केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक

फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालमा गत माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो भाइरल भयाे । भाइरल फोटोमा पूर्व प्रधानमन्त्री मनमाेहन अधिकारीसँगै बसेका ओलीले चुरोट तान्दै गरेको देखिन्छ। मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेको देखिने उक्त फोटो हाम्राे तथ्यजाँचमा भ्रामक रहेको फेला परेकाे छ ।

सन्दर्भ के हो?

फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधिसभाकाे निर्वाचनका क्रममा विभिन्न दलका उम्मेदवारहरु प्रचारप्रसार गरिरहेका छन् । यसै क्रममा झापा-५ मा नेकपा एमालेकाे उम्मेदवार रहेका ओलीले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह प्रति लक्ष्यित टिप्पणी गरेका थिए ।

गत माघ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा ओलीले भने, “तपाईंलाई बताइदिऊँ, म कुनै दुर्व्यसनमा छैन, म गाँजा, जाँड, रक्सी, चुरोट खान्नँ । समय खेर फाल्दिनँ । १८ घण्टाभन्दा बढी ‘क्रिएटिभ’ ढंगले काम गर्छु ।”

गत माघ १२ गते सामाजिक सञ्जाल फेसबुकमा बालेन शाह फ्यान नामक फेसबुक पेजले “बालेनलाई सुल्फा भन्ने मान्छे” लेख्दै पोस्ट गरेको छ। २ लाख ६६ हजार फलोअर र ३८ हजार लाइक रहेको सो फेसबुक पेजले गरेको पोस्टमा सेयर गरिएकाे तस्बिरमा पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी सँगै ओलीलाई देख्न सकिन्छ। ओलीले हात अगाडि राखेर चुरोट भर्दै गरेजस्तो देखिन्छ। त्यसैगरी पूर्व सचिव भीम उपाध्यायले साेही फाेटाे पाेस्ट गर्दै फेसबुकमा “सुर्ती चुराेट गाँजा भाङ जाँड कहिल्यै नखाने मान्छे” लेखेका छन् । उपाध्यायले सो फोटो अहिले डिलिट गरिसकेका छन्।  

त्यस्तै सामाजिक सञ्जाल एक्समा पनि सोही फोटो भाइरल भएको छ। बालेन फर प्राइममिनिस्टर नामक एक्स ह्याण्डलले पोस्ट गरेको दुई फोटो मध्ये एक फोटोमा ओली चुरोट सहित देखिन्छन् भने अर्को फोटोमा चुरोट देखिँदैन।

यसैगरी सामाजिक सञ्जाल रेडिट्मा समेत सोही फोटो सेयर गरिएको छ। रेडिट्मा रहेको नेपाल सबरेडिटमा प्रश्न सोध्दै सोही फोटो पोस्ट गरिएको हो।

तथ्य जाँच

हामीले सो फोटो रिभर्स इमेज सर्च गरेर हेर्यौं। पहिलोपटक रिभर्स इमेज सर्च गरेर हेर्दा ओलीले चुरोट तान्दै गरेको जस्तो देखिने धेरै फोटो देखिए। फेरी सोही फोटोलाई फ्लिप (उल्टाएर) गरेर रिभर्स इमेज सर्च गर्दा भने हिमाल खबरमा प्रकाशित एक सामग्रीमा सोही फोटो वास्तविक प्रति फेला पर्यो।

एमाले नेता केशव बडालसँगको कुराकानीका आधारमा तयार पारिएको सामग्रीमा सो फोटो प्रयोग गरिएको छ। साे फोटो फाेटाे पत्रकार विकास रौनियारले खिचेका हुन्। नेपाल चेकले फाेटाे पत्रकार राैनियारलाई साेध्दा उनले २०५२ सालतिर बल्खुस्थित तत्कालीन एमाले मुख्यालयमा साे तस्बिर खिचेकाे बताए । ओलीले सुर्ती माेल्दै गरेकाे बेला फाटाे खिचेकाे उनले बताए ।

ईकागज अनलाइनमा “विकास रौनियारको संग्रहमा मनमोहन (फोटो फिचर)” शीर्षकमा २०७८ बैशाख १३ गते छापिएको सामग्रीमा पनि सोही फोटो छ।

यसर्थ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुरोट तान्दै गरेको फोटो भन्दै गरिएकाे दाबी भ्रामक हो । पुरानो फोटोलाई ताेडमाेड गरी मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेकाे देखाइ भ्रम फैलाइएकाे छ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुखमा चुराेट च्यापेर हातमा केही वस्तु राखी सो चुरोटमा भर्दै गरेकाे फाेटाे ।सामाजिक सञ्जाल प्रयोगकर्ताभ्रामक सूचना

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुरोट तान्दै गरेको देखिने फोटो भन्दै सामाजिक सञ्जालमा फैलिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष।