
नेपाली फेसबुक र ट्विटर प्रयोगकर्ताहरूले हुण्डरीले तहसनहस पारेकाे मेवा खेतीको फोटो हालै सेयर गर्दै त्याे दृश्य नेपालकाे भएकाे दाबी गरेका छन्। गत बैसाख ३१ गते ट्विटर प्रयोगकर्ता @lux_subedi ले साे फोटो सहित यस्ताे ट्वीट गरे:
कोही माछा पोखरामा विष फ्याँकिदिन्छन् । कोही कुखुरा र बाख्राको खोरमै आगो लगाइदिन्छन् । कोही बालीमा विष ‘स्प्रे’ गरिदिन्छन् । विनास गरिदिन्छन् । गरिखान नदिने दुष्ट मानसिकता भएको समाजमा छौँ हामी । यस्तै खुट्टा तान्ने, भलो नचिताउने अपराधिक मानसिकताको कारणले हामीले आर्थिक फड्को मार्न सक्दैनौँ, कहिल्यै सक्दैनौँ । श्राप पर्छ, पाप लाग्छ। घटना नेपालकै हो, हेर्नुहोस् ।
उक्त ट्वीट १८००० भन्दा बढीपटक हेरिएकाे छ भने ३७ पटक रिट्वीट भएकाे छ । उनकाे ट्वीटमा कतिपयले त्याे श्रीलङ्काकाे तस्बिर भएकाे बताएका छन् । त्यसैगरी कैयाैँ फेसबुक पेज र ग्रुपले पनि सुवेदीकाे स्टाटस सहित साे फोटो सेयर गरेका छन् ।
हामीले फोटोको स्रोत फेला पार्न रिभर्स इमेज सर्च प्रयोग गर्यौं। तस्बिर मे २६, २०२१ मा @SrilankaTweet ले ट्वीट गरेकाे फेला पर्यो । उक्त ट्वीटमा हावाहुरीका कारण वावुनियाको ओलुमाडु क्षेत्रका एक युवा किसानकाे छ सय मेवाका बाेटमा क्षति पुगेकाे जनाइएकाे छ । त्यसमा श्रीलङ्काली पत्रकार @PragasGnanam लाई उल्लेख गरिएकाे थियो।
हामीले यस सूचनाका आधारमा इन्टरनेटमा थप खाेजी गर्याैँ । श्रीलङ्काको हिरु न्यूज नामक अनलाइनले दुई वर्षअघि उत्तरी श्रीलङ्काकाे साे क्षेत्रमा हावाहुरीले मेवालाई क्षति पुर्याएको समाचार प्रकाशित गरेकाे पाइयो।

त्यस्तै श्रीलंकाको अर्काे अनलाइनले पनि स्थानीय किसानलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । समाचारमा मे २५ र २६, २०२१ मा आएको हावाहुरीले मेवा र केराका बाली प्रभावित भएको जनाइएकाे छ। उत्तरी श्रीलङ्कामा विनाशका कारण त्यहाँका किसानले करोडौंको क्षति बेहोर्नु परेकाे समाचारमा जनाइएकाे छ ।
तसर्थ, उक्त तस्बिर नेपालको खेतबारीमा भएको क्षति हैन, दुई वर्षअघि श्रीलङ्कामा भएको घटनाकाे हाे भन्ने नेपाल चेकको ठहर छ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
नेपालका खेतबारीमा भएकाे क्षतिकाे तस्बिर । | सामाजिक सञ्जाल प्रयाेगकर्ता | गलत |