
बादलझैँ देखिने हिउँ मडारिँदै हिमतालमा झरेकाे नाटकीय दृश्य भएकाे भिडियो सामाजिक सञ्जालमा केही सातायता भाइरल भएको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र सिक्किमकाे एक अनलाइनले याे हालै सगरमाथाको पूर्वी भागमा गएकाे हिमपहिराेकाे दृश्य भएकाे दाबी गरेका छन् । तर यो दाबी भ्रामक छ।
“नेपालको सगरमाथाको पूर्वी भागमा भर्खरै भएको ‘बादल हिमपहिराे’ जस्तो रोमाञ्चक घटनाको साक्षी हुनु दुर्लभ मध्येकाे पनि दुर्लभ घटना हो,” भ्वाइस अफ सिक्किममा फागुन १२ गते प्रकाशित समाचारमा भनिएकाे छ ।
त्यसकाे दुई दिन अघि अला एल्सेयदले नामक फेसबुक प्रयाेगकर्ताले “नेपालमा सगरमाथाको पूर्वी भागमा हालसम्मै नदेखिएको घटना (बादल हिमपहिरो)” भन्ने विवरण सहित भिडियो पोस्ट गरेका थिए। फागुन २७ गतेसम्ममा उनको पोस्ट २९ लाख पटक हेरिएकाे छ भने त्यसले ८८ हजार लाइक र २ हजार २ सयभन्दा बढी प्रतिक्रिया पाएको थियो। कैयाैँ फेसबुक पोस्टमा उक्त भिडियो सगरमाथा हिमालको पूर्वी भागमा गएकाे हिमपहिराेकाे दृश्य भन्ने दाबी गरिएकाे छ।

त्यसैगरी भारतीय टेलिभिजन च्यानल एनडिटिभीले आफ्नाे ट्विटर ह्यान्डलमा उही “हिमपहिरो” को फोटो पोस्ट गर्यो । एनडिटिभीले लिङ्कडइनमा डा. सुब्रमण्यम नारायणनले गरेकाे पाेस्टलाई आधार बनाएकाे छ। (नारायणनकाे पाेस्टकाे स्क्रिनसट हेर्नुहोस्)। “भिडियोमा यसअघि कहिल्यै नदेखिएकाे नेपालकाे सगरमाथामा भएकाे ‘बादल हिमपहिराे’ देखिन्छ,” उक्त टेलिभिजन च्यानलले ट्विट गर्दै लेखेकाे छ ।
डा. नारायणनले लिङ्क्डइनमा पाेस्ट गरेकाे विवरण अला एल्सेयदको फेसबुकमा पोस्टसँग मिल्छ।

साेही भिडियाे @JIX5A ले ट्विटरमा पाेस्ट गरेको पाइएकाे छ। उनकाे स्टाटसकाे केही अंश यस्ताे छ: “सगरमाथाको पूर्वी पर्खालमा बादल हिमपहिराे।” उक्त ट्विट ५४ हजार भन्दा बढी पटक हेरिएको थियो । एक ट्विटर प्रयोगकर्ताले उनकाे दाबीमाथि प्रश्न उठाएपछि @JIX5A ले भ्वाइस अफ सिक्किममा प्रकाशित रिपोर्टको लिङ्क सेयर गरेकाे पाइयाे।
सामाजिक सञ्जालमा भाइरल भिडियाेकाे दृश्य सगरमाथा क्षेत्रमा हालै आएको बादलझैँ देखिने हिमपहिरोकाे हाे?
हामीले साे भिडियोलाई इनभिड नामक उपकरणकाे सहायताले धेरैवटा किफ्रेम (फाेटाे) मा ढाल्याैँ । त्यसपछि गुगल, यान्डेक्स लगायतका सर्च इन्जिनहरूमा गई ती फाेटाे अपलाेड गर्याैँ। त्यसक्रममा एक्युवेदर नामक वेबसाइटमा प्रकाशित किरण श्रेष्ठको युट्युबमा रहेकाे हिमपहिरोको रिपोर्ट र भिडियो फेला पर्याे । २०७७ साल पुसमा श्रेष्ठ र उनका साथीहरूले कास्की जिल्लामा पर्ने कापुचे हिमतालसम्म पदयात्रा गरेका थिए । हिमपहिराे जाँदै गर्दा उनीहरूमध्ये एक जना शम्भु अधिकारी गिटार बजाउँदै आफैंले भिडियाे खिच्दै थिए। “मेरो एक साथीले गिटार बजाउँदै आफ्नै भिडियो खिचिरहेका थिए । त्यसैबेला हिमपहिराे आयो। मैले माथिबाट बादलजस्ताे केही आउँदै गरेको देखेँ । त्यसपछि मलाई लाग्याे याे त्यही हाे । त्यो हिमपहिरो नै थियो,” किरण श्रेष्ठलाई उद्धृत गर्दै समाचारमा भनिएकाे छ। उक्त समाचार अनुसार कापुचे हिमपहिरोको भिडियो २०७७ साल पुस २५ गते खिचिएको थियो।
२०७७ साल बैसाख १० गते द वाशिङ्गटन पोस्टमा प्रकाशित रिपोर्ट अनुसार पनि भिडियाे साेही मितिमा खिचिएकाे थियाे। रिपोर्टमा उद्धृत भिडियो शम्भु अधिकारीकाे भएको जनाइएकाे छ।

दोस्रो पटक गुगलमा हामीले अंग्रेजीमा “शम्भु अधिकारी, किरण श्रेष्ठ, र नेपालमा हिमपहिराे” आदि शब्दहरू राखी खाेजी गर्याैँ । साे खाेजीमार्फत हामी २०७७ साल माघ ६ गते ट्विटरमा एउटा भिडियोमा पुग्याैँ। उक्त भिडियाे क्यानडाकाे वेदर नेटवर्कले ट्वीटरमा पाेस्ट गरेकाे रहेछ। “शम्भु अधिकारी नेपालको कापुचे हिमताल नजिकै गीत रेकर्ड गरिरहेका बेला उनी भन्दा माथिकाे हिमालबाट ठूलो हिमपहिरो खस्यो,” ट्वीटमा भनिएको छ ।
थप जानकारीका लागि हामीले अंग्रेजी भाषामा “किरण श्रेष्ठ हिमपहिराे” जस्ता शब्दहरू प्रयोग गरेर युट्युबमा खोजी गर्यौं। श्रेष्ठ किरन्जले २०७७ साल पुस २७ गते युट्युबमा ४ मिनेट ५० सेकेन्ड लामाे भिडियो अपलोड गरेका रहेछन्। भिडियोको शीर्षक थियाे, “कापुचे हिमताल २०२१ (हिमपहिराे)।”
यसलाई आधार बनाएर हामीले अंग्रेजीमा “शम्भु अधिकारी” प्रयोग गरी खोजी गर्यौं। हामीले २०७७ साल माघ १ गते शम्भु अधिकारीले पाेस्ट गरेको ६ मिनेट २९ सेकेन्डको भिडियो “कापुचे ताल २०२१ (प्रत्यक्ष हिमपहिराे)” फेला पार्यौं। भिडियोमा अधिकारीले तालको किनारमा गितार बजाउँदै भिडियाे खिचिरहेको देखिन्छ।

भाइरल भिडियोकाे हिमताल कापुचे नै हो भन्ने थप पुष्टि हामीले गुगल म्याप मार्फत् गर्याैँ । उक्त हिमपहिराे नेपालको गण्डकी प्रदेशको कास्की जिल्लास्थित अन्नपूर्ण क्षेत्रमा समुद्र सतहबाट २ हजार ५ सय ४६ मिटर उचाइमा रहेकाे कापुचे हिमताल हाे भन्ने ठहर भयाे । याे सगरमाथाबाट करिब २८० किलोमिटर पश्चिममा पर्छ।
तसर्थ, भिडियोमा सगरमाथाको पूर्वी भागमा “बादल हिमपहिरो” देखिएको भन्ने सामाजिक सञ्जालमा गरिएकाे दाबी भ्रामक छ। भिडियोमा भएकाे दृश्य २०७७ साल पुस २५ गते अन्नपूर्ण क्षेत्रको कापुचे हिमतालमा गएकाे हिमपहिरो हाे।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
भिडियाेमा भएकाे दृश्य सगरमाथाकाे पूर्वी भागमा हालै गएकाे हिम पहिराेकाे हाे । | सामाजिक सञ्जाल प्रयाेगकर्ता र भारतीय सञ्चार माध्यम | भ्रामक |