
केही दिनयता टिकटकमा एउटा भिडियाे भाइरल छ । नागढुंगा नाैबिसेबाट सिधै काठमाडाैँ जाने सुरुङ मार्ग भन्दै गुडिरहेकाे गाडिबाट खिचिएकाे भिडियाेमा सुरुङ मार्ग देखाइएकाे छ । @gauleketo9898 नामकाे टिकटक अकाउन्टमा उकरत ३० सेकेण्ड लामाे भिडियाे पाेस्ट गत साउन १८ गते गरिएकाे थियाे । त्यसयता त्यसलाई २० लाखभन्दा बढी पटक हेरिएकाे छ भने ६८ हजारभन्दा बढी लाइक गरिएकाे छ ।
भिडियाेसँगै “रेलै सरर” भन्ने दाेहाेरी गीत राखिएकाे छ । ती टिकटक प्रयाेगकर्ताले आफूलाई “गाउँले केटाे म” भनेर चिनाएका छन् भने नाम हरी गाेदार थापा क्षेत्री र ठेगाना भरतपुर, चितवन उल्लेख गरेका छन् । उनले हरेकजसाे पाेस्टमा #harigodar9898 ह्यासट्याग प्रयाेग गरेका छन् ।
तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिला उनका अरु भिडियाेहरु हेर्याैँ । त्यसबाट उनी साउदी अरबमा कार्यरत नेपाली कामदार रहेकाे थाहा भयाे । उनी गाडि चालककाे रुपमा काम गर्ने हुनाले आफ्नाे यात्राका भिडियाे टिकटकमा पाेस्ट गरेकाे देखिन्छ ।

हामीले भिडियाेलाई नजिकबाट पटक-पटक हेर्याै । चिल्लाे पिचबाट एउटा सेताे कारकाे पछि लाग्दै सुरुङ भित्र छिरेकाे दृश्य छ । सुरुङकाे प्रवेशद्वारमा नीलाे रंगकाे बाेर्ड छ । त्यसमा भएका शब्दलाई गुगलकाे सहायताले अनुवाद गर्दा त्याे अरबी भाषामा भएकाे थाहा भयाे । अरबी भाषा अरबका धेरै देशमा बाेलिने भएकाले हामीले साउदी अरबकै सुरुङकाे बा रे मा गुगल र युट्युबमा खाेजी गर्याैँ । त्यसका लागि उनकाे टिकटकमा गरिएका कमेन्टलाई आधार बनायाैँ । कमेन्टमा कतिपयले त्याे साउदीकाे अरबकाे अल बहा सडककाे सुरुङ हुनसक्ने बताएका छन् ।

खाेजीका क्रममा हामी माइक भियाडाे नामक युट्युब च्यानल पुग्याैँ । “अल बहाज ट्वेन्टी फाइभ टनेल्स” शीर्षक राखी ९ वर्षअघि उनले २७ मिनेट लामाे भिडियाे पाेस्ट गरेका रहेछन् । साे भिडियाेकाे ५ मिनेट ४८ सेकेण्डदेखि भाइरल भिडियाेकै सुरुङ देखिन्छ । ३० सेकेण्डपछि माइककाे भिडियाेमा सुरुङकाे अर्काे पट्टिकाे दृश्य देखिन्छ । डेन्जरस राेड्स भन्ने वेबसाइटमा पनि उक्त सुरुङ बा रे सामग्री प्रकाशित छ ।
भाइरल भिडियाेमा भएकाे दृश्यसँग हामीले यस भिडियाेमा भएकाे सुरुङबाट निस्किँदाकाे दृश्य तुलना गर्याैँ । सडककाे बनावट, त्यहाँकाे पहाडकाे आकार आदि मिलेकाेले भाइरल भिडियाेकाे दृश्य साउदी अरबकाे उक्त सुरुङकाे हाे भन्ने पत्ता लाग्याे ।
तसर्थ नेपालमा निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गकाे भिडियाे भन्दै टिकटकमा फैलाइएकाे उक्त दाबीलाई हामीले भ्रामक ठहर गरेका छाैँ ।
| दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
| नेपालमा निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गकाे भिडियाे | टिकटक प्रयाेगकर्ता | भ्रामक |
