एक साता अघि धरान उपमहानगरपालिका वडा नं ११ मा गाेरुकाे मासु खाँदै गरेकाे भिडियाे भाइरल भएकाे थियाे । त्यसमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेकाे छ । साे घटना पछि त्यहाँकाे सद्भाव खबल्बलिने सम्भावना भएकाे भन्दै स्थानीय प्रशासनले गत भदाै ८ गते र्याली वा भेला नगर्न निषेधाज्ञा जारी गरेकाे थियाे ।
यसै सन्दर्भमा गत भदाै ९ गते गाै हत्याकाे विरुद्ध सद्भाव र्यालीकाे आयाेजना गरिएकाे थियाे । विभिन्न जिल्लाबाट इटहरीमा भेला भई धरानतिर बढेकाे बिशाल र्यालीलाई प्रहरीले सुनसरीकाे तरहराबाट अघि बढ्नबाट राेकेकाे थियाे । त्यसका लागि भदाै ९ गते विहानैदेखि इटहरीलाई धरानसँग जाेड्ने सडकमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे थियाे ।
भदाै ९ गतेदेखि साेही र्यालीकाे तस्बिर र भिडियाे भन्दै एउटा सामग्री सामाजिक सञ्जालमा भाइरल छ । याे सामग्री एक्स, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फैलिएकाे छ । कतिपयले इटहरीमा भएकाे र्यालीकाे तस्बिर सहित उक्त भिडियाे फाेटाे सेयर गरेका छन् भने कतिले धरानकाे जनलहर भन्दै फाेटाे पाेस्ट गरेका छन् । भाइरल फाेटाेमा गेरु रंगका पाेसाक लगाएका सयाैँकाे संख्यामा र्यालीमा सहभागी भएकाे देखिन्छ । उक्त तस्बिरमा ध्वजा पताका देखिन्छ भने सडक छेउमा आकाशे नीलाे रंगकाे पक्की घर प्रष्ट देखिन्छ ।
नेपाल चेककाे तथ्य जाँचमा त्याे सामग्री दुई महिना अघि वीरगञ्जमा भएकाे र्यालीकाे फेला परेकाे छ ।

तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिला उक्त फाेटाेलाई गुगलमा रिभर्स इमेज सर्च गर्याै । त्यस क्रममा हामीले हमार वीरगञ्ज नामक अनलाइनले साेही तस्बिर गत असार ५ गते प्रकाशित गरेकाे पायाैँ । उक्त समाचारमा साे र्याली वीरगञ्जकाे माइस्थानस्थित गहवामाई मन्दिरकाे ११ औँ वार्षिकाेत्सवकाे अवसरमा आयाेजना गरिएकाे उल्लेख छ । समाचारमा उक्त र्यालीमा पर्सा जिल्लाका साथै छिमेकी बारा, राैतहट अनि भारतबाट समेत भक्तजन सहभागी भएकाे उल्लेख छ ।
त्यसकाे थप पुष्टि गर्नका लागि हामीले स्थानीय अनलाइन र समाचार पत्रका साइटमा उक्त र्यालीसम्बन्धी समाचार खाेज्याैँ । वीरगञ्ज सञ्जाल नामक अनलाइनमा पनि साे फाेटाे वीरगञ्जमा दुई महिना अघिकाे रथयात्राकाे भएकाे जनाइएकाे छ । त्यस्तै वीरगञ्जकाे प्रतीक डेलीमा पनि साे रथयात्राकाे समाचार प्रकाशित छ ।
हामीले गरेकाे तथ्य जाँचमा उक्त सामग्री गत भदाै ९ गते धरानमा आयाेजना गरिएकाे धार्मिक र्यालीकाे नभई दुई महिना अघि वीरगञ्जमा भएकाे रथयात्राकाे भएकाे फेला परेकाे छ । तसर्थ सामाजिक सञ्जालमा भाइरल उक्त सामग्री भ्रामक छ ।
| दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
| गाै हत्या विरुद्ध धरानमा भएकाे र्यालीकाे फाेटाे/भिडियाे | टिकटक प्रयाेगकर्ता | भ्रामक |
