यी हुन् आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी बनाइएका फाेटाे पहिचान गर्ने विधि

आगामी फागुन २१ गते हुन लागेकाे संसदीय निर्वाचनका उम्मेद्वार र तिनका दल यतिखेर चुनावकाे प्रचारप्रसारमा हाेमिएका छन् । केही वर्षयता चुनाव प्रचारकाे ताैरतरिकासमेत बदलिएकाे छ । बाैद्धिक कृत्रिमताको आगमनसँगै यसकाे प्रयाेग गरी बनाइएका फोटो अहिले छ्याप्छ्याप्ती छन् । याे सहजतासँगै चुनाैती पनि थपिएकाे छ । किन भने सामाजिक सञ्जालमा एआईद्वारा तयार पारिएका फोटो वा भिडियाेका कारण मानिसहरु भ्रममा पर्न सक्छन् ।

डल्ले, मिडजर्नी, स्टेबल फ्युजन, गुगल जेमिनाइ जस्ता एआई टुलले इन्टरनेटबाट लिइएका लाखाैँ तस्बिर र तिनका क्याप्सनकाे आधारमा तस्बिर बनाउँछन् । आफुले खाेजेकाे तस्बिरकाे विवरण उल्लेख गरी प्रम्प्ट वा निर्देशन दिएपछि ती टुलले डिजिटल फाेटाे बनाउँछन् ।

खासगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा जेनेरेटिभ एआई प्रयाेग गरी फाेटाे वा पाठलगायत सामग्री बनाइ चुनाव लक्ष्यित प्रचार प्रसार गरिएकाे छ । प्रतिद्वन्दी राजनीतिकर्मी झगडा गरेकाे भिडियाे हाेस् वा उम्मेद्वारहरु भेटेका तस्बिर हुन्, यस्ता सामग्रीकाे प्रयाेग व्यापक बन्दै जाँदा के सही, के गलत भन्ने छुट्याउन गाह्राे भएकाे छ ।

जसरी एआईकाे प्रयाेग गरी सामग्री बनाउन सहज भएकाे छ, त्यसैगरी यसकाे प्रयाेग खासगरी चुनाव प्रचार प्रसारका लागि बढ्दाे छ । कतिपय एआई निर्मित फाेटाे वा भिडियाे हानि नगर्ने हुनसक्छन् (जस्तै पत्रकार ऋषि धमला चुनाव प्रचारका क्रममा राैतहटमा साइकलबाट लडेकाे) तर कतिपय फाेटाे (जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बैतडीका उम्मेद्वार हरिमाेहन भण्डारी रक्सी खाएर लडेकाे दाबी गरिएकाे) भ्रम फैलाउने उद्देश्यले सेयर गरिन्छ ।

एआई प्रविधिकाे द्रुत विकाससँगै त्यसलाई पत्ता लगाउने विधिहरु बनेका छन् । तर अघिल्लाेकाे तुलनामा पछिल्लाे क्षेत्र पछि पर्न थालेकाे छ । केही अघिसम्म एआईबाट सिर्जित फोटोमा अनुहारकाे बनावट, हात र औँला आदि नमिलेका देखिन्थे भने अहिले तिनमा व्यापक सुधार भएकाे छ ।

एआईबाट सिर्जित फोटोलाई कसरी पहिचान गर्ने? यसका लागि हामीले चार उपाय अपनाउन सक्छाैँ ।

१. फाेटाेलाई ध्यान दिएर हेर्नुहाेस्

फोटो एआईबाट तयार पारिएको हो कि होइन भन्ने पहिचान गर्ने सबैभन्दा पहिलो र महत्त्वपूर्ण उपाय भनेको फोटोलाई ध्यानपूर्वक हेर्नु हो। यो विधिका लागि कुनै विशेष टुल वा प्रविधिक ज्ञान आवश्यक पर्दैन । यसका लागि केही आधारभूत कुरा जान्नु पर्छ। एआई प्रविधि जतिसुकै उन्नत भए पनि, केही खास क्षेत्रमा त्यसको कमजोरी झल्किन्छ । यी कमजोरीहरू नै हामीलाई फोटो नक्कली हो भनेर बताउने आधार हुन्।

सबैभन्दा पहिला फोटोलाई जुम गरेर हेर्नुहाेस्। झट्ट हेर्दा सबै सही लाग्न सक्छ । तर नियालेर हेर्दा धेरै खाेट देखा पर्न सक्छन्। अनुहारमा विशेष ध्यान दिनुपर्छ । एआई निर्मित फाेटाेमा अनुहार चिटिक्क परेका हुन्छन् जुन वास्तविक मान्छेकाे अनुहारमा विरलै हुन्छ। हामी सबैको अनुहारमा केही  न केही नमिलेकाे हुन्छ । जस्तै एउटा आँखा अर्कोभन्दा अलि ठूलो हुनसक्छ, एउटा कान अलि माथि हुनसक्छ। तर एआईले बनाएको अनुहार सर्लक्क मिलेकाे हुने भएकाले अस्वाभाविक देखिन्छ। साथै, छाला पनि मिलेकाे र कुनै दाग नभएको हुन्छ।

आँखामा विशेष ध्यान दिनुपर्छ किनकि यो एआईको लागि सबैभन्दा गाह्रो हो। आँखाको नानीको आकार र आँखाको सेतो भाग जाँच गर्नुहोस्। कहिलेकाहीँ एआई-निर्मित फोटोमा एउटा आँखाले अर्को दिशामा हेरिरहेको देखिन्छ जुन अस्वाभाविक हुन्छ। आँखामा परावर्तन पनि असंगत हुनसक्छ । जस्तै एउटा आँखामा प्रकाशको परावर्तन छ तर अर्कोमा नहुनसक्छ।

हात र औँलाहरू एआईको लागि सबैभन्दा ठूलो चुनौती हुन्। यसैले एआई निर्मित फाेटाे जाँच गर्दा यसमा धेरै ध्यान दिनुपर्छ । औँलाको लम्बाइ र आकार पनि जाँच गर्नुहोस्। कुनै औँला अत्यधिक लामो वा छोटो छ? के औँलाहरू प्राकृतिक रूपमा जोडिएका छन्? कहिलेकाहीँ औँला मोडिएका वा एकअर्कामा मिसिएजस्तो देखिन्छन्। औँलाको जोर्नीहरू पनि हेर्नुहाेस्। त्यसमा के असंग देखिन्छ भनी याद गर्नुहाेस् । नङको आकार र स्थिति पनि हेर्नुहोस्।

कपाल अर्को महत्त्वपूर्ण पाटाे हो। मान्छेकाे कपाल सर्लक्क मिलेकाे हुँदैन । छरिएकाे र अलि अव्यवस्थित हुन्छ। एआईले बनाएको कपाल राम्राे देखिन्छ, पेन्ट गरेजस्तो वा प्लास्टिकको विग जस्तो। कपाल एकअर्कामा मिसिएजस्तो देखिन सक्छ। विशेषगरी कपाल अनुहारसँग मिल्ने ठाउँमा ध्यान दिनुहोस्। यी भागहरू धमिलो वा अस्पष्ट हुन्छन्।

पृष्ठभूमि पनि उत्तिकै महत्त्वपूर्ण छ। एआईले बनाएको फोटोको पृष्ठभूमि अस्पष्ट, विकृत वा असंगत हुन्छ। पृष्ठभूमिमा रहेका वस्तुहरूको आकार जाँच गर्नुहोस्। सबै कुरा सही अनुपातमा छ? कहिलेकाहीँ एउटा ढोका अत्यधिक सानो वा एउटा झ्याल असामान्य रूपमा ठूलो देखिन्छ। पृष्ठभूमिमा दोहोरिने ढाँचाहरू पनि देख्न सकिन्छ, जस्तै एउटै रूख वा भवन बारम्बार देखिनु। पृष्ठभूमिमा भएकाे पाठ अस्पष्ट, गलत वा अर्थ नलाग्ने हुन्छ। 

प्रकाश र छायाँको विश्लेषण गर्नु पर्छ। फोटोमा प्रकाश कहाँबाट आइरहेको छ? सबै वस्तुमा उस्तै दिशाबाट प्रकाश परेको छ? छायाँकाे जाँच्नुहोस्। सबै छायाँहरू एउटै दिशामा छन्? छायाँको लम्बाइ मिलेकाे छ? कहिलेकाहीँ एआई-निर्मित फोटोमा एउटा वस्तुको छायाँ बायाँतिर छ भने अर्कोको दायाँतिर, जुन वास्तविक फोटोमा असम्भव हुन्छ। कहिलेकाहीँ छायाँ नै हराइरहेको हुन्छ। साथै, अनुहारमा प्रकाश र छायाँको वितरण स्वाभाविक छ कि छैन, हेर्नुहोस्।

अन्तमा, समग्र संरचना र सन्तुलन हेर्नुहोस्। फोटो अत्यधिक पूर्ण छ? वास्तविक फोटोमा प्रायः केही अपूर्णताहरू हुन्छन् । तर एआई-निर्मित फोटोहरू कहिलेकाहीँ अत्यधिक पूर्ण देखिन्छन् जुन अस्वाभाविक लाग्छ। 

२. रिभर्स इमेज सर्च (Reverse Image Search) प्रयोग गर्नुहोस्

रिभर्स इमेज सर्च शक्तिशाली विधि हो जसले तपाईंलाई फोटोको मूल स्रोत, प्रकाशनकाे इतिहास र सन्दर्भ पत्ता लगाउन मद्दत गर्छ। सामान्य सर्चमा तपाईं शब्दहरू टाइप गर्नुहुन्छ र नतिजा पाउनुहुन्छ । तर रिभर्स इमेज सर्चमा तपाईं फोटो अपलोड गर्नुहुन्छ, त्यो फोटो इन्टरनेटमा कहाँ कहाँ देखा परेको छ भन्ने जानकारीका लागि। कुनै फोटोलाई गलत सन्दर्भमा प्रस्तुत गरिएकाे, पुरानो फोटोलाई नयाँ घटनाको रूपमा देखाइएको वा फोटोको स्रोत भ्रामक छ भने यो विधि उपयोगी हुन्छ।

गुगल लेन्स (Google Lens) सबैभन्दा लोकप्रिय र प्रयोग गर्न सजिलो रिभर्स इमेज सर्च टुल हो। तपाईं मोबाइल फोन प्रयोग गर्नुहुन्छ भने, गुगल एप वा गुगल फोटोज एप खोल्नुहोस्। तपाईले फेसबुक वा अन्य सामाजिक सञ्जालमा देखेकाे फोटो जाँच्नु पर्याे भने, पहिला त्यो फोटो वा स्क्रिनसट आफ्नो फोनमा सेभ गर्नुहोस्। त्यसपछि गुगल एपमा सर्च बारको छेउमा रहेको क्यामेरा आइकनमा क्लिक गर्नुहोस्। यसले तपाईंलाई तीन विकल्प दिन्छ: नयाँ फोटो खिच्ने, ग्यालरीबाट फोटो अपलोड गर्ने वा URL पेस्ट गर्ने। आफूले सेभ गरेको फोटो छान्नुहोस् । केही सेकेन्डमा नतिजा देखिन्छ।

उसले निकालेकाे नतिजामा ध्यान दिनुपर्छ। के यो फोटो पहिले कतै प्रकाशित भइसकेको छ? यदि फोटो विभिन्न अनलाइन, सामाजिक सञ्जाल वा अन्य स्रोतमा देखा परेको छ भने, त्यो राम्रो संकेत हो। त्यो फोटो कहिले प्रकाशित भएकाे भन्ने पत्ता लगाउनुहाेस् । कहिलेकाहीँ पुरानो फोटोहरूलाई नयाँ भनी प्रस्तुत गरिन्छ। उदाहरणका लागि, यदि फेसबुकमा कसैले “आज काठमाडौंमा भएको घटना” भनेर फोटो सेयर गरेको छ तर रिभर्स सर्चले त्यो फोटो तीन वर्षअघि अर्कै शहरमा भएको घटना भनेर देखाउँछ भने त्यो भ्रामक सूचना हो।

फोटोको मूल स्रोत पहिचान गर्नु आवश्यक छ। विश्वसनीय समाचार संस्था वा प्रतिष्ठित समाचार संस्थाले प्रकाशित गरेकाे छ ? फोटो कुनै अज्ञात वेबसाइट वा व्यक्तिगत एकाउन्टमा प्रकाशित छ भने त्यो शंकास्पद हुनसक्छ। साथै, फोटोकाे क्याप्सन विभिन्न स्रोतहरूमा फरक फरक छ भने पनि ध्यान दिनुपर्छ।

कहिलेकाहीँ रिभर्स इमेज सर्चले कुनै नतिजा देखाउँदैन। यसको धेरै अर्थ हुन सक्छ।फोटो एकदमै नयाँ भएकाले अझै इन्टरनेटमा व्यापक नभएको वा फोटो एआईले भर्खरै बनाएकोले अनलाइनमा नहुनसक्छ । वा फोटो वास्तविक भएपनि सानाे समूहमा साझा गरिएकोले ठूला सर्च इन्जिनहरूले अझै इन्डेक्स नगरेकाे हुनसक्छ। त्यसैले रिभर्स सर्चले नतिजा नदिँदैमा फोटो नक्कली हो भनेर प्रमाणित हुँदैन। यस्तो अवस्थामा अन्य विधि प्रयोग गर्नुपर्छ।

गुगल लेन्सबाहेक अन्य रिभर्स इमेज सर्च पनि छन्। TinEye पुरानो र विश्वसनीय छ जसले विशेषगरी पुराना फोटोहरू र तिनीहरूको इतिहास पत्ता लगाउन मद्दत गर्छ। Yandex Images रूसी सर्च इन्जिन हो । यसले विशेषगरी अनुहारकाे पहिचानका लागि गुगललेभन्दा राम्रो नतिजा दिन्छ। यदि तपाईं कुनै व्यक्तिको फोटो जाँच गर्दै हुनुहुन्छ भने Yandex प्रयोग गर्नुहाेस्।

रिभर्स इमेज सर्चले केवल पहिले नै अनलाइनमा भएका फोटो मात्र पत्ता लगाउन सक्छ। यदि कसैले एआईद्वारा नयाँ फोटो बनायो र त्यो पहिलो पटक साझा गरिरहेको छ भने, रिभर्स सर्चले काम गर्दैन किनकि त्यो फोटो इन्टरनेटमा पहिले थिएन। यस्तो अवस्थामा तेस्रो विधि अर्थात् एआई डिटेक्टर टुल प्रयोग गर्नुपर्छ। 

३. एआई इमेज डिटेक्टर प्रयाेग गर्नुहाेस् 

रिभर्स इमेज सर्चले काम नगरेकाे अवस्थामा एआई प्रविधिमा आधारित एआई इमेज डिटेक्टर टुल प्रयोग गर्नुपर्छ। यिनले फोटोमा रहेका सूक्ष्म विशेषताहरू विश्लेषण गरेर फोटो एआईद्वारा बनाइएको हो कि होइन भन्ने अनुमान गर्छन्। जसरी एआईले फोटो बनाउँछ, त्यसैगरी एआईले नै त्यो फोटो पहिचान गर्न सक्छ। फलामलाई काट्न फलाम नै चाहिन्छ भनेजस्तै एआई निर्मित तस्बिर पत्ता लगाउन एआई नै सबैभन्दा प्रभावकारी हुन्छ।

यी डिटेक्टर टुलले कसरी काम गर्छन् भन्ने बुझ्नु जरुरी छ। जब एआईले फोटो बनाउँछ, त्यसले केही विशेष ढाँचाहरू र संरचनाहरू सिर्जना गर्छ जुन मानव आँखाले सजिलै देख्न सक्दैन तर एआईले नै पत्ता लगाउनसक्छ। यी ढाँचाहरू फोटोको पिक्सेलमा हुन्छन्। उदाहरणका लागि, एआईले बनाएको फोटोमा रङहरूको वितरण, बनावटको सूक्ष्मता र प्रकाश मानव-निर्मित फोटोभन्दा थोरै फरक हुन्छ। डिटेक्टर टुलहरूले यी अन्तरहरू विश्लेषण गरेर नतिजा निकाल्छन्।

एआई डिटेक्टर टुलहरू प्रयोग गर्न ती टुलमा तपाईंले फोटो अपलोड गर्नुपर्छ । केही सेकेन्डमा नतिजा आउँछ। Hive Moderation एउटा निःशुल्क टुल हो । यो प्रयोग गर्न वेबसाइटमा जानुहोस् र AI-Generated Content Detection खण्डमा जानुहोस्। त्यहाँ तपाईंले अपलाेड इमेजमा आफ्नो फोटो पाेस्ट गरेपछि त्यसले विश्लेषण गर्छ । उसकाे नतिजा प्रतिशतमा आउँछ। उदाहरणका लागि, 85% AI-generated देखायो भने, त्यो फोटो एआईद्वारा बनाइएको हुनसक्छ। यदि 20% AI-generated देखायो भने, त्यो वास्तविक फोटो हुनसक्छ ।

AI or Not ले फोटो र अडियो सामग्री जाँच गर्न सक्छ। यो टुल प्रयोग गर्न aiornot.com मा जानुहोस् र फोटो ड्र्याग एण्ड ड्रप गर्नुहोस् वा अपलाेड याेर इमेजमा क्लिक गर्नुहोस्। यसले पनि प्रतिशतमा नतिजा दिन्छ । यसले कहिलेकाहीँ किन फोटो एआई-निर्मित हुन सक्छ भनेर बताउँछ । 

Illuminarty अर्काे टुल हो जसले फोटोको विभिन्न भागहरू अलग-अलग विश्लेषण गर्छ र हिटम्याप देखाउँछ। हिटम्याप भनेको फोटोको रङ्गिन नक्सा हो जसले कुन भागहरू एआईद्वारा बनाइएको हाे भनेर देखाउँछ। उदाहरणका लागि, फोटोमा अनुहार र हातमा रातो रङ हाइलाइट भए भने ती एआई-निर्मित हुनसक्ने बुझ्नुपर्छ ।

४. आलाेचनात्मक दृष्टिकाेण राख्नुहाेस् 

कुनै फोटोको सत्यापन गर्दा प्राविधिक टुलमा मात्र भर पर्नु हुँदैन। तथ्य जाँच गर्न र भ्रममा नपर्नका लागि आलोचनात्मक सोच अत्यन्त उपयोगी हुन्छ । हामीले शंका लागेकाे सामग्रीको बा रे मा केही प्रश्न सोध्नुपर्छ जसले हामीलाई फोटोको वास्तविकता बुझ्न र सम्भावित दुष्प्रचार राेक्न मद्दत गर्छन्।

सबैभन्दा पहिला, फोटोको स्रोत पत्ता लगाउनुपर्छ। फोटो कसले साझा गर्यो भन्नेमा ध्यान दिनुपर्छ। सामग्री साझा गर्ने व्यक्ति वा पेज विश्वसनीय छ? यसअघि पनि उनीहरूले मिथ्या सूचना फैलाउँथे कि? उनीहरू कुनै विशेष राजनीतिक दल वा विचारधारासँग नजिक छन्? यी प्रश्नले फोटो वा भिडियाेको सत्यापन गर्न मद्दत गर्छन्। यसका साथै सामग्रीकाे मूल स्रोत खोज्नु जरुरी छ। सामग्री कुनै समाचार संस्थाले प्रकाशित गरेको हो कि व्यक्तिगत सामाजिक सञ्जाल एकाउन्टबाट सेयर गरिएकाे हाे? विश्वसनीय समाचार स्रोतमा प्रकाशित सामग्री भरपर्दो हुन्छ।

दोस्रो, सामग्रीको सन्दर्भ बुझ्नुपर्छ। फोटो कहिले र कहाँ खिचिएको हाे? ठाउँ र समय सही देखिन्छ? कहिलेकाहीँ पुराना फोटोलाई नयाँ भन्दै सेयर गरिन्छ । कतिपय अवस्थामा फरक ठाउँमा खिचिएको फोटोलाई नेपालको भनेर देखाइन्छ। मौसम, वातावरण र पृष्ठभूमिमा देखिने वस्तुहरू जाँच गरेर हामी यो पत्ता लगाउन सक्छौँ। 

तेस्रो, फोटोको प्रमाणीकरण गर्न अन्य स्रोतहरू खोज्नुपर्छ। अन्य समाचार स्रोतहरूले यो घटनाकाे समाचार बनाएका छन्? कुनै महत्त्वपूर्ण घटना भएमा त्यस बा रे समाचारमा उल्लेख हुनुपर्छ। तर एउटा मात्र स्रोत छ भने त्यो शंकास्पद हुनसक्छ। विश्वसनीय सञ्चार माध्यममा साे फोटो प्रकाशित छ कि छैन भन्ने जाँच गर्नुहोस्। साथै, अन्य कोणबाट खिचिएका फोटोहरू उपलब्ध छन्? ठूला घटना वा सार्वजनिक कार्यक्रममा सामान्यतया विभिन्न कोणबाट फोटो खिचिएकाे हुन्छ। यदि एउटै फोटो मात्र उपलब्ध छ र अरू उस्तै प्रमाण छैनन् भने त्यो एआई-निर्मित वा नक्कली हुनसक्छ।

फोटो पहिचान गर्न सकिने थुप्रै एआई टुल भए पनि त्यसैमा मात्र भर पर्नु हुँदैन । कहिलेकाहीँ ती टुलले काम नगर्न सक्छन् । कति टुलले एआईबाट बनेकाे फाेटाेलाई मानव निर्मित भनेर देखाइदिन्छन् भने कतिले त्यसकाे ठिक विपरित नतिजा निकाल्छन् । त्यसैले शंका लागेको फोटोलाई विभिन्न काेणबाट विश्लेषण गरेर मात्र निष्कर्षमा पुग्नुपर्छ ।

डच डिजिटल अनुसन्धानकर्मी हेन्क भ्यान इसका अनुसार धेरैवटा टुल प्रयाेग गर्नु, सामग्रीकाे स्राेतकाे जाँच गर्नु र भाइरल सामग्रीमाथि बढी शंका गर्नु नै उत्तम उपाय हाे ।