उम्मेदवारहरूले कसरी गरे सामाजिक सञ्जालको प्रयोग ?

Photo by Tracy Le Blanc on Pexels.com

नेपालमा मंसिर ४ गते आम निर्वाचन सम्पन्न भयो । निर्वाचनको अन्तिम नतिजा अनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसले कुल ८९ सिट जितेर पहिलो दल बन्यो । नेकपा एमालेले कुल ७८ सिट जितेर दोस्रो र माओवादी केन्द्रले कुल ३२ सिट जितेर तेस्रो दल बन्यो । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौ‌ं दल बन्यो। यस पटकको आम निर्वाचनमा नेकपा एमालेले २८ लाखभन्दा बढी लोकप्रिय मत प्राप्त गर्‍यो भने नेपाली कांग्रेसले २७ लाखभन्दा बढी मत प्राप्त गर्‍यो । 

चुनावमा जितेका अन्य दलहरूले जेजति मत प्राप्त गरे पनि पछिल्ला आम निर्वाचन (२०७४ र २०७९ को निर्वाचन) मा चुनाव प्रचारशैली भने बदलिएको छ । विभिन्न दल र उम्मेदवारहरूले चुनाव प्रचार गर्ने परम्परागत शैली (चोकचोकमा भाषण र र्‍याली, सार्वजनिक स्थलका भित्तामा पर्चा-पम्प्लेट र चुनावी नारा) छाडेर डिजिटल माध्यम अर्थात् फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक सञ्जाल प्रयोग गरेका छन् ।    

बढ्दो डिजिटल प्रचार 

विगतका निर्वाचनहरूमा राजनीतिक दलहरूले परम्परागत शैलीमार्फत आफ्नो चुनावी अभियान गर्ने गर्थे । उम्मेदवारहरू आफ्ना मतदातासमक्ष प्रत्यक्ष रूपमा उपस्थित हुने, अन्तरक्रिया गर्ने, घरदैलो अभियान सञ्चालन गर्ने र चुनाव प्रचारप्रसारको क्रममा पर्चा, पम्प्लेट बाँड्ने गर्थे । चुनावअघि भाषण र चारैतिर र्‍यालीका आवाजहरू सुनिन्थे । दलका चुनावविशेष नाराहरू भित्तामा लेखिएका हुन्थे । तर पछिल्लो समय सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै चुनाव प्रचारप्रसारको शैली पनि बदलिएको छ ।

नयाँ र पुराना राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघि ‘जुलुस, आमसभा, कोणसभा, भित्तेलेखन, घरदैलो अभियान र सञ्चारमाध्यममा प्रचारप्रसार सामग्री प्रकाशन गर्न’ रोक लगाएकाले सामाजिक सञ्जाल उम्मेदवारहरूका लागि चुनाव प्रचारप्रसार गर्ने सजिलो माध्यम बन्यो । 

यसअघि २०७४ सालको आम निर्वाचनमा पनि राजनीतिक दलहरूले सामाजिक सञ्जाललाई चुनाव प्रचारकाे माध्यम बनाएका थिए । त्यतिबेला उम्मेदवारहरूले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल बढी प्रयोग गरेका थिए । २०७४ को चुनावमा विवेकशील साझा पार्टीले फेसबुकमार्फत चुनाव प्रचार गरेको थियो । तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले फेसबुकमा आफ्नो तस्बिरसहित ‘अबको आशा, विवेकशील साझा’ लेखिएको फ्रेम सेयर गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलले पनि सो निर्वाचनमा सामाजिक सञ्जालमार्फत चुनाव प्रचार गरेका थिए । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे चुनावी भिडियाे २०७४ मंसिर ४ गते नेकपा एमालेकाे फेसबुक पेजमा पाेस्ट गरिएकाे थियाे । एक मिनेट लामाे भिडियाेमा आफ्नाे विगत खाेतल्दै आफूले राष्ट्रिय स्वाभिमान, लाेकतन्त्रका कुरा गर्न चाहेकाे भन्दै त्याे सिंगाे देशकाे चाहना भएकाे बताएका थिए ।  “आज म हिजोको होइन, भोलिको कुरा गर्न चाहन्छु, सम्झनाका कुरा होइन, सपनाका कुरा गर्न चाहन्छु । मलाई थाहा छ, यो मेरो मात्र चाहना होइन, तपाईं अनि सिंगो देशको चाहना हो,” उनले भनेका थिए । उक्त भिडियाेकाे अन्त्यमा “सूर्यमा मतदान गराैं । देश बदलिनेछ तपाईंकाे एक मतले” भन्ने सन्देश राखिएकाे थियाे ।  

२०७४ काे निर्वाचनमा पुराना दलभन्दा नयाँ दलहरूले सामाजिक सञ्जालको प्रयोग बढी गरेको वरिष्ठ पत्रकार कुन्द दीक्षितले बीबीसीसँग बताएका थिए । बीबीसीसँग उनले भनेका थिए, “सामाजिक सञ्जालका लागि नै भए पनि भिडियो अथवा अन्य सामग्री नयाँ दलहरूले बनाएका छन् । सामाजिक सञ्जालमा नयाँ दलहरूको उपस्थिति धेरै छ । मूलधारका दलहरूले यस्तो गरेको म देख्दिनँ ।”

हालैकाे आम निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवारहरूले विभिन्न सामाजिक सञ्जालमार्फत प्रशस्त मात्रामा चुनाव प्रचारप्रसार गरेका थिए । समग्रमा यस पटकको आम निर्वाचनमा पनि विभिन्न दल एवम् स्वतन्त्र उम्मेदवारका लागि सामाजिक सञ्जाल एक चुनावी संग्राम जस्तै बनेको थियो । 

कसले बढी प्रयोग गरे सामाजिक सञ्जाल ?

इन्टरनेटको पहुँच नभएका क्षेत्रका उम्मेदवारदेखि इन्टरनेटको राम्रो पहुँच भएका क्षेत्रका उम्मेदवारले सामाजिक सञ्जाल प्रयोग गरे । सबै उम्मेदवारहरूले सबै खाले चुनाव प्रचार नगरे पनि एसएमएस, ह्वाट्सएप र भाइबरमार्फत पनि चुनावी प्रचारका लागि बनाएका जिड्गल र भिडियो एवम् अडियाे सन्देशहरू फेसबुकमा सेयर गरिदिन आग्रह गरेका थिए  । 

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि केवल १७ दिनको समयावधि र सीमित माध्यम तोके पनि उम्मेदवारहरू र तिनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत तोकिएको समयसीमा अघिपछि पनि सामाजिक सञ्जालमार्फत चुनावी प्रचारप्रसार गरिरहे । सो समयावधि अनुसार उम्मेदवारहरूले १७ दिन मात्र चुनावी प्रचार गर्न पाउने भए पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ५ लाख ११ हजार फलोअर्स भएको फेसबुक पेजमा चुनावभन्दा झन्डै ६० दिनअघि अर्थात् असोज ९ गते “अँध्यारोबाट उज्यालोको यात्रा, चुनाव चिह्न हँसिया हथौडा, भोट फर माओवादी” लेखिएको पोस्टर सेयर गरिएको थियो । यस्तै एमाले अध्यक्ष ओलीले झन्डै ५० दिनअघि अर्थात् असोज २८ गतेदेखि सामाजिक सञ्जालमा चुनावको प्रचार थालेका थिए । 

यस पटकको निर्वाचनमा सामाजिक चुनावी प्रचारप्रसारका लागि सञ्जाल प्रयोग गरेर सबैभन्दा बढी चर्चा कमाउने उम्मेदवारहरूमा एमाले अध्यक्ष केपी शर्मा ओली, गगन थापा, रवि लामिछाने, सागर ढकाल, रवीन्द्र मिश्र, तोसिमा कार्की, सोविता गौतम, पुकार बम, योगेश भट्टराई, मानुषी यमी भट्टराई  आदि पर्दछन् । यी उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणादेखि मतदातालाई धन्यावाद ज्ञापन र विजयी उम्मेदवारलाई बधाई समेत सामाजिक सञ्जालमार्फत नै दिएका थिए । 

ट्वीटरमा रवि लामिछानेका ४ लाख २१ हजार फलोअर्स छन् भने फेसबुकमा ११ लाख ४७ हजारभन्दा बढी फलोअर्स छन् । रवीन्द्र मिश्रका ८ लाख ७० हजार फेसबुक फलोअर्स छन् भने ट्वीटरमा १० लाखभन्दा बढी फलोअर्स छन् । सागर ढकालका फेसबुक फलोअर्स ३ लाखभन्दा बढी छन् भने फेसबुकमा तोसिमा कार्कीका ८४ हजार फलोअर्स छन् । यस्तै सोविता गौतमका २६ हजार फेसबुक फलोअर्स छन् भने पुकार बमका ३४ हजार फेसबुक फलोअर्स छन् । मानुषीका ३२ हजार फलोअर्स छन् भने ट्वीटरमा ११ हजारभन्दा बढी फलोअर्स छन् । योगेश भट्टराईका ३ लाख ६२ हजार फेसबुक फलोअर्स छन् भने ४ लाख ६५ हजार ट्वीटर फलोअर्स छन् । 

सामाजिक सञ्जालमा छाए ओली

यस पटक चुनाव प्रचारप्रसारका लागि सामाजिक सञ्जालमा सबै खाले तरिका अपनाउने उम्मेदवार थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । टिकटक, इन्स्टाग्राम, ४ लाख १४ हजार फलोअर्स भएको फेसबुक र ८ लाख ३१ हजार फलोअर्स रहेको ट्वीटर लगायत उनका सामाजिक सञ्जाल खाता र पेजहरूलाई चुनावकाे प्रचार गर्न प्रयाेग गरिएकाे थियाे । चुनाव प्रचारप्रसारका लागि उनकाे सामाजिक सञ्जाल फेसबुक खाता २०७९ असोज २८ देखि सक्रिय रहेको देखिन्छ । “आउँदो चुनावमा लागि घोषणापत्रमा राख्न तपाईंले पठाएका सुझावहरू हेर्नतिर लागियो,” क्याप्सन सहित तस्बिर पोस्ट गरिएकाे ओलीको आधिकारिक फेसबुक पेज असोज २८ देखि चुनाव प्रचारमा सक्रिय देखिन्छ भने  मंसिर ३ गते “धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासँग साग केलाउँदै” क्याप्सन सहित ओली र पत्नी राधिका शाक्यकाे तस्बिर पोस्ट गरेपछि फेसबुकमा चुनावी प्रचारबाट विश्राम लिएकाे देखिन्छ ।  

ओलीकाे सामाजिक सञ्जालमार्फत  “मंसिर चार, केपी ओली सरकार” लेखिएका पोस्टहरू गरिएका थिए। ओलीले युवा पुस्तालाई रिझाउन एलओडीमा गएर आफ्नो पार्टीको चुनावी गीत र्‍याप सार्वजनिक गर्नुका साथै टेलिफोनमार्फत आफ्ना मतदातासँग “कल केपी बा” नामक कार्यक्रमबाट प्रत्यक्ष संवाद समेत गरेका थिए । आफ्ना मतदातासँग गरिएको रेकर्डेड संवादलाई पनि उनकाे फेसबुक र टिकटकमार्फत प्रसारण समेत गरिएकाे थियाे । चुनाव प्रचारप्रसारका क्रममा फेसबुकमा “कसरी मतदान गर्ने र शेरबहादुर देउवा वा आफ्नो कसको हातमा देश सुम्पने भन्ने निर्णय गर्ने बेला आएको छ” भन्दै ओलीकाे भिडियाे सेयर गरिएकाे थियाे । चुनाव प्रचारका लागि ओलीकाे आधिकारिक फेसबुक पेजमार्फत आफ्ना मतदाताका टिकटक भिडियो सेयर गरेका थिए । विभिन्न क्षेत्रमा आफू सहभागी चुनावी सभाका हरेक तस्बिर र भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरिएकाे थियाे । 

ओलीले चुनावी प्रचारप्रसारमा सामाजिक सञ्जालको भरपूर प्रयोग गरेका थिए ।  विभिन्न सामाजिक सञ्जालका प्रयोगकर्ता तिनलाई उपयुक्त हुने फर्म्याटमा सन्देश वा अभिव्यक्ति दिँदै प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य ती सामग्रीकाे रहेकाे थियाे । ओलीकाे चुनाव प्रचार अभियानमा सबैभन्दा बढी लोकप्रिय सञ्जालहरू टिकटक, फेसबुक, ट्वीटर र इन्स्टाग्रामको प्रयोग गरिएकाे थियाे । ओलीले असोज २८ देखि मंसिर ३ गतेसम्म सामाजिक सञ्जाल फेसबुकमा गरेका जम्मा १३६ पोस्टमध्ये ९२ वटा चुनाव प्रचारप्रसारका पोस्ट थिए । सामाजिक सञ्जालमार्फत गरिएको चुनावी प्रचारमा कतिसम्म सक्रियता देखिन्थ्याे भने उनको पोस्टमा निरन्तर कमेन्ट गर्ने प्रयोगकर्ताकाे सामग्री समेत आधिकारिक पेजमा पोस्ट गरिएकाे थियाे । टिकटकमा चर्चित कविता नेपालीको ३८ सेकेन्ड लामाे भिडियो उनकाे पेजमा सेयर गरिएकाे थियाे । कविता नेपालीकाे आधिकारिक टिकटक अकाउन्टबाट सेयर गरिएको उक्त भिडियोले २३ लाख पटक हेरिएको छ । ओलीको आधिकारिक पेजबाट २०७९ कात्तिक ३० मा वाटरमार्क हटाएर सेयर गरिएको सोही भिडियो १३ लाख पटक हेरिएको छ भने ७५ हजार लाइक र ४३ सय कमेन्ट पाएको छ ।

ह्यासट्याग बढी प्रयोग गर्ने गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको क्षेत्र नं ४ बाट चुनाव जिते । चुनावी अभियानको क्रममा कपन क्षेत्रको डुबान समाधान गर्ने, उचित सहरी विकास, प्रोजेक्ट गभर्मेन्ट, स्वास्थ्य, शिक्षा क्षेत्रको सुधार लगायत मुद्दा उनले उठाएका थिए । चुनावअघि नेवारी पोसाकमा सजिएर घरदैलो कार्यक्रम गर्नेदेखि विभिन्न उमेर समूहका मतदातालाई भेट्ने कार्यक्रममा थापा व्यस्त थिए । चुनावसँग सम्बन्धित तस्बिर र भिडियो खिचेर उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट फेसबुक र ट्वीटरमार्फत पोस्ट गरेका थिए । 

सामाजिक सञ्जाल ट्वीटरमा गगन थापाका १२ लाख फलोअर्स छन् भने फेसबुकमा उनका ५० हजारभन्दा बढी फलोअर्स छन् । चुनावी प्रचारप्रसारका लागि थापा भदाै १५ गतेदेखि सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । सामाजिक सञ्जाल प्रयोग गर्दा थापाले छोटो क्याप्सन र ह्यासट्यागको बढी प्रयोग गरेका थिए । उनले “मंसिर ४, काठमाडौं ४, गगन थापा, इलेक्सन, नेपाल” जस्ता ह्यासट्यागको बढी प्रयोग गरेका थिए । 

चुनाव प्रचारप्रसारको क्रममा थापाका समर्थकहरूले सामाजिक सञ्जालमा गगन थापा जिताऊँ अभियान नै चलाएका थिए । यति मात्र नभई थापाका समर्थकले फेसबुकमा “मिसन पीएम” पेज पनि खोलेका थिए । 

नयाँ उम्मेदवारको नयाँ प्रचार शैली 

पुराना दल र तिनका उम्मेदवारहरू मात्र नभई वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारहरूले पनि सामाजिक सञ्जालमा चर्चा कमाए । तोसिमा कार्की र सागर ढकाल त्यसका उदाहरण हुन् ।  सुरुमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी डा तोसिमा कार्कीले पछि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत उम्मेदवारी दिएर ललितपुरको क्षेत्र नं ३ बाट चुनाव जितिन् । उनी २०७९ भदौ २४ देखि चुनावी अभियानका लागि सामाजिक सञ्जालमा सक्रिय थिइन् । राजनीतिमा युवा र परिवर्तनका लागि मतदान भन्दै उनले चुनाव प्रचारप्रसारका लागि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, टिकटक र इन्स्टाग्राम प्रयोग गरिन् । कार्कीले आफ्ना चुनावी प्रचारका पोस्टहरूमा ‘देशको नीति निर्माण र परिवर्तनका लागि युवाको खाँचो’ जस्ता स्टाटस सेयर गरेकी थिइन् । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका युवा सागर ढकालले पनि भोट माग्न फरक तरिका अपनाए । डोटेली भाषाको लवजमा भोट मागेर उनी चर्चामा आए । डडेल्धुराका विभिन्न गाउँमा पुगेका ढकालले चुनाव प्रचारप्रसारका हरेकजसो गतिविधि उनले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । ढकालका फेसबुक पोस्ट हेर्दा भोट माग्न उनले भिडियो प्रयाेग गरेका थिए । कात्तिक २७ गते फेसबुकमा उनले यस्ताे पोस्ट गरेका थिए,  “कुनै चलखेल नभए जित सुनिश्चित नै छ । इन्डिया, खाडीमा हुनुभएका सम्पूर्ण डडेल्धुरावासीले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुईमा मतदान गर्न भन्नुहोला । आज नवदुर्गा वडा २ नम्बरमा बूढी आमाले ‘नातिले फोन गरेर सुई र धारामा भोट हाल्न भन्या छ । निकै खुसी लाग्यो । आउनुहोस् है छिटोछिटो सबै जना डडेल्धुरा ।”  

उनले चुनाव प्रचारप्रसारको क्रममा गुनासो र आफ्ना विचारहरू समेत सामाजिक सञ्जालमार्फत सेयर गरेका थिए । निर्वाचनको समयमा ढकालका समर्थकहरूले सामाजिक सञ्जालमार्फत सागर ढकाल जिताऊँ अभियान समेत चलाएका थिए । 

चुनावका दाैरान सामाजिक सञ्जालकाे प्रयाेग अमेरिका, बेलायत र भारत जत्तिकै व्यापक नभए पनि नेपालमा यसको प्रयोग लगातार बढिरहेको छ । नेपालमा लोकप्रिय सामाजिक सञ्जाल बढी प्रयाेग गर्ने युवा र विदेशमा रहेका नेपालीलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएकोले चुनावमा सबै उम्मेदवारहरूले यसकाे अत्यधिक प्रयोग गरेका छन् ।