
२०८० साल वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तनहुँकाे निर्वाचन क्षेत्र नम्बर १ काे मतपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह घण्टी नभएकाे भन्दै हाल सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियाे भाइरल भएकाे छ ।
भिडियाेमा मतदान स्थलमा केही मानिसहरु देखिन्छन् । एकजना पुरुषले निर्वाचनमा खटिएका कर्मचारीहरुसँग असन्तुष्टी जनाएकाे सुनिन्छ। उनीसँगै अरुले पनि सवाल जवाफ गरेकाे सुनिन्छ। उनीहरुबीचकाे सवाल जवाफ यस्ताे सुनिन्छ:
पहिलाे व्यक्ति: अहिले तपाईले घण्टी राख्नुभयाे यहाँ । भएकाे के हाे साथी हाे ? तपाईले याे पहिले किन लुकाउनुभयाे? अहिले किन दिनुभएकाे छ ?
दाेस्राे व्यक्ति: मिस्टेकली भएकाे हाे ।
पहिलाे व्यक्ति: मिस्टेककाे कुरा हाेइन । मिस्टेककाे कुरा हाेइन ।
महिला : मिस्टेक त गर्न भएन नि त ।
तेस्राे व्यक्ति : याे पूर्ण रुपमा धाँधली भयाे ।
पहिलाे व्यक्ति: याे पूर्ण रुपमा धाँधली भयाे याे चुनाव ।
चाैथाे व्यक्ति: प्राविधिक केही खराबी हाेला ।
पाँचाैँ व्यक्ति: खुलेआम देखिँदाखेरी कसरी प्राविधिक हुन्छ ?
छैठाैँ व्यक्ति: तीसवटा मतकाे सवाल हाे । केही कानूनी उपचार हाेला नी । हामीले साेधपुछ गरेर उपयुक्त निर्णय गर्छाैँ ।
पहिलाे व्यक्ति: त्याे हाेइन । एकले मान्छेलाई हराउँछ । के गर्नुहुन्छ तपाईँहरु । मान्छेकाे जिन्दगीसँग सवाल छ । यहाँ कति ठाउँमा यस्ताे भकाे हाेला । तपाईले हेर्नुहुन्छ के ? निर्वाचन अधिकृतलाई बाेलाउनुस् यहाँ । त्यसपछि मात्रै स्टार्ट गर्नुस् ।
भिडियाेमा सुनिने वार्तालाप र पृष्ठभूमिमा देखिने निर्वाचनकाे बुथले साे भिडियाे मतदान स्थलकाे हाे भन्ने प्रष्ट हुन्छ ।
pramesh888 नामक टिकटक प्रयाेगकर्ताले उपनिर्वाचनकाे मतदानकाे दिन अर्थात् वैशाख १० गते पाेस्ट गरेकाे उक्त भिडियाेमा लेखिएकाे छ, “तनहुँमा घण्टी चिन्ह भएकाे मतपत्र लुकाएर घण्टी चिन्ह नभाकाे मतपत्र बाँडेकाे खुलासा । ३० वटा मतपत्रमा घण्टी भेटिएन । यस्ताे धाँधली गर्नि ।” पाेस्ट गरिएकाे एकै दिनमा ६१ हजार लाइक र ४२०० पटक सेयर गरिएकाे साे भिडियाे ११ लाखभन्दा बढी पटक हेरिएकाे छ ।
त्यसैगरी, वैशाख १० गते नै सुनराम तामाङ नामक टिकटक प्रयाेगकर्ताले साेही भिडियाे सेयर गर्दै लेखेका छन्, “घन्टी चिन्ह छैन रे । मतदानपत्रमा के हुँदैछ साथीहरु हाम्राे देशमा ?” उक्त भिडियाे तीन लाखभन्दा बढी पटक हेरिएकाे छ । चितवनमा घण्टी चुनाव चिन्ह नभएकाे मतपत्र दिएर रवि लामिछानेलाई हराउने षड्यन्त्र गरिएकाे भन्दै साेही भिडियाे विभिन्न टिकटक प्रयाेगकर्ताहरुले सेयर गरेका छन् । त्यही भिडियाे उदय बराल नामक फेसबुक प्रयाेगकर्ताले वैशाख १० गते सेयर गर्दै मतपत्रमा घण्टी चिन्ह नभएकाे भन्दै सजग रहन भन्दै फेसबुकमा पाेस्ट गरेका छन् ।
एउटै भिडियाेलाई चितवनकाे र तनहुँकाे भनी दाबी गरिएकाे पाइएपछि हामीले यस भाइरल भिडियाेकाे सत्यापन गरेका छाैँ ।
तथ्य जाँच
तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिले “उपनिर्वाचन घण्टी मतपत्र भेटिएन,” “तनहुँ मतपत्र घण्टी चुनाव चिन्ह,” “चितवन मतपत्र घण्टी चिन्ह” लगायतका किवर्ड राखेर गुगलमा खाेज्दा भाइरल भिडियाेसँग सम्बन्धित कुनै सामग्री भेटेनाैँ । त्यसपछि साेही भाइरल भिडियाेकाे कमेन्ट हेर्दै जाँदा याे भिडियाे ‘काेहलपुरकाे त्रिभुवन माविकाे भएकाे र घण्टी चिन्ह नभइ बल्ब चिन्ह नभेटिएकाे’ भन्ने एउटा कमेन्ट देख्याेँ । त्यसपछि हामीले “बल्ब चुनाव चिन्ह बाँके” किवर्ड राखेर खाेज्दा बाँके क्षेत्र नम्बर १ (ख) का स्वतन्त्र उम्मेदवार अर्जुनजंग शाहले मंसिर ४ काे चुनावमा बिजुलीकाे चिम अर्थात् बल्ब चुनाव चिन्ह पाएकाे भन्ने समाचार भेट्याैँ । त्यसपछि हामीले अर्जुनजंग शाह भनेर फेसबुकमा खाेज्दा “धर्मरक्षक अर्जुन” नामक फेसबुक पेजमा “कोहलपुर वाड नं १० हाईस्कुलमा धाँधिलीको आशंका” क्याप्सन राखेर २०७९ साल मंसिर ४ गते अपलाेड गरिएकाे भिडियाे भेट्याैँ । भाइरल भिडियाे र उक्त फेसबुक पेजमा मंसिर ४ मा अपलाेड गरिएकाे भिडियाे उही भएकाे हामीले पायाैँ । यसबाट भाइरल भिडियाे वैशाख १० काे उपनिर्वाचनकाे नभएकाे प्रमाणित हुन्छ । मुल भिडियाेमा भाइरल भिडियाेमा देखिने निर्वाचनमा खटिने कर्मचारीले “तीस मतकाे सवाल हाे” भनेपछि कर्मचारीसँग सवाल जवाफ गर्ने व्यक्तिले “म स्वतन्त्र उम्मेदवार हाे। मैले त्यही हिसाबले प्रचार गरेकाे छु” भनेका छन् । तर उनले त्यसाे भनेकाे अंशलाई भाइरल भिडियाेमा राखिएकाे छैन ।
उक्त फेसबुक अकाउन्टमा राखिएका तस्बिरहरु हेर्दा भिडियाेमा निर्वाचन कर्मचारीहरुसँग वादविवाद गर्ने व्यक्ति तिनै स्वतन्त्र उम्मेदवार अर्जुनजंग शाह नै भएकाे पुष्टी हुन्छ । (यद्यपि निर्वाचन आयाेगले प्रकाशित गरेकाे मंसिर ४ गतेकाे निर्वाचनका उम्मेदवारकाे सूचीमा बाँके १ (ख) का एकमात्र स्वतन्त्र उम्मेदवारकाे नाम अर्जुनजंग शाह नभई अमरजंग शाह लेखिएकाे छ) । “धर्मरक्षक अर्जुन” नामक फेसबुक अकाउन्टबाट २०७९ वैशाख १२ गते बाँके क्षेत्र नम्बर १ (ख) काे उम्मेदवारकाे खर्च विवरण सम्बन्धित एउटा पाेस्ट गरिएकाे छ । उक्त पाेस्टमा खर्च विवरण बुझाएकाे फाेटाेसहित लेखिएकाे छ, “०८०-०१-१२ (१६:४८) सामाजिक सञ्जालमा सार्वजनिक गरेको छु । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश निर्वाचनमा म बाँके क्षेत्र नं १ प्रदेश सभा २ सदस्यको उमेदवार हुदा मेरो चुनाव खर्च विवरण यस प्रकार रहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छु । धन्यवाद।” निर्वाचनमा भएकाे खर्च विवरण पेश गरेकाे फाेटाेमा पनि उम्मेदवारकाे नाम अमरजंग शाह नै लेखिएकाे छ ।
त्याे भिडियाे कुन मतदानस्थलकाे हाे भनेर पनि हामीले खाेज्याैँ । त्यसका लागि हामीले काेहलपुर नगरपालिका वडा नम्बर १० मा भएका मतदानस्थलहरु खाेज्याैँ । निर्वाचन आयाेगकाे वेबसाइटमा प्रकाशित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतदानस्थलहरुकाे सूचीमा काेहलपुर वडा नम्बर १० मा त्रिभुवन मावि एकमात्र मतदानस्थल भएकाे भेटेपछि भाइरल भिडियाे त्यही मतदानस्थलकाे भएकाे पुष्टी भयाे ।

तसर्थ, भाइरल भिडियाे २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे हाे । भिडियाेमा दाबी गरिएकाे जस्ताे याे भिडियाे २०८० वैशाख १० गते भएकाे उपनिर्वाचन (तनहुँ, चितवन र बारा) काे नभई बाँकेकाे काेहलपुर नगरपालिका-१० काे त्रिभुवन मावि मतदानस्थलकाे हाे । पाँच महिना पुरानाे भिडियाेकाे सन्दर्भ लुकाएर काँटछाँट गरी निर्वाचनकाे विषयमा सामाजिक सञ्जालकाे माध्यमबाट भ्रम सिर्जना गर्न खाेजिएकाे नेपाल चेककाे ठहर छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
२०८० साल वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तनहुँ र चितवनका मतपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह घण्टी नभएकाे । | सामाजिक सञ्जाल प्रयाेगकर्ता | भ्रामक |