केपी ओलीकाे संसद विघटन सम्बन्धी भनाइसम्बन्धी गगन थापाकाे दाबी अर्धसत्य

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदकाे पहिलाे बैठकमा प्रतिनिधिसभा विघटन ठीक भएकाे र आफूले पटक पटक संसद विघटन गर्ने अभिव्यक्ति दिएकाे दाबी गरेका छन्। गत फागुन १६ गते आफ्नाे निर्वाचन क्षेत्र- काठमाडाैँ क्षेत्र नम्बर ४ मा सम्पर्क कार्यालयकाे उद्घाटन कार्यक्रममा बाेल्दै थापाले यस्ताे दाबी गरेका हुन्। साे कार्यक्रममा उनले गरेकाे भाषणकाे पूरा भिडियाे उनकै नामकाे युट्युब च्यानलमा गत फागुन १७ गते अपलाेड गरिएकाे थियाे। 

कार्यक्रममा पुस १० गते बनेकाे नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सहितकाे सात दलीय गठबन्धन भत्किनुकाे कारण बा रे थापाले भनेका छन्: 

खासगरीकन तपाईहरुलाई याद छ भने, संसदकाे पहिलाे बैठकमा संसदकाे ठूलाे दलकाे रुपमा हाम्राे पार्टी सभापतिले सम्बाेधन गर्नुभयाे शेरबहादुर देउवाले। त्याे बेलामा कुनै सन्दर्भ, प्रसंग उहाँले उठाउनुभएन। कुनै तीताे प्रसंग उहाँले उठाउनुभएन। तर त्यसपछि नेपाल कम्युनिष्ट पार्टी एमालेकाे अध्यक्षज्यूले त्यस संसदमा बाेल्दै गर्दाखेरी संसद विघटन गरेकाे घटना सही थियाे मात्र हाेइन, त्याे सही थियाे र संसद विघटन फेरि पटक-पटक हुन्छ भन्ने कुरा जुन दिन राख्नुभयाे, त्यही दिनबाट पुस १० गतेकाे गठबन्धन टिक्दैन, टिक्नु हुँदैन भन्ने कुराकाे त्याे राजनीतिक साेच सबैलाई परेकै हाे, भएकै हाे। त्यसैले आज जे भएकाे छ, ठिक भएकाे छ। 

गगन थापा

सन्दर्भ के थियाे ?

प्रधानमन्त्री हुँदा केपी ओलीले २०७७ साल पुस ५ र २०७८ साल जेठ ८ गते तत्कालीन प्रतिनिधिसभा विघटनकाे सिफारिस गरेका थिए र तिनै मितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। तर सर्वाेच्च अदालतले दुवै विघटनलाई असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापना गरेकाे थियाे।  

२०७९ साल मंसिर ४ गतेकाे आम निर्वाचन नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससहितकाे गठबन्धनमा  सहभागी भएर लडेकाे थियाे। तर पुस १० गते नेकपा एमालेलाई राष्ट्रपति दिने र सभामुख आलाेपालाे गर्ने सहमतिसहित सात दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेकाे करिब दुई महिना पछि फेरि नेकपा माओवादी केन्द्रले फागुन १२ गते नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाउने सहमति गर्याे। त्यसपछि दाहाल प्रधानमन्त्री हुँदा बनेकाे सात दलीय गठबन्धन टुटेर फागुन १२ गते फेरि नयाँ आठ दलीय गठबन्धन बन्याे। यही प्रसंगमा महामन्त्री थापाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले सहितकाे सात दलीय गठबन्धन टुट्नुकाे कारण २०७९ साल पुस २५ गते नवनिर्वाचित संसदकाे पहिलाे बैठकमा एमाले अध्यक्ष ओलीले संसद विघटन सम्बन्धी दिएकाे अभिव्यक्ति भएकाे दाबी गरेका हुन्। 

केपी ओलीले संसदकाे पहिलाे बैठकमा आफूले विगतमा गरेकाे प्रतिनिधिसभा विघटन ठीक थियाे भन्दै फेरि पनि पटक-पटक संसद विघटन हुन्छ भनेका थिए ? नेपाल चेकले तथ्य जाँच गरेकाे छ। 

तथ्य जाँच 

हामीले सबैभन्दा पहिले थापाकाे भाषणकाे भिडियाे हेर्याैँ । त्यसपछि हामीले २०७९ साल पुस २५ गते बसेकाे संसदकाे पहिलाे बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे सम्बाेधन हेर्याैँ । सांसद थापाले उल्लेख गरेकाे प्रसंग संसदमा पुस २५ गते एमाले अध्यक्ष ओलीले गरेकाे भाषणकाे हाे । उक्त भाषणमा पूर्व प्रधानमन्त्री ‌ओलीले भनेका थिए:

अहिलेकाे ‘काेअलिसन’ ले संविधानकाे रक्षाका लागि काम गर्छ। एकताका नेपालमा बडाे हल्ला चलाइयाे-  प्रतिनिधिसभा विघटन भनेकाे प्रतिगमन हाे। बेलायतमा त कति पटक प्रतिगमन भएछ भएछ, त्यसाे हाे भने त। संसदीय प्रणालीकाे जन्मदाता देशमा प्रतिगमन अस्तिसम्म भएकाे भएकै थियाे। यति धेरै जान्ने पनि अलिक नहाैँ कि ! माैका अनुसारका व्याख्या पनि यति धेरै नगराैँ कि जस्ताे लाग्छ। प्रतिनिधिसभा भंग हुनु प्रतिगमन हाेइन। जनताका अधिकार खाेसिनु, जनताका अधिकारका लागि, जनताकाे अभिमतका लागि जनतामा जानु र जनताकाे अधिकार सार्वभाैमसत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन हाेइन। संसदबाट सरकार बन्नु, संसदबाट सरकार ढल्नु, प्रतिगमन हाेइन। अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढाल्ने वर्ने गरियाे भने प्रतिगमन हुन्छ। अहिलेकाे काेअलिसन प्रतिगमनकाे पक्षमा छैन, जाँदैन। कुठाउँबाट सरकार बनाउने, त्यसमा जाँदैन। जानुहुँदैन। 

केपी शर्मा ओली

२०७९ साल पुस २५ गतेकाे प्रतिनिधिसभाकाे पहिलाे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन हुनु प्रतिगमन नभएकाे भन्दै उनले विगतमा गरेकाे प्रतिनिधिसभा विघटन ठीक थियाे भनेर बचाउ गरेका थिए। एमाले अध्यक्ष ‌ओलीकाे दाबीसम्बन्धी सांसद थापाकाे विवरण यहाँसम्म सही छ । साे बैठकमा करिब २३ मिनेट लामाे सम्बाेधन गरेका ओलीले थापाले दाबी गरेकाे जस्ताे आगामी दिनमा पनि पटक-पटक प्रतिनिधिसभा विघटन हुन्छ भनेर भनेका छैनन्। ओलीले २०७९ साल पुस २५ गते बसेकाे संसदकाे पहिलाे बैठकमा प्रतिनिधिसभा विघटन ठिक थियाे भनी बचाउ गरेकाे सही भएपनि उनले फेरि पटक-पटक प्रतिनिधिसभा विघटन हुन्छ भनेका थिएनन्। त्यसैले थापाकाे दाबी अर्धसत्य भएकाे  नेपाल चेककाे निष्कर्ष छ। 

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदकाे पहिलाे बैठकमा प्रतिनिधिसभा विघटन ठीक थियाे र फेरि पटक-पटक प्रतिनिधिसभा विघटन हुन्छ भनेकाे ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाअर्धसत्य
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदकाे पहिलाे बैठकमा प्रतिनिधिसभा विघटन ठिक थियाे र फेरि पटक पटक प्रतिनिधिसभा विघटन हुन्छ भनेकाे भन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे दाबीमाथि तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।