
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधसभा सदस्य गगन थापाले २०७८ साल फागुन २० गते पाेखरामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गरेकाे एक घन्टाभन्दा लामाे भाषणकाे छाेटाे भिडियाे क्लिप अहिले सामाजिक सञ्जाल फेसबुकमा व्यापक सेयर भइरहेकाे छ ।
‘क्षेत्री साउद तेजराज’ नामक फेसबुक प्रयाेगकर्ताले २०७९ साल भदाै १३ गते पाेस्ट गरेकाे करिब २२ सेकेन्डकाे क्लिपसँगै लेखिएकाे छ, “अब चुलाचुलामा ग्यास पाइप होइन, हातहातमा मोबाइल आउने । आइफाेन चलाउने कि स्यामसुम गनगने जी ।” भिडियाेमा गगन थापाकाे भाषणकाे यस्ताे अंश राखिएकाे छ :
मलाई प्रधानमन्त्री बनाइदिनुस्, म कस्ताे निर्णय गरिदिन्छु भने ६० वर्ष नाघेका सबै मानिसलाई घरमै बसीबसी महिनाकाे तीस हजार रुपैयाँ, सबैलाई । १८ वर्ष पुगेका सबै मान्छेलाई एउटा माेबाइल फ्री । त्यसमाथि पनि आइफाेन चलाउने कि सामसुङ चलाउने, खाेजी खाेजीकन । माेटरसाइकल चढ्ने मान्छेलाई वर्षकाे १०० लिटर तेल फ्री ।
गगन थापा
याे भिडियाेमा भदाै २९ गते सम्ममा ९४० लाइक र ७७६ कमेन्ट आएकाे थियाे । त्यसैगरी तीन हजारभन्दा बढी सेयर गरिएकाे छ भने तीन लाख ८५ हजारभन्दा बढी पटक हेरिएकाे छ । साेही भिडियाे र स्टाटस १ हजारभन्दा बढी फलाेअर भएकाे ‘हाम्राे सुन्दर सुदूरपश्चिम नेपाल’ नामक फेसबुक ग्रुप र ‘एनबी मिडिया नेपाल’ नामक फेसबुक पेजले पनि सेयर गरेका छन् ।
तथ्य जाँच
उक्त भिडियाे सम्बन्धी तथ्य पत्ता लगाउन सबैभन्दा पहिला हामीले युट्युबमा “गगन थापाले आइफाेन दिने” शब्द सर्च गर्यौं । त्यसबाट स्कट नेपाल भन्ने युट्युब च्यानलमा भाइरल भिडियाेसँग मिल्दाेजुल्दाे तीन मिनेट ३३ सेकेन्डकाे भिडियाे फेला पार्याैँ । तर, उक्त भिडियाेमा २२ सेकेन्डकाे भाइरल भिडियाेमा भएकाे गगन थापाकाे भाषणकाे अंश भेटिएन । त्याे भिडियाेमा हामीले केही ‘क्लु’ फेला पार्याैँ । भिडियाेमा मञ्चमा रहेकाे ब्यानरमा कार्यक्रमकाे मिति २०७८ साल फागुन २० र २१ गते र स्थान शीतलादेवी पार्टी प्यालेस, पाेखरा १२ देखिन्छ । साेही ब्यानरमा कार्यक्रमकाे आयाेजक नेपाली कांग्रेस मादी गाउँपालिका उल्लेख छ ।
त्यसपछि हामीले नेपाली कांग्रेस मादी गाउँपालिका भनेर गुगलमा सर्च गर्दा मादी गाउँपालिकाकाे फेसबुक खाता भेटियाे । त्यही खातामा हामीले खाेज्दै जाँदा २०७८ साल फागुन २० गते पूर्वमन्त्री थापाले भाषण गर्दै गरेकाे १५ मिनेट २४ सेकेन्डकाे भिडियाे भेटियाे । त्याे भिडियाेमा पनि भाइरल भिडियाेमा भएकाे उनकाे भाषणकाे अंश फेला परेन ।
त्यसपछि हामीले “नेपाली कांग्रेस मादी गाउँपालिका अगुवा कार्यकर्ता भेला गगन थापा भिडियाे” भनेर गुगलमा सर्च गर्दा पाेखरा टेलिभिजन एचडीबाट प्रकाशित भएकाे दुई घण्टा छ मिनेट ३७ सेकेन्डकाे भिडियाे भेटियाे । तर, त्याे भिडियाेकाे लिङ्क क्लिक गर्दा त्याे भिडियाे खुलेन ।
त्यसपछि हामीले फेसबुकमा अंग्रेजीमा pokhara television hd भनेर सर्च गर्दा पाेखरा टेलिभिजन एचडीकाे पेज भेटियाे । पाेखरा टेलिभिजन एचडीकाे फेसबुक पेजमा गगन थापाले भाषण गरेकाे भाषणकाे भिडियाे २०७८ साल फागुन २० गते सेयर गरेकाे पाइयाे । (थापाकाे भाषणकाे उक्त अंश १:३६:५५ देखि १:३८:०० मा छ)
कांग्रेसका महामन्त्री थापाले उक्त कार्यक्रममा एक घण्टाभन्दा बढी समय बाेलेका थिए । उनले कार्यक्रममा भनेका थिए :
कमाउने धन्दा बन्द भयाे भने दिने धन्दा पनि बन्द हुन्छ । दिने कुराकाे निर्णय गर्न सबैभन्दा सजिलाे हुन्छ, हेर्नुस् । मलाई प्रधानमन्त्री बनाइदिनुस्, म कस्ताे निर्णय गरिदिन्छु भने ६० वर्ष नाघेकाे सबै मानिसलाई घरमै बसीबसी महिनाकाे तीस हजार रुपैयाँ, सबैलाई । १८ वर्ष पुगेकाे सबै मान्छेलाई एउटा माेबाइल फ्री । त्यसमाथि पनि आइफाेन चलाउने कि सामसुङ चलाउने, खाेजी खाेजीकन। माेटरसाइकल चढ्ने मान्छेलाई वर्षकाे १०० लिटर तेल फ्री । म जत्तिकाे लाेकप्रिय प्रधानमन्त्री काेही हुन्छ ? सबैलाई दिन्छु म । सबैलाई दिइदिन्छु म । सबै कुरा फ्री । ताली पनि आउँछ । सबै वाहवाह पनि हुन्छ । किनकि मलाई कसैले के प्रश्न साेध्दैन भने, त्याे निःशुल्क दिनचाहिँ ढुकुटीमा पैसा कहाँबाट आउँछ ? कसैले साेध्दैन ।
गगन थापा
उनले भाइरल भिडियाेमा दाबी गरिएजस्तै “मलाई प्रधानमन्त्री बनाइदिनुस्, म कस्ताे निर्णय गरिदिन्छु भने ६० वर्ष नाघेकाे सबै मानिसलाई घरमै बसीबसी महिनाकाे तीस हजार रुपैयाँ, सबैलाई…” भनेका हुन् । तर उनले विपक्षी दललाई लक्षित गर्दै जनतालाई उत्तेजित पार्न सजिलाे भए पनि उनीहरुलाई देखाएका सपना पूरा गर्न स्राेत जुटाउन गाह्राे भएकाे भन्ने आफ्नाे तर्कलाई जाेड दिन ती उदाहरण दिएका थिए । आफ्नाे विचारकाे पुष्टि गर्न उनले व्यङ्ग्यात्मक शैलीमा ती उदाहरण पेस गरेका थिए ।
यो सत्यापन अङ्ग्रेजीमा पढ्नुस्
जनताका आवश्यकता पूरा गर्न चाहिने पैसाकाे जाेहाे गर्न गाह्राे हुने सन्दर्भमा थापाले छ महिना अघि गरेकाे लामाे भाषणकाे भिडियाेकाे केही अंश काटेर भ्रम फैलाइएकाे नेपाल चेककाे निष्कर्ष छ ।
दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
---|---|---|
नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री भए ६० वर्ष नाघेकालाई मासिक ३० हजार र १८ वर्ष पुगेकाेलाई निःशुल्क माेबाइल दिने बताएकाे । | फेसबुक प्रयाेगकर्ता | भ्रामक |