गत २०८० साल असोज १७ गते भारतको सिक्किम राज्यमा गएकाे बाढीमा परी कम्तिमा ७४ जनाको निधन भएकाे थियो। सिक्किम राज्यको उत्तरी भेगमा लगातार मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा ठूलो बाढी आएकाे थियो।
बिबिसिका अनुसार बाढीबाट मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लाहरू प्रभावित भएका थिए ।
बाढी गएलगत्तै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले विभिन्न भिडियो र फोटो सेयर गरेका थिए।
गत असाेज १९ गते @dilvakta_maharjan नामक टिकटक प्रयोगकर्ताले एउटा भिडियाेसहित यस्ताे स्टाटस पाेस्ट गरेका थिए, “सिक्किममा बाढीपहिरोले गरेको मनै थाम्न नसकिने क्षतविक्षत कारुणिक दृश्य । तेत्तिस कोटी देवीदेवताले रक्षा गरुन् ।” एउटा बिजुलीको ट्रान्फर्मर नाजिकबाट खिचिएको भिडियाेमा घरहरु बाढीले बगाएको देखिन्छ भने एकजनाले बोलेको सुनिन्छ ।
उक्त टिकटक प्रयोगकर्ताका १६१३ फलोअर छन् । त्यस्तै सो भिडियाे टिकटकमा २ लाखभन्दा बढी पटक हेरिएको छ ।
यो भिडियो असोज १७ गते भारतको सिक्किम राज्यमा गएकाे बाढीको हो कि हैन भनेर हामीले सत्यापन गरेका छाैँ।
सत्यापनका क्रममा हामीले भिडियोमा देखिएको दृश्यलाई स्क्रिनसट बनायाैँ । त्यसलाई गुगलको रिभर्स इमेज सर्चमा खोज्दा उक्त भिडियो गत २०७९ साल असारमा प्रकाशित भएकाे पायाैँ । त्यसक्रममा हामीले भारतको हिन्दुस्तान टाइम्सले पोस्ट गरेको भिडियो फेला पायौँ । उक्त भिडियोमा जापानको अटामी भन्ने स्थानमा आएको पहिरोका कारण ३ जनाको निधन हुनुका साथै बिस जना बेपत्ता भएको समाचार छ । त्यस्तै जापानको निक्की एसियाले पनि सोही समाचार प्रकाशित गरेको छ ।
पूर्वोत्तर भारतको सिक्किममा हालै गएकाे बाढीपहिरोकाे भन्दै टिकटकमा फैलाइएकाे भिडियाेकाे दृश्य जापानमा गत २०७९ साल असार १९ गते गएकाे पहिरोको हो।
| दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
| सिक्किममा हालै गएकाे बाढीपहिरोकाे भिडियाे | टिकटक प्रयाेगकर्ता | गलत |
