
मिथ्याले तपाईंलाई हानि गर्छ, तपाईंको समय, पैसा र स्वास्थ्यमा नकारात्मक असर पार्छ । नभएको कुरालाई भएझैँ सुनियोजित ढंगले चलाइएको दुष्प्रचारको फेला पर्नुभयो भने त्यसले तपाईंको निर्णय क्षमता क्षीण पार्छ । समग्रमा गलत, भ्रामक र जानी नजानी फैलाइएको खराब सूचना वा दाबीले समाजमा फाटाे ल्याउँछ, मतदातालाई भ्रममा राख्छ । त्यसले हाम्रो लाेकतन्त्रलाई कमजाेर पार्छ ।
हामी को हौं?
विपत्ति, महामारी वा निर्वाचनजस्ता देशकै भविष्य प्रभाव पार्ने घटना हुँदा मिथ्या वा गलत, भ्रामक र सन्दर्भ नखुलाइएका अभिव्यक्ति, सूचना र सामग्री व्यापकरूपमा छिट्टै फैलिन्छन् । निश्चत स्वार्थ पूरा गर्न नियोजित ढंगमा वा नजानेरै फैलाइने त्यस्ता सूचना, मन्तव्य, भाषण वा सामग्रीको सत्यता प्रमाणित गर्दै सही सूचना सबैसम्म पुर्याउनु जरुरी छ ।
त्यसैले हामीले नेपाल चेक थालेका छाैँ । हामी झूट अर्थात् तथ्यहीन, मिथ्या, असत्य, झूटो दाबी वा सामग्री पहिचान गरी तिनको सत्यता प्रमाणित गर्छौं । अर्थात् नेपाल चेकमा हामी चेक गर्छौं, सत्यापन गर्छौं, तथ्यजाँच गर्छौं ।
गलत, भ्रामक र अर्ध-सत्य सामग्री केवल सामाजिक सञ्जालका ‘सर्वसाधारण’ प्रयाेगकर्ताले मात्र फैलाउँदैनन्, थुप्रैले ‘विश्वास’ गर्दै मत समेत हाल्ने राजनीतिकर्मी, सार्वजनिक व्यक्तित्व र निर्वाचित पदाधिकारीहरुले पनि जानीजानी वा नजानेरै त्यस्ता सूचना र मन्तव्य दिन्छन्, फैलाउँछन् ।
त्यसैले सार्वजनिक पदाधिकारीहरू, निर्वाचित प्रतिनिधिहरू र राजनीतिक दलका नेता कार्यकर्ताहरूलाई तिनीहरूका भनाइ र दाबीको सत्यापन गर्दै जवाफदेही बनाउने उद्देश्य लिएर हामी यो स्वयंसेवी अभियानमा आएका छौं ।
नेपाल चेक एउटा स्वतन्त्र र निष्पक्ष मञ्च हो । स्वदेशी र अन्तर्राष्ट्रिय माध्यममा पत्रकारिता गरेका व्यावसायिक पत्रकारहरू र शाेधकर्ताहरूले याे वेबसाइट चलाउँछन् । गैरनाफामूलक संस्था ओपन नेपाल इनिसिएटिभले नेपाल चेकको व्यवस्थापन गर्छ ।
हामी तपाईंसँग सहकार्य गर्न चाहन्छौं । आउनुस्, झूट र अर्ध-सत्यको डटेर सामना गरौँ, शंकास्पद दाबीको मिलेर तथ्यजाँच र सत्यापन गरौं । अनुसन्धान नै गरेर हामीलाई सघाउन तपाईंसँग समय छैन भने हाम्राे कामको प्रतिक्रिया दिएर वा सत्यापन गर्ने विषय पठाएर पनि तपाईंले यो अभियानमा साथ दिन सक्नुहुन्छ।
हाम्रो टिमसम्बन्धी जानकारी यहाँ छ।
हामी के गर्छौं?
हामी पारदर्शिता र जवाफदेहिताकाे प्रबर्धन गर्छौं।
हामी सार्वजनिक वृत्तमा गरिएका दाबी सही हुन् कि हाेइनन् भनी जाँचेर दाबीकर्तालाई जवाफदेही बनाउँछौं । जानाजानी वा नजानेरै झूट फैलाउने काम राेक्नु वा कम गर्नु हाम्रो उद्देश्य हाे ।
हामी नेपाली सामाजिक सञ्जालमा फैलिएको मिथ्या चेक गर्छौँ, तिनको सत्यापन गर्छौं । हामी मूलधारका सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित झूटा दाबीहरू पहिचान गरी प्रमाणित सामग्री प्रकाशन गर्छौं । हामी निश्चित पार्टी, समूह वा विचारको पक्ष वा विपक्षमा छैनौं, समर्थन वा विरोध गर्दैनौँ । हामी मतदाताहरूलाई तथ्यमा आधारित र प्रमाणित सूचना दिई सही निर्णय र छनोट गर्न सघाउँछौँ ।
हामी तथ्यपरक र विश्वसनीय स्रोतमा आधारित निष्पक्ष रिपोर्टहरू प्रकाशित गरेर मिथ्याको प्रतिवाद गर्छौँ । हामीलाई थाहा छ, धेरैजसाे सामयिक विषयहरू जटिल हुन्छन् । तर तिनलाई सकभर सबैले बुझ्ने भाषामा सविस्तार व्याख्या गर्न सकिन्छ । त्यस्ता विस्तृत जानकारीले आम मानिसलाई कुनै पनि विषयमा आफ्नो धारणा बनाउन मद्दत गर्छन् । हामी सञ्चारकर्मी, राजनीतिकर्मी, विद्यार्थी, व्यवसायी या अन्य जो कोहीलाई मिथ्याको प्रतिवाद गर्ने क्षमता विकास गर्न सघाउँछौँ । त्यसका लागि हामी सत्यापन वा तथ्यजाँच र डिजिटल साक्षरतालगायतका विषयमा कार्यशाला, तालिम र छलफल गर्छौं ।
हामीले सत्यापन-तथ्यजाँच गरेका सामग्रीकाे निष्कर्षलाई हामी पाँच वर्गमा राख्छौं । ती हुन्:
सही गलत अर्ध-सत्य भ्रामक अप्रासङ्गिक
हाम्रा मूल्यांकनको वर्गीकरण परिस्थितिअनुसार थपिन सक्छ ।
हाम्रा वर्गको परिभाषा:
- सही : सत्यापन वा तथ्यजाँचपछि सही साबित भएका सामग्री ।
- गलत : सत्यापन वा तथ्य जाँचपछि गलत साबित भएका सामग्री ।
- अर्ध-सत्य : दाबीका केही अंश सही तर महत्त्वपूर्ण भाग गलत भएका सामग्री ।
- भ्रामक : सामग्री सही नै भए पनि फरक मिति र सन्दर्भमा फैलाइएका वा गरिएका दाबी ।
- अप्रासङ्गिक : प्रसङ्ग नमिलेका, बेप्रसङ्गका वा बिनासन्दर्भका दाबी ।
सत्यापन ना. [सं]
नेपाली बृहत् शब्दकोश
१. कुनै भनाइको सत्यता प्रमाणित गर्ने काम, आवश्यक कुराको जाँचपडतालपछि पत्ता लगाइने सत्यता।
२. सत्यको पालना वा निर्वाह गर्ने काम।
हामी कसरी सत्यापन गर्छौं?
सत्यापन वा तथ्यजाँचको केन्द्रमा कुनै पनि सामग्रीकाे यथार्थ वा सत्य प्रमाणित गर्ने कार्य हुन्छ ।
हामी परम्परागत र ओपन साेर्स इन्भेस्टिगेसन (असिन्ट) भनिने सार्वजनिक रूपमा डिजिटल मञ्चमा उपलब्ध स्रोत सामग्री र विधि प्रयोग गरेर दाबी सही हाे कि हाेइन भनी पुष्टि गर्छौं ।
कुनै सामग्री कति व्यापक रूपमा फैलिएकाे छ, त्यसको सत्यापन गरिएन भने त्यसले के कस्तो हानि गर्न सक्छ, त्यसलाई ‘प्रभावशाली’ वा कस्ता व्यक्तिले फैलाइरहेका छन् जस्ता केही प्रश्नकाे जवाफका आधारमा हामी कुनै कुराको सत्यापन गर्ने कि नगर्ने टुंगाेमा पुग्छौँ । त्यसपछि हामी शाेध अनुसन्धान गर्छाै । यसका लागि हामी अनलाइन माध्यम र विषय विज्ञ दुवैकाे सहयाेग लिन्छाैँ । तथ्यजाँचकाे निष्कर्ष प्रमाणमा आधारित हुन्छ ।
मिथ्या पहिचान गर्न हामी परम्परागत र डिजिटल मिडिया र सामाजिक सञ्जालकाे निगरानी गर्छाैँ । सामाजिक सञ्जालमा प्रकाशित हुने हरेक सामग्री (जस्तै मिम, फोटो, भिडियो, पोस्ट वा यी सबैको संयोजन) लाई हामी दाबीका रूपमा बुझ्छाैँ । सामाजिक सञ्जाल प्रयोगकर्ता, सार्वजनिक व्यक्ति, सार्वजनिक वृत्तमा रहेका व्यक्ति वा निर्वाचित पदाधिकारी, दलका उम्मेदवार तथा वा राजनीतिक दलका नेताका भनाइ वा मन्तव्य हाम्रालागि दाबी हुन् । कुनै पनि शंकास्पद सूचना वा दाबी देखेपछि हामी त्यसलाई ‘पाँच क’ (कहिले, कसरी, किन, कहाँ र कसले) काे कसीमा केलाउँछाैँ । जस्तै: के यो सही हाे ? के यो भ्रामक छ ? के यो अर्ध-सत्य हो ? त्यसकाे जाँचपड्ताल गर्छाै र एउटा निर्क्याेल निकाल्छाैँ ।
चेक ना. [अङ्.]
नेपाली बृहत् शब्दकोश
५. कुनै काम भयो वा भएन भनि पुन: राम्ररी विचार पुर्याउने काम ।
६. जाँच ।
७. रुजु, भिडान ।
नेपाल चेकमा प्रकाशित हुने सामग्रीका प्रकार:
१
सत्यापन-तथ्यजाँच
कुनै पनि माध्यमबाट प्रचारित प्रसारित कुनै पनि भनाइ, जानकारी, दाबी, सूचना वा सामग्रीको सत्यापन वा तथ्यजाँच गर्दै हामी नेपाल चेकमा प्रस्तुत गर्छौं ।
२
सप्रसङ्ग
कतिपय जटिल विषयलाई हामी आवश्यकताअनुसार पृष्ठभूमि र प्रसङ्ग खुलाएर सहजै बुझिने सरल भाषामा प्रस्तुत गर्छौं ।
३
निगरानी
हामी नेपालका परम्परागत र नयाँ माध्यममा आएका सामग्रीको चिरफार गर्छौं, संसदीय गतिविधिकाे अवलाेकन गर्छौं र छानिएका विषयलाई नेपाल चेकमा प्रस्तुत गर्छौं।
४
स्रोत सामग्री
मिथ्याको प्रतिवाद गर्ने तौरतरिका, सत्यापन-तथ्यजाँच अनि डिजिटल साक्षरताको जानकारी वा यस्तै विषयमा हामीले तयार परेका वा अन्य प्रमाणित मञ्चमा उपलब्ध कुरा हामी प्रकाशन वा पुन:प्रकाशन गर्छौं।
५
हालखबर
हामी आफ्नै गतिविधि वा अन्य विषयसम्बन्धी हाम्रा पाठक र सहयोगीहरूलाई जानकारी दिन्छौँ।
झूटो वि. [प्रा. झुट्ठ]
नेपाली बृहत् शब्दकोश
१. असत्य, साँचो नभएको
२. कानुनविरोधी, किर्ते (सबुत, प्रमाण आदि)
३. नमिल्ने वा हुँदै नभएको (दाबी, बयान, समाचार, सूचना आदि)
-
नेपालकाे विवाहकाे भिडियाेलाई भारतकाे भन्दै गलत दाबीका साथ फैलाइयाे
नेपालकाे सुदूरपश्चिम प्रदेशस्थित बझाङ जिल्लामा हालसालै भएकाे एक विवाहकाे भिडियाे गलत दाबीका साथ सामाजिक सञ्जालमा भाइरल भएकाे छ । डाेलीमा चढेर विदा हुन लाग्दा राेइरहेकी बेहुलीकाे भिडियाेमा गलत दाबी गर्दै भाइरल बनाइएकाे छ । हाम्राे तथ्य जाँचमा साे भिडियाे एक महिना अघि बझाङमा भएकाे विवाहकाे भएकाे पाइएकाे छ ।
-
एसईई परीक्षाकाे नतिजासम्बन्धी भिडियाे ४ वर्ष पुरानाे
माध्यमिक शिक्षा परीक्षा (एसईई) काे नतिजा प्रकाशित भएकाे भन्दै एउटा भिडियाे टिकटकमा भाइरल छ । नेपाल चेककाे तथ्य जाँचमा साे भिडियाे झण्डै चार वर्ष पुरानाे भएकाे फेला परेकाे छ ।
-
नझुक्किनुस्, याे तस्बिर नेपालकाे हैन, श्रीलङ्काकाे हाे
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हावाहुरीले क्षति पुर्याएको मेवा खेतीको तस्बिर सेयर गर्दै साे तस्बिर नेपालकाे भएको दाबी गरेका छन् । तर नेपाल चेकले उक्त तस्बिर दुई वर्षअघि श्रीलंकामा भएको घटनाको भएको फेला पारेकाे छ।