प्रतिनिधि सभामा नयाँ अनुहार: यस्ताे छ अनुभव 

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा विभिन्न दलबाट विजयी भएका सांसदमध्ये कतिपय नयाँ अनुहार पनि छन् । कानुन बनाउने र जन सराेकारका विषयमा उनीहरुले के कस्ता मुद्दा उठाइरहेका छन् भन्ने आम जिज्ञासा छन् । तर नयाँ सांसदका लागि चुनाैती पनि उत्तिकै छन् । 

यसै सन्दर्भमा हामीले पहिलाेपटक संसदमा सांसदका रुपमा पाइला टेकेका राजनीतिकर्मीलाई केही प्रश्न साेधेका थियाैँ । पहिलाेपटक सांसदका रुपमा संसदमा सहभागी हुँदा कस्ताे लाग्याे ? तपाईले कल्पना गरेकाे संसद र अहिले भाेगेकाे संसद एउटै लाग्याे कि फरक ? संसदमा के के विषयलाई प्राथमिकताका साथ उठाउनु हुन्छ भनी हामीले केही सांसदलाई साेधेका थियाैँ ।

महेश बर्तौला, नेकपा एमाले 

प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै गरेका सांसद बर्ताैलाकाे भिडियाेकाे स्क्रिनसट

म विश्वविद्यालयको विद्यार्थी राजनीतिबाट आएको व्यक्ति हुँ । जनताको विश्वविद्यालय मानिने संसद्को विद्यार्थी भएको भान भइरहेको छ । जनताले सांसद बनाएर पठाएपछि अहिले पनि आफूलाई विद्यार्थीको रूपमा लिएको छु । 

विगतमा संसद् देशको नीति, ऐन नियमहरू बनाउने, देशलाई संचालन गर्ने जनता र राष्ट्रको हितलाई प्रतिनिधित्व गर्दै त्यसप्रकारको भूमिका खेल्ने महत्वपूर्ण संस्थाको रूपमा लिएको थिएँ । संविधानले संसद बा रे जस्तो व्यवस्था गरेको थियो सोही हिसाबले विगतमा संसदलाई बुझेको थिएँ । आज पनि मेरो बुझाइ बदलिएको छैन । यहाँ प्रवेश गरेका पात्रहरूको भूमिका के हो भन्ने महत्वपूर्ण हो । अहिले हेर्दा संसदमा आएका माननीयहरूको तत्कालको खपतका लागि, ‘पब्लिसिटी स्टन्ट’ का लागि कतिपय कुरा उठाउँछौं । त्यही आफूले उठाएका विषयप्रतिको जवाफदेहीता र गम्भीरता निज माननीयहरूबाट नभएको देख्दा कताकता जनताले एउटा भरोसा गरेर पठाएको छ । सार्वजनिक खपतका लागि एउटा कुरा बोलेको छ र सोही व्यक्तिको व्यवहार अर्कोतिर देख्दा संसदीय प्रणालीप्रति नागरिकहरूको भरोसा टुट्ने खतरा मैले देखिराखेको छु । कतिपय सांसदहरू आफ्नो कामप्रतिको जवाफदेहीता, नैतिकता, सदाचार सबै हिसाबले अलिकति असल संस्कार, विधि र पद्धतिप्रति संस्कार डेलिभर गर्ने थलो संसद्मा तिनै कुरामा च्युत भएको देख्छु । तत्कालको लागि नाफाघाटा हेरेर अगाडि बढ्नु हुँदैन भन्ने म ठान्छु । संसदबा रे मैले अनुमान गरेकोभन्दा बाहिर पाएको छु । विभिन्न राजनीतिक पार्टीहरू रहेको २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा रहेर काम गरेँ । कतिपय माननीयहरू असाध्यै विषयवस्तुबाट सम्झौता गरेर पनि समाधान दिनुपर्छ  भन्ने ठाउँका पनि हुनुहुनेरहेछ । कतिपय विषयवस्तुमा पनि हलो अड्काउने, सामान्य विषयवस्तुलाई पनि असामान्य बनाउन खोजेको पाएँ ।

परिस्थितिलाई असहज बनाउन खोजेको, जानाजान त्यस्तो गरेको अनुभव भयो । कतिपय सामान्य विषयमा राजनीतिक विचार दृष्टिकोण जोडिन जरुरी छैन । त्यस्ता कुरामा पनि विचार दृष्टिकोण आफूले बोकेको आदर्शसँग जोडेर लान खोज्ने, ‘डिरेल’ गर्न खोज्ने । संसदभित्रका गतिविधिहरूलाई स्वच्छ, पारदर्शी र सबैको साझा थलोको रूपमा लानुकाे साटाे अवरोध गर्न खोज्ने, डिरेल भइदिए हुन्थ्यो भन्ने भावना पनि देखियो । भर्खरै आएकाहरूको त क्षम्य हुन्छ तर पुराना नेताहरुबाट समेत त्यस्तो देखियो । मैले संसदमार्फत यो देशका लागि संविधाानअनुसार बन्नुपर्ने कानुनहरूका लागि लगातार पक्षमा भूमिका निर्वाह गर्ने गर्छु। विधेयक ल्याउन सरकारलाई भरसक घच्घच्याउने भूमिका मेरो हुन्छ । आएका विधेयकहरूमा मसिनो रूपमा अध्ययन गरेर, समय दिएर देशको हितको पक्षमा उपयुक्त कानुन बन्ने कुरामा पहिलो पहलकदमी हुन्छ । 

दोस्रो कुरा, जनताका समस्या सदनमार्फत सरकारको कानमा पुर्‍याउने हुन्छ । सरकारले मैले संसदमार्फत उठाएका कुराहरूलाई समाधान गर्नका लागि फेरि संसदमार्फत नै सरकारलाई घच्घच्याउनेछु । ध्यानाकर्षण गर्नेछु, खबरदारी गर्नेछु । कार्यान्वयन भएका कुरा जनतामाझ राख्नेछु । त्यस्तै, विषयगत समितिबाट पनि काम गर्नुपर्ने हुन्छ । विभिन्न मुलुकहरूसँग जोडिएका कुरा पनि गर्नुपर्ने हुन्छ । पारदर्शिता, जनमुखी काम, शिक्षा र स्वास्थ्यका लागि काम गर्नेछु । 

सोविता गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी 

काठमाडाैँ २ मा सांसद विजयी भएकाे प्रमाणपत्र निर्वाचन आयाेगबाट पाएपछि गाैतम तस्बिर साैजन्य: गाैतमकाे फेसबुक

कानुनको विद्यार्थी र युवा अभियन्ताका रूपमा काम गरियो । त्यतिबेला युवा अधिकारको पैरवी गर्ने काम हुन्थ्यो । त्यहाँ उठाउने सबै कुरा संसदसँग गएर जोडिन्थ्यो । काननु निर्माणसँग जोडिँदा संसदमा बसेकाले किन कानुन निर्माण नगरेका होलान् भन्ने लाग्थ्यो । संसदको भूमिका बा रे पनि कानुनको विद्यार्थी भएकाले पनि ‘क्लियर’ थिएँ । संसद कानुन निर्माण गर्ने राज्यको प्रमुख अंग हो र यहाँबाट नै प्रधानमन्त्री र मन्त्री चयन यहाँबाट नै हुन्छन् भन्नेमा प्रष्ट थिएँ । सांसद भएर आएपछि सुरुमा नै प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा बस्ने अवसर पाएँ । संसद्मा पनि छलफलमा भाग लिइरहेको छु । संसदको काम बल्लबल्ल सुरु भइरहेको छ । मैले नियमावली मस्यौदा समितिमा बस्दैगर्दा त्यहाँ मिश्रित अनुभव रहेको छ । त्यहाँ राम्रो अभ्यास भएको अनुभव पनि छ । त्यहाँ विषयवस्तुमा छलफल पनि भएको थियो । तर त्यहाँ नयाँ विचार ल्याउने सांसदहरूकाे धारणा निर्णय प्रक्रियामा समेट्ने विषयमा पनि उदार हुँदारहेनछन् भन्ने अनुभव भयो । सांसदहरूले नयाँ कुरा ल्याएमा पुराना पार्टीकाले ल्याएमा सुन्ने, बढी छलफल गर्ने र सम्बोधन गर्ने हुन्थ्यो । नयाँ सांसद, नयाँ र साना पार्टीका सांसदले नयाँ विचार ल्याएर आएमा त्यति महत्व दिएर नहेर्ने गरिन्थ्यो । बहुमत छैन भन्ने भएपछि ‘डिसमिस’ हुने अवस्था आउने रहेछ भन्ने अनुभव भयो । 

संसदको हकमा अझै मज्जाले बुझ्न पाइसकेको छैन । तर पनि त्यति ‘प्रडक्टिभ’ भइसकेको जस्तो छैन संसदको काम । संसद भवनमा सांसदहरूले हरेक दिन कुनै न कुनै विषयमा बोलिरहेका हुन्छन् । त्यो मुद्दा रेकर्ड हुन्छ तर त्यो अन्तिम लक्ष्यमा पुग्छ कि पुग्दैन भन्ने कुरा प्रष्ट छैन । संसद संचालन नियमावली हेर्ने हो भने मन्त्रीले जवाफ दिनुपर्ने लगायतका कुरा सुनिश्चित गरिएको छ । तर वास्तविक अभ्यासमा त्यो भएको पाइँदैन । सांसदले ढ्यापढ्याप, शून्य र विशेष समयमा बोलेका कुराहरू, हुन त लामो समय भएको छैन र भविष्यमा मन्त्रीहरूले सम्बोधन गर्नुहुने हो कि हेर्न बाँकी छ । तैपनि अहिलेसम्म सांसद बोल्छन् र त्यत्तिकै सकिएजस्तो छ । अनि धन्यवाद ज्ञापन गर्नको लागि दिनभरि बिताइदिने गरिन्छ । यस्ता कुराले संसदले जे काम गर्नुपर्ने हो, त्यो अहिले पनि सकिएको छैन । हामी संसद्को मोडालिटीमा अझै चित्त नबुझेको जस्तो छ । संसद युवामैत्री रहेनछ जस्तो लाग्ने । हामीलाई त जे कुरा पनि फास्ट चाहिन्छ । त्यस्तो कुराहरूमा अलिक चित्त नबुझेको जस्तो लागेको छ । 

अहिले सरकारले भटाभट विधेयक सदनमा ल्याइरहेको छ । ती विधेयकहरूलाई राम्रोभन्दा राम्रो तरिकाले संशोधन लगायत कसरी गर्न सकिन्छ भन्नेमा ‘फोकस’ हुने पहिलो प्राथमिकता छ । हाम्रो भूमिका भनेको कानुन निर्माण नै हो । पछिल्लो समयमा म कर्णाली प्रदेश पनि पुगेर आएको छु । देशमा निराशा छाएको कुरा भनेको आर्थिक स्थिति एकदम कमजोर हुँदै गएको छ । अर्थमन्त्रीले केही पहिले बजेट समीक्षा प्रस्तुत गर्नुभयो । अर्थ सचिवसँग पनि भेट्न गएको थिएँ । त्यहाँ कुरा गर्दाखेरि देशको अर्थतन्त्र कमजोर भएको बताउनुभयो । यो कुराले त जता हेरे पनि समस्या नै समस्या छ । देशमा पैसा छैन । यस्तो अवस्थामा कसरी काम हुन्छ ? यसरी लगानी भएका संस्थाहरू बलियो बनाउने, राज्यले आयआर्जनका क्षेत्र बढाउनुपर्ने, अब के गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श गर्दैछु । राज्यका संस्थाहरूलाई बलियाे बनाउने विषयमा आवाज उठाउँछु । जस्तो, नेपाल एयरलाइन्सको कुरा । हवाइ यात्रुलाई भाडा अति महँगो छ । कर्णालीका नागरिक बिरामी भएमा न त राम्रो अस्पताल नजिकमा छ । अनि हवाइ भाडा अति महंगो छ । अब राज्यका यी संस्थान बा रे आवाज उठाउने तयारी गरिरहेको छु ।