भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथकाे भिडियाे छ वर्ष पुरानाे 

भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले पूर्व राजा ज्ञानेन्द्रलाई अगाडि राखेर नेपालकाे पहिचान र भविष्यलाई लिएर चिन्ता गरेकाे भन्ने दाबीसहित एउटा भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ । २०७९ चैत २० गते अर्जुन गिरी अविरल नामक फेसबुक प्रयाेगकर्ताले त्यस्ताे स्टाटस सहित करीब १२ मिनेटकाे भिडियाे सेयर गरे । साे भिडियाे हालसम्म ४ लाख ६० हजार पटक हेरिएकाे छ भने छ हजार भन्दा बढी सेयर गरिएकाे छ । भाइरल भिडियाेमा सगरमाथा टेलिभिजनकाे बुम देखिन्छ। त्यसैगरी “अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन २०७३” लेखिएकाे ब्यानर पनि देखिन्छ। 

याेगी आदित्यनाथले चैत २० गते भएकाे विश्व हिन्दु सम्मेलनमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएकाे भन्दै नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले चैत २२ गते विज्ञप्ति निकाले। विप्लवले हस्ताक्षर गरेकाे विज्ञप्तिमा भनिएकाे छ, “यही चैत्र २० गते विश्व हिन्दु सम्मेलनमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर दिएकाे अभिव्यक्तिप्रति हाम्राे गम्भीर ध्यान पुगेकाे छ।” उक्त विज्ञप्तिका आधारमा राताेपाटीले “भारतीय मुख्यमन्त्रीकाे अभिव्यक्ति प्रति विप्लवकाे आपत्ति” शीर्षक समाचार प्रकाशित गर्याे । उक्त समाचारमा याेगी आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेपछि ‘विप्लव’ ले आपत्ति जनाएकाे बताइएकाे छ । तर साे समाचारमा याेगी आदित्यनाथले कहाँ र कहिले उक्त अभिव्यक्ति दिए भन्ने खुलाइएकाे छैन। 

याेगी आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेकाे भन्ने दाबीमाथि नेपाल चेकले तथ्य जाँच गरेकाे छ। 

तथ्य जाँच

याेगी आदित्यनाथले ६ वर्षअघि काठमाडाैँमा गरेकाे भाषणकाे भिडियाेकाे स्क्रिनसट

तथ्य जाँचका लागि हामीले युट्युबमा “yogi adityanath sagarmatha TV” लगायतकाे किवर्ड राखेर खाेज्याैँ। सगरमाथा टेलिभिजनकाे युट्युब च्यानलमा २०७३ साल कात्तिक १० गते प्रकाशित याेगी आदित्यनाथकाे १६ मिनेट ४९ सेकेन्डकाे भाषण भेट्याैँ। उनले काठमाडाैँकाे पशुपति क्षेत्रस्थित वनकालीमा आयाेजित “अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन” लाई सम्बाेधन गरेका थिए। साे कार्यक्रममा याेगी आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र कायम गरिनुपर्ने अभिव्यक्ति दिएकाे हामीले पायाैँ। भाइरल भिडियाे आदित्यनाथकाे साेही भाषणकाे हाे। त्यस कार्यक्रम बा रे नेपाल पत्रिकामा आवरणकथा छापिएकाे थियाे भने इकान्तिपुरमा फाेटाे फिचर प्रकाशित भएकाे थियाे।

त्यसपछि हामीले “विश्व हिन्दु सम्मेलन याेगी आदित्यनाथ” किवर्ड राखेर गुगलमा खाेज्याैँ।  तर चैत्र २० गते भएकाे भनी दाबी गरिएकाे  “विश्व हिन्दु सम्मेलन” र याेगी आदित्यनाथसँग सम्बन्धित कुनै सामग्री हामीले भेटेनाैँ। त्यसपछि हामीले फेसबुकमा “विश्व हिन्दू सम्मेलन” किवर्ड राखेर खाेज्दा चैत्र २१ गते बुद्ध टेलिभिजन नामक फेसबुक पेजबाट लाइभ गरिएकाे “विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिकाे धार्मिक महासभा एवं आठाैँ महाधिवेशन” काे भिडियाे भेट्याैँ। बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रत्यक्ष प्रसारण गरिएकाे पाँच घण्टा लामाे साे कार्यक्रममा वक्ताहरु काे काे थिए भनेर हामीले  हेर्याैँ। तर याेगी आदित्यनाथ त्यस कार्यक्रममा सहभागी भएकाे र त्यहाँ भाषण गरेकाे भेटिएन। साे सम्मेलनसम्बन्धी समाचारहरुमा पनि उनी भएकाे विवरण छैन।

विप्लवले आफ्नाे विज्ञप्तिमा “चैत्र २० गते भएकाे विश्व हिन्दु सम्मेलन” भनेर साेही कार्यक्रमलाई इंगित गरेकाे देखिन्छ। चैत २० गते फेसबुकमा आदित्यनाथकाे भाषणकाे भिडियाे भाइरल हुनु र चैत २१ गते विश्व हिन्दु महासंघ नेपालकाे राष्ट्रिय समितिकाे महाधिवेशन हुनुले विप्लवले फेसबुकमा भाइरल भएकाे भिडियाेलाई साेही कार्यक्रमकाे भएकाे भन्ने आधारमा विज्ञप्ति जारी गरेकाे देखिन्छ। विप्लवकाे विज्ञप्तिका आधारमा समाचार प्रकाशित गर्ने राताेपाटी अनलाइनले आदित्यनाथले हालसालै त्यस्ताे अभिव्यक्ति दिए/नदिएकाे सम्बन्धमा खाेजी गरेकाे छैन।  

तसर्थ नेपाल चेकले छ वर्ष पुरानाे उक्त भाइरल भिडियाेसम्बन्धी दाबी भ्रामक ठहर गरेकाे छ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष

भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले २०७९  चैत्र २० गते विश्व हिन्दु सम्मेलनमा नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेकाे । 

नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, राताेपाटी अनलाइन, सामाजिक सञ्जालभ्रामक
भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले २०७९ चैत्र २० गतेकाे विश्व हिन्दु सम्मेलनमा नेपालमा राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भन्ने अभिव्यक्ति दिएकाे भन्ने दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष।