नझुक्किनुस्, याे टिकटक भिडियाेकाे दृश्य मेयर शाहका समर्थककाे हाेइन, भारतकाे ओडिशामा भएकाे रथ यात्राकाे हाे

प्रवीण भट्ट

गत जेठ ३२ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा हिन्दु देवी सीता अर्थात जानकी भारतीय छाेरी हुन् भन्ने स‌ंवाद भएकाले त्यसलाई नसच्याए कुनै पनि हिन्दी फिल्म काठमाडाैँका हलमा चल्न नदिने चेतावनी दिएका थिए । र असार ३ गते सो चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म कुनै पनि भारतिय फिल्म काटमाडौंमा चल्न निषेध गरेको घोषणा गरेका थिए। तर, नेपाली ब्लग माई संसारका अनुसार फिल्ममा त्यस्ताे संवाद भने छैन । मेयर शाहकाे कदम विरुद्ध चलचित्र स‌ंघले हालेकाे रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

यसै सन्दर्भमा blackraja32 नामक टिकटक प्रयोगकर्ताले  गत असार १० गते एउटा भिडियो पोस्ट गर्दै सडकमा मानिसकाे ओइराे लागेकाे दृश्य मेयर शाहका समर्थककाे भएकाे दाबी गरे । १७ सेकेन्डको ड्राेनबाट खिचिएकाे भिडियोमा नेपालीमा लेखिएको छ, “उच्च अदालत पाटनले हिन्दी फिल्म नराेक्न अन्तरिम आदेश जारी गरेपछि उच्च अदालतको विरुद्ध काठमाडौंकाे दृश्य ।” शहरकाे एउटा सडकमा मानिसले भरिएकाे देखिने उक्त दृश्य बालेन शाहका काठमाडाैँवासी समर्थककाे भएकाे दाबी गरिएकाे छ।

गत असार ७ गते उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका सिनेमा हलमा हिन्दी फिल्म नराेक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । असार ११ गतेसम्म उक्त पाेस्ट टिकटकमा पाँच लाख भन्दा बढी पटक हेरिएको छ भने ५० हजार भन्दा बढी लाइक आएकाे छ । त्यस्तै पाेस्ट पाँच सय भन्दा बढी सेयर गरिएकाे छ भने १ हजार भन्दा बढी प्रतिक्रिया आएको छ। उक्त अकाउन्टले  “बालेन” ह्यास्ट्याग प्रयोग गरेर धेरै भिडियोहरू पोस्ट गरेको छ ।

असार १२ गते टिकटक प्रयाेगकर्ता rock kanxa (@user1582492505720) ले पनि साेही भिडियो सेयर गरे । यो भिडियो पनि पाँच लाख भन्दा बढी पटक हेरिएको छ भने ३० हजार भन्दा बढी लाइक आएको छ। उक्त पोस्टमा अदालतको आदेश’bout मेयर शाहकाे प्रतिक्रियाकाे समाचारकाे अडियाे पनि संलग्न छ। (भिडियाेकाे अर्काइभ यहाँ  हेर्नुहोस्)।

तथ्य जाँच

उक्त भिडियोकाे मूल संस्करण पत्ता लगाउन हामीले त्यसलाई की-फ्रेममा बदल्याैँ । त्यसपछि रुसी सर्च इन्जिन यान्डेक्समा  खोजी गर्याै । त्यसाे गर्दा उक्त भिडियो भारतकाे उडिसा राज्यमा मनाइने जगन्नाथ रथ यात्रा नामक उत्सवको हुनसक्ने देखियाे ।

उक्त रथ यात्रासँग जाेडिएका शब्द प्रयोग गरेर गुगलमा खाेज्दा हामीले युट्युबमा यस्तै दृश्य र सडक भएकाे भिडियो भेट्याैँ। यस क्रममा भारतीय समाचार एजेन्सी एशिया न्यूज इन्टरनेशनलको एक भिडियोमा भएको विवरणले सो भाइरल क्लिपमा देखिएको दृश्य ओडिशा राज्यकाे पुरीस्थित ग्रान्ड रोडको हो भन्ने पत्ता लाग्याे।

टिकटक भिडियाेमा देखिएकाे ताल (बायाँ) र गुगल अर्थमा साे तालकाे जियाेलाेकेसन (दायाँ)

गुगल अर्थमा पुरी शहरको ग्रान्ड रोड खण्डसँग टिकटक भिडियोकाे दृश्य तुलना गर्दा मिल्न गयाे। तसर्थ भिडियो भारतकाे ओडिशा राज्यकाे पुरी शहरको ग्रान्ड रोड खण्डमा खिचिएकाे पुष्टि भयो।

टिकटक भिडियाेमा देखिएकाे ठाउँ (बायाँ) र गुगल अर्थमा साे ठाउँकाे जियाेलाेकेसन (दायाँ)

भाइरल टिकटक भिडियोमा दाबी गरिएझैँ उक्त दृश्य काठमाडौंका मेयर बलेन्द्र शाहका समर्थककाे हाेइन।  उक्त दृश्य भारतको ओडिशा राज्यको पुरीमा जगन्नाथ रथ यात्रामा सहभागीहरुकाे भएकाे पत्ता लागेकाे छ।

भारतीय चलचित्र आदिपुरुषकाे प्रदर्शनमा राेक लगाएपछि त्यस विरुद्ध पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै मेयर बालेन्द्र शाहको समर्थनमा काठमाडौंमा प्रदर्शन भएकाे भन्दी दाबी गर्दै भाइरल टिकटक भिडियो भ्रामक छ। 

दाबीदाबीकर्ता नेपाल चेक निष्कर्ष
पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै मेयर बालेन्द्र शाहको समर्थनमा काठमाडौंमा भएकाे प्रदर्शनकाे भिडियाे । टिकटक प्रयाेगकर्ताभ्रामक
पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै काठमाडाैँमा मेयर बालेन शाहका समर्थकहरुकाे प्रदर्शनीकाे भिडियाे भन्ने दाबी सहित भाइरल भिडियाेकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष । 

भट्ट ग्लाेबल प्रेस जर्नलका नेपालस्थित तथ्य जाँचकी हुन् ।