झाँक्री सहभागी जुलुसमा रास्वपाकाे समर्थनमा नारा लागेकाे भन्दै फैलाइएकाे भिडियाे भ्रामक 

केही दिनयता नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री सहभागी जुलुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे पक्षमा नारा लागेकाे भन्दै २० सेकेन्डकाे एउटा भिडियाे क्लिप सामाजिक सञ्जालमा भाइरल भएकाे छ । साे भिडियाेसँगै फेसबुक र एक्समा “झाँक्री दिदीकाे बेहाल बनाएछन् । दुनियाँलाई देखाउन पनि हास्नै पर्याे” , “देख्न सुन्न बाँकी यही थियाे । गुल्मीमा एमालेकी झाँक्रीकाे कार्यक्रममा घन्टीकाे नारा” जस्ता स्टाटस र क्याप्सन लेखिएकाे छ ।

@popatlal50 नामक एक्स प्रयाेगकर्ताले गत माघ १७ गते सेयर गरेकाे पाेस्टमा १० हजारभन्दा बढी भ्युज छ । अन्य कैयाैँ प्रयाेगकर्ताले उक्त पाेस्ट फेसबुकमा सेयर गरेका छन् । साेही भिडियाे काैशिक ज्याेतिष सेवा नामक फेसबुक पेजले पनि पाेस्ट गरेकाे छ । त्यस्तै १ लाख ४१ हजार फलाेवर भएका कृष्ण खत्रीले फेसबुककाे रिल्समा “देख्न सुन्न बाँकी यही थियाे” लेखी साेही भिडियाे पाेस्ट गरेका छन् । टिकटक, इन्स्टाग्राम र युट्युब प्रयाेगकर्ताले पनि साे भिडियाे सेयर गरेका छन् ।

आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभाकाे चुनावमा झाँक्री उम्मेदवार छैनन् । उनी राष्ट्रियसभामा हालै निर्वाचित भएकी छन् ।

सामाजिक सञ्जालमा फैलाइएकाे यस भिडियाे क्लिप र त्यससँगै गरिएकाे दाबीकाे नेपाल चेकले सत्यापन गरेकाे छ । 

यसका लागि हामीले उक्त भिडियाे क्लिपकाे अध्ययन गर्याैँ । भिडियाेकाे शुरुमा “नेकपा एमाले जिन्दावाद” भन्दै नारा लगाइएकाे सुनिन्छ । त्यसपछि “भाेट केमा ? घन्टीमा” भन्ने आवाज सुनिन्छ ।

तथ्य जाँचका लागि हामीले याे भिडियाकाे स्क्रिनसट लियाैँ । त्यसपछि गुगलमा त्यसलाई अपलाेड गर्याैँ । अधिकांश नतिजामा भाइरल भएकै भिडियाे देखापर्याे । तर थप नतिजा क्लिक गर्दा फेसबुक प्रयाेगकर्ता शिव सुवेदीले पुस २ गते पाेस्ट गरेकाे भिडियाे फेला पर्याे । उनले साे भिडियाे पाेस्ट गर्दै एमालेकाे महाधिवेशनमा महिलातर्फ खुल्ला केन्द्रीय सदस्यकी उम्मेदवार रामकुमारी झाँक्रीलाई मतदान गर्न अनुराेध गरेका छन् । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा १९११ मत प्राप्त गर्दै झाँक्री केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।  

उनकाे पक्षमा काठमाडाैँकाे भृकुटीमण्डमा नारा लागेकाे दृश्य भएकाे भिडियाे क्लिपमा अर्कै आवाज राखी रास्वपाकाे पक्षमा नारा लगाइएकाे दाबी गरिएकाे छ। यसर्थ उक्त दाबी भ्रामक छ ।

दाबीदाबीकर्तानेपाल चेक निष्कर्ष
एमालेकी नेतृ रामकुमारी झाँक्री सहभागी जुलुसमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे पक्षमा नारा लागेकाे सामाजिक सञ्जाल प्रयाेगकर्ताभ्रामक

एमाले नेतृ रामकुमारी झाँक्री सहभागी जुलुसमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे पक्षमा नारा लागेकाे भन्दै सामाजिक सञ्जालमा फैलिएकाे दाबीकाे तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष।