नेपाल चेकको भूलसुधार नीति

नेपाल चेकमा प्रकाशित सामग्री सही र विश्वसनीय बनाउन हामी कटिबद्ध छाैँ । यद्यपि हामीलाई थाहा छ, हामीले गल्ती गर्न सक्छाैँ । मान्छेले गल्ती गर्छ नै । नेपाल चेकमा हामी कुनै पनि त्रुटि सच्याउन प्रतिबद्ध छौं । हामीले गल्ती गर्याैँ भने थाहा हुनेबित्तिकै पारदर्शी ढंगले हामी भूलसुधार गर्नेछौं । तपाईंले हाम्रा गल्ती फेला पार्नुभयो वा हाम्रा रिपोर्टहरू अपूर्ण या भ्रामक पाउनुभयो भने कृपया हामीलाई तलको बाकस मार्फत खबर गर्नुहोस् । हामी त्यसलाई यथाशक्य चाँडाे सच्याउनेछौं ।

सच्याउने तरिकाका आधारमा हामीले त्रुटिलाई चार शीर्षकअन्तर्गत राखेका छौं

०१


भूलसुधार

हाम्रो सत्यापनको निष्कर्षलाई नै असर गर्ने वा बदल्ने गल्ती फेला परे हामी सम्बन्धित सामग्रीको शीर्षकमै “भूलसुधार” शब्द थप्छौं र उक्त सामग्री अद्यावधिक गर्छौं ।

०२


अद्यावधिक

हामीले सत्यापन गरेको सामग्रीमा थप स्पष्ट पार्न जरुरी भए वा नयाँ सूचना वा सन्दर्भ थपिएकाे जानकारी दिन पर्ने भए हामी शीर्षकमै “अद्यावधिक” शब्द र अद्यावधिक गरिएको मिति-समय थप्छौं ।

०३


सामान्य त्रुटि

हाम्राे सत्यापनको निष्कर्ष नबदल्ने स-साना त्रुटिकाे हकमा हामी त्यस्तो त्रुटि भएको शब्द, वाक्य वा अनुच्छेदसँगै एस्टरिक चिन्ह प्रयोग गर्छौं र रिपोर्टको अन्त्यमा सच्याइएको जानकारी गराउँछाैँ ।

०४


भाषिक र व्याकरणीय त्रुटि

हाम्रो सत्यापनको निष्कर्ष वा अर्थमा असर नपार्ने साधारण भाषिक र व्याकरणीय त्रुटिलाई हामी उल्लेख नगरी कुनै पनि बेला सच्याउँछाैँ।