
संघीयता कार्यान्वयन भएपछि नेपालमा दुई पटक प्रदेश सभाकाे निर्वाचन भइसकेकाे छ । पहिलाे प्रदेशसभाकाे तुलनामा यसपालिकाे प्रदेशसभामा महिला प्रतिनिधित्व प्रतिशतका आधारमा बढेकाे देखिएपनि यसपटक प्रत्यक्ष निर्वाचित महिलाकाे संख्या भने घटेकाे छ । यसअघिकाे प्रदेशसभामा सातैवटा प्रदेशमा पुरुष सभामुख बनेका थिए भने यसपालि प्रदेशसभाकाे इतिहासमा पहिलाेपटक कर्णाली प्रदेशमा महिला सभामुख बनेकी छन् । नेकपा एमालेबाट समानुपातिक प्रतिनिधित्व गर्दै कर्णालीबाट चुनिएकी नन्दा गुरुङ नेपालकाे प्रदेशसभाकाे इतिहासमा पहिलाे महिला सभामुख बनेकी हुन् । सभामुख गुरुङसँग नेपाल चेकले गरेकाे प्रश्नाेत्तरकाे सम्पादित अंश ।
प्रदेशसभाकाे इतिहासमा पहिलाेपटक महिला सभामुखका रुपमा निर्वाचित हुनुभएकाे छ । प्रदेशसभाकाे समामुख बन्छु भनी साेच्नुभएकाे थियाे ?
सभामुख हुन्छु भनेर साेचेकाे त थिइन । प्रदेशकाे सांसद हुन्छु भन्ने त थाहा थियाे । तर सभामुख हुन्छु भनेर चाहिँ साेचेकाे थिइन । अवसर आयाे, अवसरलाई मैले स्विकारेँ । म प्रदेशसभाकाे इतिहासमा पहिलाे महिला सभामुख बनेकी छु । यसमा मलाई गाैरव छ ।
तपाईकाे राजनीतिक यात्राकाे बा रे मा बताइदिनु न ? कसकाे प्रेरणाले किन लाग्नुभयाे राजनीतिमा ?
मुलुक र समाज परिवर्तन गर्ने नीतिहरुकाे माउ नीति भनेकाे राजनीति हाे । मुलुक र समाज परिवर्तनका लागि नै राजनीतिमा लागेकाे हाे म पनि । विद्यार्थीकालमा एकजना दाइ हुनुहुन्थ्याे । उहाँले सात-आठ क्लास पढ्दैदेखि अनेरास्ववियुकाे बैठकहरुमा लैजानुहुन्थ्याे । मेराे आफ्नै दाइ पनि पार्टीकाे मिटिङहरुमा जाने गर्नुहुन्थ्याे । दाइसँग राजनीतिक भेटघाट तथा बैठकहरुमा सँगै जान्थेँ । उहाँहरुका कुरा सुन्थेँ । त्यसाे गर्दा ममा पनि राजनीतिक चेतना जागृत भयाे । पछि विवाह भएर सुर्खेत आएँ । विवाह भएपछि पनि कुनै राजनीतिक भेटघाट छ भन्ने थाहा पाउँदा म लुकेर भएपनि जान्थेँ । पछि परिवारका सदस्यहरुले लुकेर गएकाे थाहा पाएपछि लुकेर किन हिँड्नुपर्याे र राजनीति नै गर्ने साेँच हाे भने खुलेरै हिँड्ने भन्नुभयाे ।
२०४७/४८ सालदेखि त म खुलेरै पार्टी राजनीतिमा लागेँ, प्रारम्भिक कमिटीहरुमा बसेँ । २०५४ सालमा म महिला वडा सदस्य नै भएँ । त्यसपछि पार्टीकाे गाउँ कमिटीकाे सदस्य, इलाका कमिटीकाे सदस्य, क्षेत्रीय कमिटीकाे सदस्य हुँदै सुर्खेत जिल्ला कमिटीमा दुई कार्यकाल बसेँ । अखिल नेपाल महिला संघमा पनि म पाँच अवधि बसेँ जिल्ला कमिटीमा । २०५५ र २०६० सालकाे बीचमा युवासंघमा पनि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भएँ ।
सभामुख हुने बेलासम्ममा म पार्टीकाे प्रदेश कमिटीकाे सदस्य, अनेमसंघकाे जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य थिएँ । अहिले त पार्टीका सबै पदकाे जिम्मेवारीबाट बाहिर छु । सानै उमेरमा राजनीतिक रुपमा सचेत हुने माैका पाएँ । देश र समाज परिवर्तन गर्छु भन्ने साेचले नै राजनीतिमा लागेकाे हाे ।
राजनीतिमा लाग्दा महिला भएकै कारण के कस्ता समस्या भाेग्नुभयाे ?
राजनीतिमा लागेका महिलालाले धेरै संघर्ष गर्नुपर्छ भन्ने त सबैलाई थाहा भएकै कुरा हाे । हिजाे चुलाे चाैकाे गरेर बसेका महिलाहरु बाहिर निस्केर पुरुषसँग प्रतिस्पर्धा गर्न त गाह्रै छ नि । त्याे हिजाे पनि थियाे र आज पनि छ । त्यसमाथि पनि म त २०५४ सालमै एकल महिला भएँ । छाेरा छाेरी थिए । कतै हिँड्दा महिलामाथि विभिन्न खालका आक्षेपहरु लाग्ने गर्थे । राजनीति गर्दा दिन रात नभनी हिँड्न पर्थ्याे । महिलाहरु राती हिँड्दा त नैतिकताकै प्रश्न पनि उठ्ने गर्थ्याे । त्याे अहिले पनि छ । यस्ता हरेक खालका संघर्ष गर्नुपर्याे नि । हाम्राे पितृसत्तात्मक साेचले महिलालाई गर्ने सबै खालका अवमूल्यनसँग संघर्ष गर्दै अगाडि बढेकाे हाे ।
अर्काे कुरा, आर्थिक समस्या पनि त्यत्तिकै भाेग्नुपर्याे । आफ्नाे कमाइ नहुने, घरबाट बाहिर निस्केपछि पैसा नै चाहिने । मेराे राजनीतिक संघर्ष अनुसार यस्ता अवसरहरु त मैले पहिले नै पाउनुपर्ने हाे जस्ताे लाग्छ । पार्टीभित्र पनि अनेक समस्याहरु हुने गर्छ । पार्टीले मलाई अवसर दिएन भनेर त म भन्दिनँ । यसपालिकाे प्रदेशसभा निर्वाचनमा म आफैले स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचन लड्न सक्दिँन भनेर समानुपातिकमा बस्छु भनेकाे हाे ।
राजनीतिमा महिला सहभागीता निकै कम हुनुकाे प्रमुख कारणहरु के हुन् ? राजनीतिमा महिला सहभागिता बढाउन के भूमिका खेल्नुहुन्छ ?
कारण त विभिन्न हुनसक्छ । आर्थिक हुनसक्छ । महिलाहरु शैक्षिक रुपमा नै पछाडि परेकाे हुँदा उनीहरुले कमाउने, जागिर खाने भन्ने कम नै हुन्छ । पहिला त झन् याे निकै कम नै हुन्थ्याे । उनीहरु घरधन्दामा नै सीमित हुने । राजनीति गर्ने भएपछि घरबाहिर त निस्कनै पर्याे । निस्केपछि पैसा त खर्च भैहाल्ने ।
अर्काे कुरा हाम्राे सामाजिक संरचना हुनसक्छ । अहिले पनि महिलाहरु बाहिर हिँड्ने, सामाजिक मुद्दाहरुमा महिला अधिकारका लागि आवाज उठाउँदा ‘पाेथी बास्याे’ भन्ने चलन छ । केही महिलाहरुलाई पारिवारिक समस्या हुन्छन् । यी सबैकाे केन्द्रमा त फेरि हाम्राे समाजकाे पितृसतात्मक साेच छ । मुख्य कारण भनेकाे पितृसतात्मक साेच र त्यसले सिर्जना गरेका अवराेधहरु नै हुन् भन्ने लाग्छ ।
हामीसँग महिला हक अधिकारका लागि बनेका कानूनहरु छन् । ’emकाे प्रभावकारी कार्यान्वयन छैन । ती कानूनहरुलाई जति सक्दाे प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानपर्छ भन्ने लाग्छ । स्राेत साधनमा पनि महिलाकाे पहुँच हुनुपर्छ । महिलालाई पछाडि देख्ने र पार्ने संरचनागत समस्याहरुकाे पनि समाधान हुनुपर्छ ।
उदाहरणका लागि महिलाद्वेषी उखान टुक्कालाई नै हेराैँ न । यस्ता कुराहरुले पनि जानेर नजानेर महिलाहरुकाे क्षमतालाई अवमूल्यन गरिरहेका हुन्छन् । यी चिजहरुकाे पनि अन्त्य हुनु आवश्यक छ । अर्काे कुरा, महिलाहरुकाे क्षमता विकास गर्नु पनि उत्तिकै जरुरी छ । त्यसका लागि महिलालाई अवसर दिनुपर्याे । पार्टीहरुका विधान महिला सहभागीतामैत्री हुनुपर्याे । खुला बनाउनुपर्याे । त्याे भयाे भने महिला सहभागिता बढेर जान्छ भन्ने लाग्छ । अहिले संविधानमै ग्यारेन्टी भएर वडामा दुई जना महिला सदस्य त हुनुहुन्छ नि । विधि बनाउन सक्दा त हुनेरैछ । पहिलेकाे तुलनामा त अहिले राम्रै छ भन्नुपर्छ । तर हामीले कल्पना गरेजस्ताे त अझै भएकाे छैन ।
अर्काे कुरा, महिलाहरु पनि सचेत र जागरुक हुनुपर्याे । नीतिगत तहबाटै अवसरकाे ढाेका खाेल्न पर्याे । दाेस्राे कुरा, महिला आफैँ अग्रसर हुनुपर्याे । अर्काले हात तानेर लगेर यहाँ बस्नाेस् भनेर मात्रै त हुँदैन । अहिलेकाे परिस्थति अनुसार आफू सचेत हुन पर्याे, मेराे स्थान याे हुनुपर्छ, मैले याे गर्न सक्छु भनेर बाेल्न सक्नुपर्याे । अहिले प्रविधिकाे युग छ, यससँगै घुलमिल हुन सक्नुपर्याे । आर्थिक अवस्था राम्राे भएन भने महिलाहरु सबै हिसाबले पछाडि पर्छन् । शिक्षित हुनुपर्याे । प्रविधिसँग जाेडिनु पर्याे । आफैँ सचेत र अग्रसर हुनुपर्याे । यसमै काम गर्ने हाे ।
समावेशी संविधान जारी भइसकेपछि भएका दुवै प्रादेशीक निर्वाचनमा कर्णाली प्रदेशबाट एकजना महिला पनि प्रत्यक्ष निर्वाचित हुन सकेनन् । किन ? निर्वाचन लड्नका लागि महिला उम्मेदवारहरुलाई कस्ता समस्या हुने गर्छन् ?
त्याे हाे । एकजना पनि महिला निर्वाचित हुन नसक्नु भनेकाे सबै पार्टीहरुले अवसर नदिएर नै हाे भन्ने लाग्छ । कसैले मैले सक्दिन भन्नुभएकाे छ भने त्याे मलाई थाहा भएन । तर सबै पार्टीहरुकाे हेर्दा पार्टीले नै अवसर दिएनन् भन्ने लाग्छ । पुरुष उम्मेदवारकाे तुलनामा महिला उम्मेदवार पनि बढी हुन्थे भने त काेही न काेही महिला त निर्वाचित हुन्थे हाेलान् नि । यसमा त अवसर कै कमी हाे ।
महिलाहरुले प्रतिस्पर्धा गर्ने हिम्मत चाहिँ गर्नैपर्छ । महिलाहरुसँग अहिलेकाे अवस्थामा त आर्थिक कारण नै मुख्य हाे भन्ने लाग्छ । निर्वाचन कत्ति खर्चिलाे हुन्छ भन्ने त सबैलाई थाहा छ । राजनीतिमा लागेका महिलाहरुलाई आर्थिक समस्या छ । अहिले वडाध्यक्षकै उम्मेदवारले २५ देखि ३० लाख खर्च गर्छन्। महिलाहरुले त्यत्राे पैसा कहाँबाट ल्याउने? अर्काे कुरा मैले निर्वाचन प्रचारप्रसारमा हिँड्दा अनुभव गरेकाे, पुरुषलाई जतिबेला पनि बेला हुने । पुरुषहरु रात-बिरात, जहिले, जहाँ, जसरी हिँडेपनि उहाँहरुलाई केही समस्या नहुने । महिलाकाे हकमा चाहिँ दिनमा त हिँड्ने भयाे । निर्वाचनका बेला त चाैबिसै घण्टा खट्नुपर्याे, रणनीति बनाउनु पर्याे । तर त्यसका लागि महिलाहरुले समय नै पाउँदैनन् । रात परेपछि चाहिँ हिँड्न नपाउने, रातकाे समय महिलाहरुकाे लागि कुबेला हुने भयाे । राती राती हिँड्दा चरित्रमाथि प्रश्न खडा हुन्छ । यस्ताे भन्दा एउटै कुरा दाेहाेरिएकाे जस्ताे लाग्न सक्छ तर याे यथार्थ हाे ।
पहिलाे कुरा अवसर नदिइने, अवसर पाइहाले पनि भड्किलाे चुनाव प्रणाली र अर्काे कुरा त फेरि हाम्राे महिलाद्वेषी सामाजिक संरचना नै हाे । यिनै कारणहरुले प्रत्यक्ष निर्वाचन लड्न सकिरहेका छैनन् भन्ने लाग्छ मलाई ।
पछिल्लाे समय नेपालमा तटस्थता कायम गर्न नसकेकाे भनी सभामुखकाे भूमिकामाथि प्रश्न पनि उठ्ने गरेकाे छ । सभामुखकाे हैसियतमा प्रदेशसभामा तटस्थता कायम गर्न के गर्नुहुन्छ ?
म पार्टी राजनीतिबाटै सभामुखकाे जिम्मेवारीसम्म आएकाे हुँ । याे यथार्थ हाे । तर सभामुख भइसकेपछि म पार्टीका जिम्मेवारीबाट अलग भइसकेकाे छु । अब मैले संविधान र प्रचलित कानूनकाे अधिनमा रहेर इमानदारिताका साथ सभामुखकाे भूमिका निर्वाह गर्ने हाे । प्रदेश संसद सचिवालयकाे कार्यविधिअनुसार काम गर्ने हाे । प्रदेशसभामा जति पनि राजनीतिक दलकाे उपस्थिति छ, उहाँहरु सबैसँग सहकार्य गर्छु । सरकारले ल्याएका विधेयकहरुमाथि निष्पक्ष ढंगले छलफल गराउने वातावरण मिलाउँछु । सभामुखकाे जिम्मेवारी र पार्टीकाे जिम्मेवारी फरक हाे र फरक ढंगले निभाउनुपर्छ भन्ने मलाई हेक्का छ । प्रदेशसभाभित्र त म सबैकाे साझा हाे । त्यही अनुरुप काम गर्छु । संविधान र कानुनले दिएकाे अधिकार र सीमा भित्र रहेर सबैकाे साझा भएर काम गर्छु । विवादित हुँदिन ।
पहिले पहिले महिलाहरुले गर्नै सक्दैनन् भन्ने साेचाइ थियाे । तर अहिले अवसर पाए महिलाहरुले धेरै राम्राे गर्न सक्छन् भन्ने साेचकाे केही हदसम्म विकास त भएकाे छ । उदाहरणकै लागि हेराैँ न, विद्यादेवी भण्डारी याे मुलुककाे राष्ट्रपति हुनुहुन्छ । उहाँले गरेरै देखाउनुभएकाे छ । ओनसरी घर्ती पनि संघमा सभामुख हुनुभयाे । उहाँले पनि त्याे भूमिकालाई कुशलतापूर्वक निभाउनुभयाे । सुशिला कार्की प्रधानन्याधीश हुनुभयाे, सर्वाेच्च अदालत हाँकेरै देखाउनुभयाे । अहिले महिलाले पाएकाे जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्दैनन् भन्ने त हुँदै हुँदैन ।

सभामुखका हिसाबले म याे गर्न सक्छु वा यस्ताे गर्छु भन्ने त्यस्ताे केही याेजना छन् ?
यसलाई मैले अवसरका रुपमा लिएकाे छु । काम गर्दै जाँदा चूनाैतीहरु स्वाभाविक रुपमा आउँछन्, त्याे पनि मलाई थाहा छ । याे मेराे पहिलाे संसदीय अभ्यास हाे । यसपालि चार/पाँच जनाबाहेक अन्य सबै पहिलाे पटक प्रदेशसभामा आउनुभएकाे छ । त्यसैले हामीले काम गर्दै, सिक्दै र आफूलाई सुधार गर्दै जाने हाे । आफ्नाे सँगै उहाँहरुकाे क्षमताकाे विकास गर्दै जाने वातावरण मिलाउने हाे । प्रदेशसभाकाे काम कर्तव्य र अधिकार के हाे त? त्याे भूमिका निर्वाह कसरी गर्ने भन्ने पनि छ । प्रदेशसभाका समितिहरु बनाउँदा कसरी प्रभावकारी बनाउने । कार्यव्यवस्था परामर्श समितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सबैसँग समन्वय गरेर अगाडि बढ्छु ।
दाेस्राे, जनसराेकारका विषयहरु छन् । हामीले निर्वाचनका बेला जनतामा लगेका घाेषणापत्रका विषयहरु छन् । घाेषणापत्रमा उल्लेख गरिएका वा भनाैँ जनतासँग गरिएका वाचाहरुलाई प्रदेशसभामा कसरी उठाउने ? कानून बनाएर ती विषयहरुलाई कसरी कार्यान्वयन गर्ने ? यी तमाम विषयहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।
अर्काे कुरा, महिला राजनीतिकर्मी भएका नाताले महिलाहरुकाे क्षमता बढाउने कुरा, राजनीतिमा सहज रुपमा उनीहरुकाे सहभागिता र प्रतिनिधित्व गराउन त्यस सम्बन्धी बनेका कानूनकाे कार्यान्वयन गर्ने कुरामा, महिला मैत्री कानूनहरु निर्माण गर्ने कुरामा हामीले भूमिका खेल्नुपर्छ जस्ताे लाग्छ । प्रदेशमा पहिलाे महिला सभामुख बनेर एउटा इतिहास बनेकाे छ । अब त्याे भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेर अर्काे इतिहास बनाउनु छ, बनाउँछु । उदाहरणीय काम गरेर देखाउँछु ।