा गाला फुट्ने गरी हान्नुपर्ने गोरुको अनुहारको गाई, मति बिग्रेको आइमाई, कात्तिकमा कुकुर्नी यस्तै कराउँछन्, रासायनिक मलमा १ अर्ब ५४ करोड घिचेको बिर्सेका छैनन्’ भन्दै फेसबुक प्रयोगकर्ताले अर्याललाई गाली गरेका थिए । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि सामाजिक सञ्जालमा बढी आलोचना खेप्ने महिला राजनीतिज्ञको रूपमा चिनिन्छिन् । स्थानीय निर्वाचनको क्रममा कैलालीमा रहेको विपन्न बस्तीमा पुगेर भाषण गर्ने क्रममा उनले ‘वैदेशिक रोजगारीको लागि फ्री भिसा, फ्री टिकटको व्यवस्था मिलाइदिने’ भनेपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेपेकी थिइन् । डा. देउवाको व्यक्तिगत सामाजिक सञ्जाल खातामा ठूलो मात्रामा स्त्रीद्वेषी टिप्पणी नभेटिए पनि अन्य सामाजिक सञ्जालमार्फत उनको नाममा सेयर हुने गरेका पोस्ट र उनले दिने अभिव्यक्तिमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घृणा फैलाउने टिप्पणी गर्ने गरेको पाइन्छ । झन्डै ४ लाख ३० हजार फलोअर्स रहेको एनईबी रिजल्ट नामक फेसबुक पेजले चुनावी अभियानको क्रममा डडेल्धुरामा आयोजित सभामा डा. देउवाको अभिव्यक्तिलाई उद्धृत गर्दै कात्तिक २० गते एउटा पोस्ट गरेको थियो । जसमा लेखिएको थियो, “Dr. Arju Deuba Rana recently says in Dadeldhura जसरी आज हामी हेलिकप्टरमा आयौं, आजभन्दा १०/१५ वर्ष अगाडि यहाँ जसरी हेलिकप्टर आउने क्षमता बनाउने मान्छेलाई भोट हाल्नुस् ।” १६ सय लाइक र १४८ कमेन्ट पाएको सो पोस्टमा आपत्तिजनक टिप्पणीहरू गरिएका छन् । सो पोस्टमा गरिएका झन्डै ६० वटा टिप्पणी पढ्दा ४० भन्दा बढी उनको अपमान गर्ने उद्देश्य राखिएका घृणाजनक टिप्पणी छन् । ‘सुड्डीलाई देश निकाला गरियोस्, बूढाले बोलेको नबुझिने । बूढी चाहिँ जे मुखमा आयो त्यही बोल्ने, बूढाले चुनाव हार्ला भनेर बिचरीलाई तक्लिफ भएछ, चोथाले आइमाई, सिधै देश सकाउनेलाई भोट देऊ भन्छ, यस्ता हावा कुरा नगर आमा, हार्दिक श्रद्धाञ्जली, दिमागी हालत ठीक नभएको मान्छे, पागल’ जस्ता टिप्पणीहरू सो पोस्ट गरिएका छन् । यस्ता खाले टिप्पणी गर्नेमा पुरुषहरू बढी छन् । 

फेसबुकमा मात्र नभई टिकटक, ट्विटर र युट्युबमा समेत देउवालाई आपत्तिजनक टिप्पणी आउने गर्छन् । गत असोज २६ गते ग्यालेक्सी फोरके टेलिभिजनको ८ लाख २५ हजार सब्स्क्राइबर रहेको आधाकारिक युट्युब च्यानलले ‘प्रधानमन्त्री पत्नी आरजु राणा देउवा सस्तो भाषणका कारण चर्चामा’ शीर्षकमा एक रिपोर्ट प्रसारण गरेको थियो । ४४ हजार पटक हेरिएकाे उक्त सामग्रीमा ३४२ पटक कमेन्ट गरिएको थियो । ३४२ कमेन्टमध्ये झन्डै २ सय कमेन्टहरू स्त्रीद्वेषी एवम् आपत्तिजनक थिए । सो सामग्रीमा आएका केही प्रतिक्रिया यस्ता थिए, ‘रिप आरजु, कुख्यात, यो राष्ट्रघाती आइमाई हो भारततिरै लखेट्नुपर्छ, पातकी नेता, यसलाई पनि प्रचण्डको बूढीजस्तै हुन्छ, यस्तो गु कसरी डा. भयो होला ?,  नेपालमा डा. लेख्नेहरू पागल छन्, यिनको चारित्रिक धरातल निकै तल्लो स्तरमा छ, पतुर्नी, जस्तो बूढो उस्तै बूढी, पागल्नी, राँडी, राणाबाट चाँडै राणी बन्नू, खाते आइमाई, कुकुर्नी ।’ 

पडकास्टर सञ्जय सिलवाल गुप्तासँगकाे कुराकानीमा उनले भनेकी छन्, “सामाजिक सञ्जालमा ममाथि बन्ने ट्रोल, मैले खाने गाली यो सबै डाउन टु द प्याट्रिआर्किक (पितृसत्तात्मक) मानसिकता हो भन्ने मलाई थाहा छ । मैले मनमा आएको सबै कुरा खुलस्त भन्छु, कोहीसँग डराउँदिनँ । जसले गर्दा पुरुषहरूले मलाई विपक्षीको रूपमा हेर्छन् र अन्टसन्ट टिप्पणी गर्छन् । मेरो अभिव्यक्तिमाथि प्रतिक्रिया जनाउनेहरूको एक समूह नै छ । त्यस्ता कमेन्ट गर्नेहरूलाई मैले वास्तै गर्दिनँ । त्यसका विरुद्ध न त मैले केही गर्न नै सक्छु ।”

ललितपुरको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी उपसचिव पम्फा भुसाल पनि सामाजिक सञ्जालमा गरिने गालीगलौजबाट मुक्त छैनन् । ९२ हजार फलोअर्स भएको भुसालको आधिकारिक फेसबुक पेजमा गएको कात्तिक १७ गते चुनाव प्रचारप्रसारको भिडियो सामग्री अपलोड भएको थियो । १७ सय लाइक र २७८ पटक कमेन्ट गरिएको सो सामग्रीमा पनि फेसबुक प्रयोगकर्ताहरूले भुसाललाई गालीगलौज र आपत्तिजनक टिप्पणी गरेका छन् । सो सामग्रीमा उनीविरुद्ध ‘राष्ट्रघातीलाई हराउनुपर्छ, ठग, लुटेरा, गु खानु, तेरो काम छैन, रिप, बान्ता आयो, फुलनदेवीकी कान्छी बैनी, मुडुली, यस्ता भटौरेलाई भोट हाल्नु र आमालाई बलात्कार गर्नु उस्तै हो, यो कुकुर्नी, ज्यानमारा, यो हिँजडालाई हराउनुपर्छ, अब कति जना मार्ने योजना छ ?’ जस्ता टिप्पणीहरू गरिएका थिए । 

यस्तै नेपालकै पहिलो महिला सभामुखको रूपमा समेत चिनिने ओनसरी घर्तीमगरले माओवादी केन्द्रको तर्फबाट काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी थिइन् । चुनाव प्रचारप्रसारको क्रममा गत कात्तिक १ गते उनले दिएको अभिव्यक्ति र उनको प्रतिद्वन्द्वी कुन्ती पोखरेलको ‘ओन्सरी घर्तीलाई कुन्तीको काउन्टर ः दुई वर्ष होइन, म ६ महिनामा काम सक्छु’ शीर्षकमा सूत्र टीभीले आफ्नो फेसबुकबाट एउटा सामग्री प्रसारण गरेको थियो । २ लाख १५ हजार पटक हेरिएको, ५१ सय लाइक अनि ६४६ पटक कमेन्ट पाएको सो सामग्रीमा जातीय रूपमा मगरमाथि आक्रमण भएको थियो । दुवै महिलाविरुद्ध आपत्तिजनक टिप्पणी गरे पनि अधिकांश टिप्पणी भने मगरविरुद्ध थिए । मगरविरुद्ध फेसबुक प्रयोगकर्ताले ‘ओन्सरीलाई जाँडको छोक्रा केलाउन राजधानीबाट लखेटेकै राम्रो, पहिले रोल्पा बनाऊ, अनि यताको कुरा गर, मगरको नाममा कलंक ओनसरी, पागल्नी ओनसरी, सुँगुर्नीको धाक, मगरको बुद्धि ढिला आउँछ, ओनसरी रोल्पामा जाँड बेच्ने कुख्यात आतंककारी हो’ जस्ता गाली गरेका छन् । यस्तै गएको असाेज १९ गते हिमालय टेलिभिजनले आफ्नो आधिकारिक युट्युबमा पूर्वसभामुख मगरलाई यक्ष प्रश्न कार्यक्रममा पनि ५४ हजार भ्युज पाएको छ । ८१५ लाइक अनि २२७ वटा कमेन्ट आएको सो सामग्रीमा सञ्जाल प्रयोगकर्ताहरूले मगरको जातलाई लिएर घृणास्पद टिप्पणीहरू गरेका छन् । ‘ओन्सरीको अनुहार हेर्दै १७ हजार नेपालीको रगत पोतिएको देख्छु, पुन र मगर सोझो जातको नाममा कलंक हुन्, बाठी मगर्नी, रोल्पामा रक्सी पारेर बस्, हत्यारा मुला, मगरको नाममा कलंक आइमाई’ जस्ता प्रतिक्रिया गरिएका छन् । 

‘हल्का रूपमा लिनु हुँदैन’   

लैंगिक रूपमा हुने घृणास्पद अभिव्यक्तिले नेपालमा रहेको पुरुषवादी मानसिकता उजागर गरेकाे देखिन्छ । अधिकांश अवस्थामा लैंगिकतामा आधारित घृणास्पद अभिव्यक्तिलाई हिंसाको हतियारको रूपमा प्रयोग गरेकाे पाइन्छ । हाम्रो समाजमा अफलाइनमा हुने गरेका यस्ता खाले प्रवृत्ति अहिले सामाजिक सञ्जालमा पुनरावृत्ति भएको विज्ञहरू बताउँछन् । “अनलाइनमा हुने गरेको लिंगमा आधारित हिंसा, अपमानजनक तथा घृणाजन्य अभिव्यक्ति, सबै अफलाइनमा व्याप्त सामाजिक मनोवृत्तिको पुनरावृत्ति नै हो,” डिजिटल राइट्स नेपालका सन्तोष सिग्देल भन्छन्, “नेपाल पुरुषवादी समाज भएकाले अफलाइनमा जस्तै अनलाइनमा पनि महिलाहरूप्रति अलि बढी संकुचित छ । जसरी अफलाइनमा कसले कोसँग कस्तो व्यवहार गर्छ भन्ने विषयमा शक्ति सम्बन्धको कुरा आउँछ र यस मामिलामा महिलाहरू कमजोर हुने हुँदा अरूले उनीहरूलाई पेल्न खोज्छन्, आलोचना गर्न खोज्छन् । ठ्याक्कै अनलाइनमा पनि त्यही देखिन्छ ।” अनलाइनमा पुरुष राजनीतिज्ञहरूले कुनै विषयमा बोल्दा गाली नगरी सामान्य रूपमा लिइए पनि महिलाको हकमा सोही विषयमा बोल्दा जनाइने प्रतिक्रिया फरक हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, “त्यही विषयमा महिला राजनीतिज्ञले बोल्दा ‘यो महिला त हो नि’ भन्दै कडा किसिमको आलोचना गर्ने, आलोचना मात्र नभई घृणाजनक र अपमानजनक टिप्पणी गर्ने, चरित्रमाथि प्रश्न गर्ने, गालीगलौज गर्ने प्रवृत्ति देखिन्छ ।” 

नेपालको गाली बेइज्जती सम्बन्धी ऐनले अन्य व्यक्तिहरूको तुलनामा राजनीतिज्ञहरूले बढी आलोचना सहनुपर्ने परिकल्पना गरेको छ । अभिव्यक्ति स्वतन्तत्राको हक अनुसार जोकोहीले सभ्य आलोचना गर्न पाउने भनिए पनि असभ्य आलोचना गर्दा पनि हल्का रूपले लिन नहुने सिग्देलको भनाइ छ । “राजनीतिज्ञले अरूले भन्दा बढी टिप्पणी र आलोचना सहन गर्नुपर्छ, कुनै व्यक्तिले गलत नियत नराखेर अरूको गालीबेइज्जती नहुने गरी सभ्य आलोचना गर्न पाउँछ,” उनी भन्छन्, “तर त्यसो भन्दैमा कुनै महिला राजनीतिज्ञले अथवा सम्बन्धित व्यक्तिले सार्वजनिक रूपमा अनलाइनमा घृणास्पद अभिव्यक्ति, गालीबेइज्जती भयो, मैले यो पचाउनैपर्छ, यसको अन्य उपाय नै छैन, मलाई खासै प्रभाव पर्दैन भन्नुभयो भने पनि अप्रत्यक्ष रूपमा यसको असर पर्छ । यसले तत्काल नभए पनि दीर्घकालीन रूपमा असर पुर्‍याउँछ । गालीबेइज्जती व्यक्तिगत तवरमा हुने भए पनि घृणात्मक टिप्पणी सामुदायिक पहिचानको आधारमा गरिएको हुन्छ, र समुदायविरुद्ध नै घृणा फैलाउन खोजिएको हुन्छ । त्यसैले यसलाई हल्का रूपमा लिनु हुँदैन ।”