
नविन थापा
कोरोना भाइरसकाे संक्रमण फेरि बढ्न थालेकाे भन्दै अहिले टिकटकमा एउटा भिडियो भाइरल भएकाे छ। @pradipbasnet71 नामक टिकटक प्रयाेगकर्ताले गत फागुन २९ गते भिडियाे क्लिप पाेस्ट गर्दै लेखेका थिए, “नेपालमा फेरि बढ्यो कोरोना। चैत्र १० गतेदेखि लकडाउन गर्ने तयारी हुँदै। सबैजनाले माक्स लगाउन नेपाल सरकारको आग्रह।” उक्त भिडियाेमा गाडी गुडिरहेको बाटोको भिडियो रहेको छ। चैत्र ७ गते सम्ममा साे भिडियाे ७ लाख २३ हजार बढी पटक हेरिएकाे छ भने १८ हजार भन्दा बढी लाइक र ७ सय भन्दा बढी पटक सेयर गरिएकाे छ।
भिडियाेमा एक महिलाले वाचन गरेकाे समाचारमा भनिएकाे छ:
“कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५८ जनाको नमुना परीक्षण मध्ये १४ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २७ पुगे। बिहीबार १३,३३८ जनाले खोप लगाए।”
साेही टिकटकमा पहिलाे पटक @alamarif22 ले पुस १५ गते पाेस्ट गरेका थिए। नेपाल टाइम्स अनलाइनकाे युट्युब च्यानलकाे टप फिफ्टी कार्यक्रममा प्रसारित समाचारबाट सो भिडियोमा लिइएका हाे। साे युट्युब च्यानल विराटनगरस्थित नेपाल टाइम्स अनलाइनकाे भएकाे पाइएकाे छ।
करिब ३ महिना अघि प्रथम पटक पाेस्ट भएको टिकटक भिडियोको आवाजलाई प्रयोग गरी @pradipbasnet71 नामक टिकटक प्रयाेगकर्ताले बनाएको भ्रामक भिडियाे सामग्रीकाे नेपाल चेकले तथ्य जाँच गरेकाे छ।
तथ्य जाँच
सो समाचार नेपाल टाइम्सको युट्युबमा पुस १४ गते पाेस्ट भएको थियाे। समाचार वाचिका रश्मिता उदासले टप फिफ्टी नामक कार्यक्रममा उक्त समाचार वाचन गरेकी थिइन् (भिडियाेमा सम्बन्धित समाचार ४ मिनेट ४५ सेकेण्डदेखि ४ मिनेट ५७ सेकेण्डसम्म छ)। त्यस्तै पुस १४ गते अनलाइनखबरमा पनि काेराेना संक्रमणसम्बन्धी साेही समाचार प्रकाशित भएकाे थियाे।
उक्त भ्रामक भिडियो पुस १५ गते @alamarif22 नामक टिकटकले पाेस्ट गरेको थियो। पुस १५ गते पाेस्ट भएको भिडियोको समाचारलाई प्रयोग गरी @pradipbasnet71 नामक टिकटक प्रयाेगकर्ताले फागुन २९ गते आफ्नो अकाउन्टबाट सडकको भिडियो सहित पाेस्ट गरे। उनले चैत्र १० गतेदेखि लकडाउन हुने गलत विवरणसहित भिडियाे पाेस्ट गरेका थिए। झण्डै ३ महिना अघिको समाचार प्रयोग गरी फैलाइएकाे भिडियाे भ्रामक रहेको हाम्राे निष्कर्ष छ।
हाल सरकारले लकडाउन सम्बन्धी कुनै सूचना जारी गरेकाे छैन।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
काेराेना भाइरसकाे संक्रमण फेरि फैलिएका कारण चैत १० गतेदेखि लकडाउन हुने । | टिकटक प्रयोगकर्ता | भ्रामक |