बाढीले बगाएकाे पुलकाे याे फाेटाे पाँचथरकाे हाे, स‌ङ्खुवासभाकाे हाेइन

नेपालमा २०८० सालकाे मनसुन शुरु भएसँगै बाढी र पहिराेका घटना भएका छन् । गत असार २ गते पूर्वी नेपालमा परेकाे अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर र स‌ङ्खुवासभा जिल्लामा केही मानिसकाे मृत्यु हुनुका साथै पुल, सडक र जलविद्युत आयाेजना लगायतमा क्षति भएकाे छ। पूर्वी पहाडका ती जिल्लाका विभिन्न ठाउँमा गएकाे बाढी र पहिराेमा परी ८ जनाकाे मृत्यु भएकाे हुनुका साथै २७ जना बेपत्ता भएकाे समाचारमा जनाइएकाे छ ।

यसै सन्दर्भमा गत असार २ गतेयता विभिन्न अनलाइनमा हेवा खाेलाकाे बाढीले क्षति पुर्याएकाे पुल भन्दै एउटा तस्बिर सेयर गरियाे । साेही तस्बिर सामाजिक सञ्जालमा पनि सेयर गरियाे । कतिपय अनलाइनले साे तस्बिर गलत भएकाे फेला परेपछि सच्याए भने कतिले सच्याएनन् ।

राताेपाटीमा असार ३ गते बाढी पहिराे सम्बन्धी समाचार प्रकाशित भयाे । विराटनगरबाट प्रेषित ‘संखुवासभामा बाढीले बगाएर एक जनाकाे मृत्यु, १६ जना बेपत्ता’ शीर्षक समाचारमा बाढीले बगाएकाे हेवा खाेलाकाे पुलकाे तस्बिर छ । समाचारमा संखुवासभाकाे हेवा खाेलामा आएकाे बाढीले बगाएर एक जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । त्यसैगरी नेपाल लाइभमा पनि साेही तस्बिर संखुवासभाकाे हेवाखाेलामा आएकाे बाढीले बगाएकाे पुलकाे भन्दै प्रकाशित छ ।

राताेपाटीमा प्रकाशित उक्त तस्बिर संखुवासभाकाे नभई पाँचथरकाे भएकाे हाम्राे तथ्य जाँचमा फेला परेकाे छ ।

गुगल अर्थमा देखिएकाे हेवा खाेलाकाे पुलकाे स्क्रिनसट

हेवा खाेला नाम गरेकाे खाेला पूर्वी पहाडी जिल्ला पाँचथर र संखुवासभा दुवैमा रहेकाेले याे भ्रम फैलिएकाे पाइएकाे छ । संखुवासभामा रहेकाे हेवा खाेलामा आएकाे बाढीले पनि पुल बगाएकाे समाचारमा उल्लेख छ । तर सामाजिक सञ्जाल फैलिएकाे र बाढीकाे समाचारसँगै प्रकाशित पुलकाे फाेटाे पाँचथरकाे भएकाे हाम्राे तथ्य जाँचमा फेला परेकाे छ ।

२०७७ साल जेठ १२ गते खिचिएकाे पाँचथरस्थित हेवा खाेलाकाे पुलकाे फाेटाे । साैजन्य : गिरिराज बाँस्काेटा
गत असार २ गतेकाे बाढीले पाँचथरकाे हेवा खाेला पुल बगाएपछिकाे फाेटाे । साैजन्य : गिरिराज बाँस्काेटा

हामीले उक्त तस्बिरलाई रिभर्स इमेज सर्च गरेर खाेज्दा फेला पार्न सकेनाैँ । उक्त तस्बिर मेची राजमार्गस्थित पाँचथरकाे फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाकाे सिमानामा रहेकाे हेवा खाेलाकाे पुलकाे हाे । तथ्य जाँचका लागि हामीले शिलापत्रका फिदिमस्थित संवाददाता गिरिराज बाँस्काेटालाई सम्पर्क गर्याैँ । उनले पनि साे पुल पाँचथरकाे हेवा खाेलाकाे भएकाे पुष्टि गरे ।

दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
संखुवासभाकाे हेवा खाेलाकाे पुल बाढीले भत्काएकाे फाेटाे ।सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयाेगकर्ताभ्रामक
असार २ गतेकाे अविरल वर्षाका कारण गएकाे बाढीले बगाएकाे संखुवासभाकाे हेवा खाेलाकाे पुलकाे फाेटाे भन्ने दाबीकाे तथ्य जाँचपछि नेपाल चेककाे निष्कर्ष ।