पाठेघरकाे मुखकाे क्यान्सर विरुद्ध लड्नका लागि दिइने ह्युमन पापिलाेमा भाइरस (एचपीभी) नामक खाेप गत माघ २५ गतेदेखि नेपालमा लगाइँदैछ । आगामी फागुन १५ गतेसम्म कक्षा ६ मा अध्ययनरत छात्रा र कुनै कारणवश विद्यालय बाहिर रहेका १० वर्षका किशाेरीहरुलाई स्वास्थ्य केन्द्र वा उनीहरु अध्ययनरत विद्यालयमा याे खाेप लगाइँदैछ ।
विश्व स्वास्थ्य संगठनले करीब दुई दशक अघिदेखि प्रयोगको लागि अनुमति दिएको एचपीभी खोप बा रे खासगरी याे लगाउने महिलामा बाँझोपन हुन्छ भनी भ्रम फैलाइएकाे पाइन्छ ।

गत माघ २३ गते सन्जित श्रेष्ठ नामका फेसबुक प्रयाेगकर्ताले एक स्टाटस लेख्दै साे खाेपमा गर्भनिराेधक सुई लगाइ महिलाहरुलाई बाँझाे बनाइने दाबी गरेका छन् । खाेप बा रे राताेपाटीमा प्रकाशित समाचारकाे लिंक सेयर गर्दै उनले कृषिमा अत्याधिक किटनाशक प्रयोग गरिएजस्तै समाजमा हानिकारक अभ्यासलाई सामान्यीकरण गर्न खोजिएको बताएका छन् । स्टाटसमा उनले विद्यालयले विरोध गरे सामूहिक रूपमा त्यसको प्रतिवाद गर्नुपर्ने बताउँदै बरु किशाेरीहरुले एक–दुई वर्ष औपचारिक शिक्षा नलिए फरक नपर्ने दाबी गरेका छन् ।

यसैगरी इमरान अलाम नामक फेसबुक प्रयाेगकर्ताले स्टाटस पोस्ट गर्दै अभिभावकहरुलाई आफ्ना छोरीहरूलाई एचपीभी खोपबाट जोगाउन आग्रह गरेका छन् । उनले खोपलाई “विषाक्त” बताउँदै खोपले क्यान्सर, बाँझोपन, प्यारालाइसिस लगायत गम्भीर रोग तथा मृत्यु समेत हुने दाबी गरेका छन्। उनले विभिन्न देशमा साे खोप प्रतिबन्धित रहेको दाबी पनि गरेका छन्।
गत वर्ष पनि यस खाेप बा रे यसैगरी भ्रम फैलाइएकाे थियाे । २०८१ साल माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपीभी खोप दिइएकाे थियाे । त्यतिखेरै पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने यस खाेपका विषयमा भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएकाे थियाे ।
एचपीभी के हाे र कसरी सर्छ ?
युनिसेफका अनुसार याे एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो । यस भाइरसका २०० भन्दा बढी प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तिमा १२ प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने तीमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी दुई प्रजातिहरूबाट विश्व स्वास्थ्य संगठनले बताएकाे छ ।
यस भाइरसले महिलामा पाठेघरको मुखको क्यान्सर मात्र होइन, यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गसम्बन्धी क्यान्सरसमेत गराउनसक्छ।
एचपीभी मुख्यत: संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ। तर यो संक्रमित व्यक्तिको यौनांगको छाला, झिल्ली वा तरल पदार्थसँगको सम्पर्कबाट पनि सर्न सक्दछ। यसको संक्रमण पुरुषमा पनि हुन्छ। पुरुषबाट महिलामा सर्ने गर्दछ।
याे खाेप बा रे तथ्य के हाे ?

एचपीभी खोप विश्व स्वास्थ्य संगठनले सन् २००६ मा प्रमाणित गरी प्रयोगमा ल्याइएको हो।अन्य देशमा भएको ट्रायलमार्फत् प्रभावकारी र सुरक्षित प्रमाणित भइसकेकाे एचपीभी खाेप औषधि व्यवस्था विभागबाट अनुमति लिएर नेपालमा खोप अभियान सञ्चालन गरिएको हाे ।
त्यस्तै, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि एचपीभी खोपलाई प्रयोगको लागि स्वीकृति दिइसकेको छ।
एचपीभी खाेप सन् १९९१ मा विकास गरिएको थियो । त्यस्तै, अमेरिकाको फूड एण्ड ड्रग एडमिनिष्ट्रेशनले सन् २००६ मा यो खाेपलाई अमेरिकामा नौदेखि २६ वर्षका उमेर समूहका केटीहरुलाई लगाउन अनुमति दिएको थियो।
अन्य देशमा भएका क्लिनिकल ट्रायलको नतिजाले खोपलाई सुरक्षित र प्रभावकारी मानेपछि विश्व स्वास्थ्य संगठनले प्रयोगको लागि स्विकृति दिइसकेको छ।
हाल १४५ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई एचपीभी खाेप दिइन्छ । यो खोप सम्बन्धी गरिएको विभिन्न अध्ययन अनुसन्धानले एचपीभी खोप र बाँझोपन बीच कुनै सम्बन्ध नरहेको देखाएको छ ।
| दाबी | दाबीकर्ता | नेपाल चेक निष्कर्ष |
| एचपीभी खाेपले महिलामा बाँझोपन ल्याउँछ | सामाजिक सञ्जाल प्रयाेगकर्ता | भ्रामक |
पाठेघरकाे मुखकाे क्यान्सर विरुद्ध लड्नका लागि दिइने एचपीभी नामक खाेपले महिलामा बाँझोपन ल्याउँछ भन्ने दाबी माथि तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष ।
