
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित कार्य गर्न थालेपछि सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्यसकाे विराेध गरेकाे भन्दै अहिले सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियाे भाइरल भएकाे छ । @gaganvision नामक टिकटक खाताबाट २०७९ साल चैत्र १०* गते पाेस्ट गरिएकाे उक्त भिडियाेमा गगन थापाले भनेका छन्: “सरकारले के भन्न खाेजेकाे हाे ? तँ बाेल् त्यति मात्रै जे म सुन्न चाहन्छु । तँ हेर् त्यति मात्रै जे म देखाउन चाहन्छु । तँ सुन् त्यति मात्रै जे म सुनाउन चाहन्छु । तेराे स्वतन्त्रताकाे घेरा मैले काेरेकाे शून्य भन्दा बाहिर छैन । किनकि मलाई चिनेकाे छस् ? म हुँ सरकार । हुँ म सरकार । म हुँ तेराे सरकार ।”
१९ सेकेण्डकाे उक्त भिडियाेमा प्रधानमन्त्री प्रचण्डकाे भिडियाे क्लिप र उनीविरुद्ध नाराबाजी गरेका युवाकाे प्रहरीले मुख थुनेकाे फाेटाे पनि सँगै राख्दै लेखिएकाे छ, “कांग्रेसकाे ब्यानरमा प्रचण्डले विवादित कार्य गर्न थालेपछि महामन्त्री गगन गर्जिए ।” उक्त भिडियाेले छ हजार भन्दा बढी लाइक पाएकाे छ भने भिडियाे एक लाख ४० हजार भन्दा बढी पटक हेरिएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित काम गरेपछि कांग्रेस महामन्त्री थापाले त्यसकाे विराेध गरेका हुन् ? नेपाल चेकले भाइरल भिडियाेकाे सत्यापन गरेकाे छ ।
सन्दर्भ के थियाे ?
गत चैत ७ गते प्रधानमन्त्री प्रचण्ड “५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोह” मा जाँदै गर्दा काठमाडाैँकाे नयाँ बानेश्वरमा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले नाराबाजी गर्ने युवाहरुकाे मुख थुनेका थिए । भाइरल भिडियाेमा राखिएकाे प्रहरीले एक युवाकाे मुख थुनेकाे तस्बिर साेही घटनाकाे हाे । प्रहरीले मुख थुनेकाे विषयलाई लिएर साे घटनाकाे चाैतर्फी आलाेचनासमेत भएकाे थियाे ।
भाइरल भएकाे कांग्रेस महामन्त्री थापाकाे भिडियाेमा प्रतिनिधिसभाकाे लाेगाे देखिन्छ । त्यसैले त्याे भिडियाे संसदकाे हाे भनेर प्रष्ट हुन्छ । हामीले चैत्र ७ गते या त्यसभन्दा पछि कहिले कहिले संसद बैठक बस्याे भनेर खाेज्याैँ । प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासकाे मत लिएपछि चैत्र १२ र १५ गते मात्र संसदकाे बैठक बसेकाे थियाे । तर भाइरल भिडियाे चैत्र ११ गते पाेस्ट गरिएकाे थियाे । यसले प्रचण्डविरुद्ध नाराबजी गरिएकाे घटना र भाइरल भिडियाेमा राखिएकाे गगन थापाकाे भिडियाेबीच सन्दर्भ नमिल्ने स्पष्ट हुन्छ ।
त्यसाे भए भाइरल भिडियाे कहिलेकाे हाे त?
हामीले “सरकार मुख थुन्ने गगन थापा” किवर्ड राखेर गुगलमा खाेज्दा सेताेपाटीमा २०७६ असार १ गते प्रकाशित समाचारमा पुग्याैँ । उक्त समाचारमा थापाले प्रतिनिधिसभामा बाेल्दै सरकारकाे विराेध गरेकाे भिडियाेकाे अंश भेट्याैँ । भाइरल भिडियाेमा प्रयाेग गरिएकाे अंश हामीले सेताेपाटीकाे समाचारमा राखिएकाे भिडियाेमा पनि भेट्याैँ। त्यही समाचारका अनुसार २०७६ असार १ गतेकाे संसद बैठकमा थापाले लेखक ब्रजेश खनालकाे कविता साभार गरेका थिए।
त्यसपछि हामीले २०७६ असार १ गतेकाे संसद बैठक हेर्याैँ। उक्त बैठकमा तत्कालीन केपी ओली नेतृत्वकाे सरकारले ल्याएकाे सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएकाे भन्दै गगन थापाले त्यसकाे विराेध गरेका छन्। संसदमा बाेल्दै सांसद थापाले भनेका छन्:
सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका सबै विधेयकलाई एक ठाउँमा राखेर हेर्याे भने यसबाट सरकारकाे आशय के बुझिन्छ, सम्मानीय सभामुख महाेदय ? सरकारले के भन्न खाेजेकाे हाे ? सायद लेखक ब्रजेश खनालले भन्नुभएकाे जस्तै भन्न खाेजेकाे : तँ बाेल् त्यति मात्रै जे म सुन्न चाहन्छु। तँ हेर् त्यति मात्रै जे म देखाउन चाहन्छु। तँ सुन् त्यति मात्रै जे म सुनाउन चाहन्छु। तेराे स्वतन्त्रताकाे घेरा मैले काेरेकाे शून्य भन्दा बाहिर छैन । किनकि मलाई चिनेकाे छस्। म हुँ सरकार। हुँ म सरकार । म हुँ तेराे सरकार। ब्रजेश खनालले भन्नुभएकाे जस्तै सरकारकाे आशय र सरकारकाे नियत देखिएकाे छ, सम्मानीय सभामुख महाेदय।
गगन थापा
त्यसपछि हामीले “ब्रजेश खनाल कविता गगन थापा संसद” किवर्ड राखेर गुगलमा सर्च गर्याैँ । यसले हामीलाई नेपाल लाइभमा २०७६ साल असार १ गते प्रकाशित समाचारमा पुर्यायाे। साे समाचार अनुसार सांसद थापाले लेखक ब्रजेश खनालले २०७६ जेठ २९ गते ट्विट गरेकाे कविता संसदमा बाेल्दा साभार गरेका थिए।
तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले तत्कालिन केपी ओली नेतृत्वकाे सरकारले ल्याएकाे सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक अभिव्यक्ति स्वतन्त्राविरुद्ध भएकाे भन्दै २०७६ असार १ गतेकाे प्रतिनिधिसभा बैठकमा सरकारकाे विराेध गरेका थिए । तर भाइरल भिडियाेमा २०७९ चैत्र ७ गते प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरुकाे मुख थुनेकाे विषयमा गगन थापालाई जाेडेर उनले प्रचण्डकाे आलाेचना गरेकाे भन्दै सन्दर्भ लुकाइएकाे छ।
तसर्थ, प्रधानमन्त्री प्रचण्डले कांग्रेसकाे आडमा विवादित कार्य गरेकाे भन्दै हालकाे सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डकाे विराेध गरेकाे भन्ने भाइरल टिकटक भिडियाेमा गरिएकाे दाबीमा सन्दर्भ लुकाइएकाे छ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसकाे ब्यानरमा विवादित कार्य गर्न थालेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डकाे आलाेचना गरेकाे । | टिकटक प्रयाेगकर्ता | सन्दर्भ लुकाइएकाे |
*यसअघि चैत १० भएकाेमा सच्याइएकाे छ।