
माध्यमिक शिक्षा परीक्षा (एसईई) काे नतिजा प्रकाशित भएकाे भन्दै अहिले टिकटकमा एउटा भिडियो भाइरल भएकाे छ । @shahilbhandari08 नामक टिकटक प्रयाेगकर्ताले गत जेठ १३ गते भिडियाे क्लिप पाेस्ट गर्दै लेखेका थिए, “एसईईकाे नतिजा सार्वजनिक ।” करीब १० सेकेण्डकाे उक्त भिडियाेमा एउटा समाचारकाे क्लिप छ । जेठ १८ गतेसम्म भिडियाे २१ लाख बढी पटक हेरिएकाे छ भने ७५ हजार भन्दा बढी लाइक र २७०० भन्दा बढी पटक सेयर गरिएकाे छ ।
भिडियाेमा एक महिलाले वाचन गरेकाे समाचारमा भनिएकाे छ:
“परीक्षा नियन्त्रण कार्यालयद्वारा एसईईकाे नतिजा सार्वजनिक । १६ हजारले ल्याए ‘ए प्लस’ । त्यसतलकाे ग्रेड ल्याउने पुरक परीक्षामा सहभागी हुनसक्ने ।”
उक्त टिकटक पाेस्टमा आएका प्रतिक्रियामध्ये अधिकांशले त्याे भिडियाे पुरानाे भएकाे बताएका छन् ।
तथ्य जाँच

हामीले तथ्य जाँचका लागि सर्वप्रथम ती किवर्ड प्रयाेग गरी गुगलमा खाेज्याैँ । तर उक्त भिडियाे फेला परेन । त्यसपछि हामीले समाचारमा भनिएका तिनै शब्द राखेर फेसबुकमा खाेज्याैँ । फेसबुकमा एकमुष्ट खाेज्दा नभेटिएपछि भिडियाेमा क्लिक गर्याैँ । त्यसपछि सो समाचार नेपाल टाइम्स नामक अनलाइनकाे फेसबुक पेजमा २०७६ साल असार १२ गते पाेस्ट गरिएकाे फेला पर्याे । साे मितिलाई पछ्याउँदै हामीले नेपाल टाइम्सकाे युट्युब च्यानमा साे भिडियाे फेला पार्याैँ । समाचार वाचिका रश्मिता उदासले टप फिफ्टीन नामक कार्यक्रममा उक्त समाचार वाचन गरेकी थिइन् । त्यस्तै २०७६ साल असार १२ गते नागरिक बहस अनलाइनमा पनि साेही समाचार प्रकाशित भएकाे थियाे ।

नेपाल टाइम्सकाे युट्युब च्यानमा राखिएकाे भिडियाे ५ मिनेट लामाे छ । तर त्यसलाई काँटछाँट गरी सन्दर्भ लुकाई भाइरल बनाइएकाे छ । झण्डै ४ वर्ष अघिको समाचार प्रयोग गरी भिडियाे फैलाइएकाे भिडियाे भ्रामक रहेको हाम्राे निष्कर्ष छ ।
२०७९* सालमा भएकाे एसईई परीक्षाकाे नतिजा आउन बाँकी नै छ ।
| दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
| एसईई परीक्षाकाे नतिजा आएकाे | टिकटक प्रयाेगकर्ता | भ्रामक |
*यसअघि २०७८ भएकाले सच्याइएकाे छ ।
